बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल लाइफले ल्यायो समुन्नत जीवन बीमा योजना

मङ्गलबार, २१ मङ्सिर २०७८, १५ : ११
मङ्गलबार, २१ मङ्सिर २०७८

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नेपाल लाइफ समुन्नत जीवन जीवन बीमा योजना ल्याइएको कम्पनीले जानकारी दिएको छ । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक प्रकृतिको हो । 

विकासोन्मुख देश र भौगोलिक बनावटका कारण नेपालको जीवनयापनमा जोखिम रहेको र पछिल्लो समय ठूला परियोजना निर्माण तीव्र गतिमा अघि बढेकाले ती लगायत पेशागत जोखिम रहेको व्यक्तिहरूलाई लक्षित गरेर बीमा योजना ल्याएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो योजना जोखिमयुक्त पेशाहरू जस्तै : डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिलक्षित रहेको पनि कम्पनीले जनाएको छ । 

बीमा अवधिभित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्नसक्नु यो योजनाको विशेषता हो । यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बीमा लिन सकिने र १८ वर्षदेखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम पचास लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिने पनि कम्पनीले जानकारी दिएको छ । 

बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुने र ५० हजारदेखि एक करोड रुपैयाँसम्म बीमाङ्क रकमको बीमा गर्न सकिनेछ । वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिकरुपमा बीमा शुल्क भुक्तानि गर्न सकिने यो बीमा योजनामा वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा एक प्रतिशत छुट, त्रैमासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ३ प्रतिशत थप र मासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ६ प्रतिशत थप लाग्नेछ । अर्ध वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा प्रीमियममा थपघट हुनेछैन ।

बीमालेख चालु रही बीमा अवधि समाप्त मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तिको अन्त्यमा बीमाङ्क रकम र आर्जित बोनस बीमितलाई एकमुष्ट भुक्तानी दिइने कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप