मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विवाह पञ्चमी महोत्सवमै सीतारामको स्वयम्बर स्थल कुरुप ( फोटो फिचर)

मङ्गलबार, २१ मङ्सिर २०७८, १४ : ५६
मङ्गलबार, २१ मङ्सिर २०७८

विवाह पञ्चमी महोत्सवको आगमनसँगै जनकपुरधाममा विशेष रौनक छाएको छ । बुधबार सीताराम विवाह महोत्सव हो । तर स्वयम्बर स्थलका रुपमा रहेको रंगभूमि मैदानको सरसफाइप्रति स्थानीय तहले वास्ता गरेको छैन । विवाह पञ्चमीका अवसरमा जानकी मन्दिरलाई सिँगारिएको छ । तर भगवान राम र सीता विवाहको प्रत्यक्ष साक्षी रहेकोे रंगभूमि मैदान अर्थात् बाह्रबिघालाई भने विवाह पञ्चमी महोत्सवमा समेत बेवास्ता गरिएको छ । रंगभूमि मैदान माता सीताको स्वयम्बरसँग सम्बन्धित मानिएको थलो हो ।

यही मैदानमा विवाह पञ्चमी महोत्सवमा माता सीता र भगवान रामको विवाह अन्तर्गत स्वयम्बर कार्यक्रम सम्पन्न गरिन्छ । जानकी मन्दिर तथा राम मन्दिरको डोलासहित जनकपुरधामका मठमन्दिरका डोलाहरु रंगभूमि मैदानमा स्वयम्बरका दिन पुग्ने गर्छ ।

विवाह पञ्चमी महोत्सव अन्तर्गत स्वयम्बर कार्यक्रम बुधबार हुँदैछ । नेपाल र भारतका विभिन्न स्थलबाट हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरु समेत यहाँ बास बस्छन् । तर धार्मिक तथा सांस्कृतिक महत्वसँग गाँसिएको रंगभूमि मैदान अहिलेसम्म पनि कुरुप छ । मैदानको चारैतर्फ फोहोरै फोहोर र पानी जमेर हिलाम्य छ ।

जनकपुरधाम उपमहानगरपालिका लगायतका निकायले यो मैदानको सरसफाईमा अहिलेसम्म चासो देखाएका छैनन् । विवाह पञ्चमी महोत्सवमा आउने श्रद्धालुहरुको बास तथा शौचका लागिसमेत उचित व्यवस्था हुन सकेको छैन ।

श्रद्धालु भक्तजनहरुको बासका लागि प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले एउटा ठुलो पण्डाल ठड्याएको छ । तर श्रद्धालु भक्तजनहरुको भिडभाड धान्न सक्ने छाँटकाँट छैन । बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका निर्देशक बलराम ठाकुरले रंगभूमि मैदानको क्षेत्राधिकार बारेमै विवाद भएकाले अन्योल बढेको जनाए । सो क्षेत्र बृहत्तर जनकपुर क्षेत्र विकासको अधिनमा पर्ने स्पष्ट नरहेकाले त्यसतर्फ आफूहरुले चासो नदिएको उनको भनाइ छ ।

तर विवाह पञ्चमी महोत्सवको समय रहेकाले त्यहाँ आफूहरुले खानेपानीको व्यवस्था गरेको जानकारी दिए । उनले आफूहरुसँग बजेटको अभाव रहेकाले पनि चाहे जति काम गर्न नसकेको स्वीकारे । उनले भने, ‘नेपाल सरकारबाट वर्षभरि चाडवाडको समयमा खर्च गर्न जम्मा १ लाख रुपैयाँ छुट्याइएको छ, त्यसमा पनि सीताराम विवाह पञ्चमीमा खर्च गर्न जम्मा २५ हजार रुपैयाँमात्रै छ, त्यसले के नै हुन्छ ?’

जनकपुरधाम उपमहानगरपालिकाले सहिद गेट बनाउन करोडौँ रुपैयाँ लगानी गरेको छ ऐतिहासिक रंगभूमि मैदानको संरक्षणतर्फ गम्भीरता नदेखाएको स्थानीयवासीको भनाइ छ । जनकपुरधाम उपमहानगरकी उपप्रमुख रिता झा मिश्रले रंगभूमि मैदानको संरक्षण गर्ने दायित्व आफूहरुको रहे पनि यसको रेखदेख मुख्य रुपमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले नै गर्दै आएको बताइन् । उनले संघ सरकार वा प्रदेश सरकार अनुदार भएकै कारण रंगभूमि मैदानको दुर्दशा भएको आरोप लगाइन् ।

तर वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका पदाधिकारीहरुका अनुसार रंगभूमि मैदान हेर्ने जिम्मा जनकपुरधाम उपमहानगरपालिकालाई दिइसकिएको छ । गुठी अधिनस्थ जग्गा, पोखरीलगायतका सार्वजनिक सम्पत्तिको संरक्षणको जिम्मा गुठी, स्थानीय तह र धार्मिक सांस्कृतिक संरक्षणमा कार्य गर्ने विभिन्न निकायको मातहतमा छ । तर सरोकारवाला निकाय बीच समन्वय र सहकार्य हुन नसक्दा उनीहरु आफ्नो दायित्व नरहेको भन्दै पन्छिने गरेका छन् ।

यस वर्षको सीताराम विवाह पञ्चमी महोत्सवमा पाँच लाखभन्दा बढी श्रद्धालु भक्तजन दर्शन गर्न आउने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप