बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

अध्यात्म र मन

मङ्गलबार, २१ मङ्सिर २०७८, १२ : ३५
मङ्गलबार, २१ मङ्सिर २०७८

हामीले मानव जीवन मानव बन्नुको अस्तित्वबोध गर्न प्राप्त गरेका हौँ । त्यसको सहि पहिचान आफूभित्र के छ, ज्ञानद्वारा मात्र त्यसको सम्भव हुन्छ । शरीर देखिने रुप हो । यसको पनि आकार, रंग छ । यो आकार, रंग, रुप प्रत्येक व्यक्तिबीचमा अलग छ । ५ ज्ञानेन्द्रीयहरु र तिनीहरुको क्षमता पनि व्यक्ति–व्यक्तिबीचमा फरक छ । एउटै आमाको कोखबाट जन्मिएका जुम्ल्याहा बच्चामा पनि समानता हुँदैन । यहाँ कसैको स्वभाव कसैसँग मिल्दैन । धेरै कुरामा समानता भएपनि केही न केही कुरामा विविधता अवश्य हुन्छ । हातका औँलाहरु पनि बराबर छैनन् । एउटै परिस्थितिमा मनस्थितिअनुरुप एउटै व्यक्तिले विभिन्न प्रतिक्रिया दिन्छ । किन यस्तो हुन्छ ? हाम्रो शरीर, मन कसरी चलेको छ ? मन र शरीरको सम्बन्ध अनि मन र चेतनाको सम्बन्धको विस्तृत अध्ययन नै अध्यात्म हो ।

अध्यात्म सहज सरल विज्ञान हो । किनकी यसको अध्ययन गर्न कुनै स्थान विशेषमा जानुपर्दैन । स्वअध्ययन भएको कारण आफूभित्र गए पुग्छ । हाम्रो स्वाससँग हाम्रो चेतना अथवा थाहा पाउने क्षमता जोडिएको हुन्छ । दुवै नाकबाट चल्ने स्वास, दाहिनेबाट चल्ने स्वास र देव्रेबाट चल्ने स्वासमा मनको स्थिति अलग हुन्छ । यही स्वासलाई होशपूर्वक अध्ययन गर्ने सिक्यौं भने मात्र पनि हामी हाम्रो अस्तित्वको बोध गर्न सक्तछौँ ।

जति बढी स्वाससँग जोडिन्छौं, त्यति चेतनाको वृद्धि हुन्छ । स्वास लामो र गहिरो छ भने मन शान्त, निर्मल, वर्तमान क्षणमा रहन्छ । स्वास छोटो छ भने बेहोशीका साथमा मन अशान्त, चिन्तित, छटपटी, पीडाले भरिन जान्छ । चेतना घट्दै जान्छ । बच्चा हुँदा व्यक्ति गहिरो निद्रामा प्रवेश गर्छ, स्वास लामो हुन्छ । फलस्वरूप बच्चाहरु शान्त, आनन्दित, र निरन्तर वर्तमान क्षणमा हुन्छन् । त्यसैले त सन्तहरु हामीलाई बच्चा बन्न प्रेरित गर्छन् ।

हाम्रो मूल खोजी सुख, शान्ति र आनन्द हो । अशान्तिभित्र शान्ति, दुःखभित्र सुख खोज्छौं । जे रोप्यो त्यही फल्ने हो, अन्न रोप्यो अन्न नै फल्छ, फलफूल रोप्यो फलफूल नै फल्छ । दुःख पीडाका विचार मनमा रोप्छौँ भने त्यही फल्छ, खुशी आनन्द प्रेमका विचारहरु रोप्छौँ भने त्यही फल्छ । किनकी मन विचारहरुको वीजारोपण गर्ने उर्वर भूमि हो । अरुलाई प्रेम नदिएपनि हामी अरुबाट प्रेमको आशा राख्छौं । सहानुभूति पाउन खोज्छौं । अरुले विवेकको प्रयोग गरोस्, समानताको व्यवहार गरोस् । आफू छुच्चो भएपनि अरुले दानी भनिदियोस् । हामा्र नेताहरु इमान्दार बनुन् । निर्माण प्रक्रिया सुचारु बनोस् । सडकमा कोही पनि दीन दुःखी नभेटियून् आदि यस्तै कुराहरु खोज्छौं । अर्थात् हामीभित्र ती सम्पूर्ण गुण छन् । अव्यक्तमा र अध्यात्मले ती गुण पहिल्याएर व्यक्तिलाई अगाडी बढाउँछ ।

अध्यात्मले सबैभन्दा पहिला मनमाथि काम गर्दछ । किनकी यो संसार मनको फैलावट हो । जुन कार्य गर्न पनि मन चाहिन्छ । शरीर स्वस्थ भएर पुग्दैन । मन छैन भने स्वस्थ शरीर क्रियाशील हुँदैन । मन विचारहरुको संग्रह हो । विचार हिजो र भोलिमा आधारित हुन्छ । किनकी जव ५ ज्ञानेन्द्रीयहरुले सूचना पठाउँछन्, तब कुनैपनि कुराको निर्णय गर्न बानी आदत चित्तका वृत्तिहरु साथमा हुन्छन् । विगतका घटनाक्रमलाई हेरेर मनले निर्णय गर्दछ । कतिपय हाम्रा जीवनका निर्णय प्रभावमा परेर पनि गरिन्छन् । मन शान्त भएको खण्डमा गरिएका निर्णय मात्र हितकर हुन्छन् । होशपूर्वक गरिएका विचार सिर्जनात्मक तथा सर्वहितायको भावले भरिएका हुन्छन् । किनकी यो अस्तित्वमा सबैले अरुको हित नै गरिरहेका छन् । सूर्यको प्रकाश, वनस्पतिमा लाग्ने फलफूल, धर्तिमाताले उत्पादन गराउने अन्न वाली, नदीमा प्रवाहित जल आदि सबै अरुको निमित्त हुन् ।

यदि हामी अध्यात्मको यात्रामा छौँ भने हाम्रो मन शान्त स्थिर हुन्छ । धैर्यता, सहानुभूति, दया, प्रेम, विवेक, समता आदि गुणले भरिएका हुन्छन् । अनि अरुको हितभित्र आफ्नो हित देख्ने दिव्य आँखा हुन्छ । अध्यात्मले इमान्दारिता, स्वतन्त्रता, समानता आदि गुण सिकाउने हुँदा व्यक्ति आफू आफैँप्रति इमान्दार कर्तव्यनिष्ठ बन्छ । आफ्ना प्रत्येक अंगप्रत्यंगका क्षमतालाई बोध गर्दै तिनको कार्य सुचारु राख्न सोही अनुसारको आहार विहार अपनाउँछ । निरन्तर शरीर मन भाव चेतना आदिको हितमा कार्य गर्दै विभिन्न स्थानमा ठोक्किने चेतनालाई मुक्त गर्न त्यही अनुरुपका ज्ञानको खोजीको निमित्त सद्गुरुदेवका शरणमा पुग्छ ।

प्रेमले मात्र अरुलाई आफ्नो बनाउन सकिन्छ । सद्गुरुदेवका प्रेमपूर्ण हेराई बोलाई आचरण शब्दसँग निरन्तर उठबसको परिणामस्वरुप मनपनि प्रेमले रंगिन्छ । परमस्वतन्त्रता हो सद्गुरु, सत्संगले यसको बोध गराइदिन्छ । अनिमात्र व्यक्तिको प्रेम स्वतन्त्रता हो भन्ने समझमा आउँछ । व्यक्ति स्वयं प्रमाण बन्छ । जीवनमा निरन्तर उर्जाको बढोत्तरी रहन्छ । अरुको हितमा कार्य गर्ने व्यक्तिमा मनको समस्या आउँदैन, किनकी मनपनि हर समय गतिशील बन्न चाहन्छ र त्यो क्रियाशीलतासँगको सिर्जनात्मक कार्यले हामीभित्र रोकिएर रहेको उर्जालाई मुक्त गरिदिन्छ । खुशी, प्रसन्न, शान्त, आनन्दित व्यक्तिले गर्ने विचार र ब्रह्माण्डको मूल विचार एउटै हुने कारण ती विचारमा अनन्त अनन्त क्षमता हुन्छ ।

अध्यात्म सुक्ष्मताको विज्ञान हो । देखिने हुँदै नदेखिने तत्वसँग एकाकार बनेर त्यही अनुरुपको आचरण सिकाउने कला हो । विचारको वेग प्रकाशको वेगभन्दा पनि तीव्र छ । त्यो वेगलाई विस्तारै विस्तारै ध्यानको माध्यमद्वारा व्यक्तिले आफ्नो समझमा ल्याउँछ । किनकी यो ब्रह्माण्ड मूल विचारको प्रकट रूप हो । जुन विचार हामी आफूभित्र निरन्तर ल्याउँछौं, त्यो कुनै न कुनै क्षणमा प्रकट रूपमा आउँछ । विचार मनको तलमा हुन्छ । कहिले सुखका कहिले दुःखका विचारहरु गर्छौं भने सुख दुःखमध्ये कुन विचार वलवान छ, त्यही प्रकट रूपमा आउँछ । निरन्तर सुख, शान्ति, समृद्धिका विचारहरुसँग हामी एकाकार बन्छौं भने हाम्रो जीवन सुख, शान्ति, समृद्धिले भरिपूर्ण बन्छ ।

अध्यात्म आफ्नो विज्ञान हो । यो विज्ञान प्रत्येक व्यक्तिको निजी अध्ययनबाट सुरु भएर समष्टिमा पुग्छ । किनकी जुन रुपमा हाम्रो शरीरको निर्माण भएको छ, त्यही रुपमा ब्रह्माण्डको निर्माण भएको छ । व्यक्तिको आदत, बानी, व्यवहार, मान्यता, सिद्धान्त आदिका कारण अस्थिर मनले त्यसको बोध गर्न सक्दैन । सृष्टि, स्थिति र लयका ज्ञाता सद्गुरुदेवसँगको निरन्तर सत्संग गर्दै जाँदा जन्म–जन्मका कर्मबन्धनहरु छुट्दै जान्छन् । चेतना स्थिर बन्न जान्छ ।

सद्गुरु समष्टि हो । जसरी नदी महासागरमा मिलेपछि शान्त बन्छ, त्यसै गरी सद्गुरुदेवसँगको निरन्तर सत्संगबाट व्यक्ति पनि समष्टिसंग जोडिन्छ । बिना सद्गुरु अध्यात्मको यात्रा सम्भव हुँदैन । असीमित क्षमताले भरिएको मन सद्गुरुदेवका ज्ञान चक्षुले मात्र देख्न सक्तछ । जति पनि विकास र विनाशका कार्य छन्, ती सम्पूर्ण मनका कारण भएका हुन् । अध्यात्मले सबैभन्दा पहिला मनमा काम गर्ने कारण व्यक्तिको क्षमता सिर्जनशीलतातिर उन्मुख हुँदै जान्छ ।

त्यसैले सबै व्यक्तिहरुले आफ्नो जीवनलाई अध्यात्मको यात्रामा डोर्याउने सामथ्र्यता हासिल गर्न सकुन् । जीवनलाई सुख, शान्ति, समृद्धिले भर्न सकुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रिता न्यौपाने
रिता न्यौपाने
लेखकबाट थप