शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मिडियाले खेदे, सच्चिन तयार छु’ : मन्त्री आले

सोमबार, २० मङ्सिर २०७८, १७ : ४४
सोमबार, २० मङ्सिर २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्वार्थ पूरा नगरिदिँदा आफूलाई मिडियाले खेदेको दाबी गरेका छन् । आज (सोमबार) मन्त्रालयकै सभाहलमा आयोजित एक कार्यक्रममा आलेले राम्रो काम गर्दागर्दै पनि आफूलाई मिडियाले जस नदिएको बताएका हुन् ।

‘राम्रो काम गर्दा गर्दै पनि अहिले कता कता, कतिपय मानिसहरूले उनीहरूको व्यक्तिगत स्वार्थअनुसार काम नहुँदा विभिन्न मिडियामा देखाउने कामहरू गरिरहेका छन्, त्यसमा मैले भन्नुपर्ने केही छैन । त्यो त तपाईंहरू आफैंले पनि बुझ्न सक्नुहुन्छ,’ मन्त्री आलेले भने, ‘पत्रकार साथीहरू पनि यहीँ हुनुहुन्छ । म आइसकेपछि मैले गरेका कामहरू राम्रा कामहरूको राम्रो न्यूज दिनुहोला । यदि मैले खराब काम गरेँ भने खराब भनेर लेख्नुहोला । म यो भन्दिनँ कि नराम्रो काम गरेकोलाई राम्रो भनिदिनुस् ।’

आलेले आफू विभिन्न समस्या समाधान गर्नकै लागि मन्त्रालयमा आएकाले पदबहाल गरेकै दिनदेखि विकृति र खराब कामलाई सुधार्दै लैजान खाजेको पनि दाबी गरे । उनले थपे, ‘मबाट कहीँ कमीकमजोरी छ र सच्चिनुपर्नेछ भने त्यो पनि मलाई तपाईंहरूले आएर भन्नुस् । तपाईंहरूको साथ/सहयोगबिना म केही पनि गर्न सक्दिनँ ।’

निगम प्रमुखको तलब साढे दुई लाख रुपैयाँ घटाएको दाबी
मन्त्री आलेले नेपाल वायुसेवा निगमका व्यवस्थापन प्रमुखको तलब साढे दुई लाख रुपैयाँले घटाएको पनि दाबी गरे । जनताले तिरेको करबाट बनेको निगमको सञ्चालन खर्च कम गरी नाफा कमाउने संस्था बनाउनेतर्फ आफूले काम गरिरहेको आलेले बताए ।

‘विगतमा निगमको महाप्रबन्धक डीमप्रकाश पौडेलको सेवा सुविधा चारलाख रुपैयाँ थियो । त्यो अघिका कार्यकारी अध्यक्ष मदन खरेल हुनुहुन्थ्यो, उहाँले राजीनामा दिनुभयो, उहाँको पनि लगभग चार लाख रुपैयाँभन्दा बढी थियो,’ यसअघि निगम प्रमुख भएकाहरूको तलबमानबारे जानकारी दिँदै आलेले भने, ‘जब कार्यकारी अध्यक्ष युवराज अधिकारी हुनुभयो, मैले उहाँलाई सकभर तलब नलिइकन काम गर्न भनेँ । उहाँले ‘करसर कटाएर हजुर ! एक लाख त पाउनुपर्यो’ भनेपछि हामीले उहाँको तलब डेढलाख रुपैयाँ राखेका छौँ । यस हिसाबले खर्च मितव्ययिता अपनाइएको छ ।’

‘अब व्यापारीलाई सजिलो हुनेछ’
मन्त्रालयमा आज नेपाल वायुसेवा निगम (एनएसी) का जहाजलाई नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले डेञ्जरस गुड्स सर्टिफाइड लाइसेन्स हस्तातरण गरेको थियो । सो कार्यक्रममा पर्यटनमन्त्री आले नै उपस्थित थिए । 

निगमका जहाजलाई पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति दिएसँगै अब विदेशबाट यस्ता सामान ल्याउने व्यापारीहरूलाई सजिलो हुने आलेले बताए । उनले भने, ‘यसले अर्को फाइदा के भयो भने, यहाँको स्थानीय लेभलमा, यहाँका व्यवसायीलाई हरेक ठाउँमा झन्झट हुन्थ्यो । अब त्यो समाधान भयो, यो उपलब्धि हो । अब निगमका विमानले यस्ता सामान बोक्दा दुई÷तीन गुणा बढी मूल्य पाइने भयो, यो पनि राज्यका लागि राम्रो कुरा हो । यात्रु नभएको अवस्थामा यस्ता सामान ल्याउँदा पनि हामीलाई नाफा नै हुन्छ ।’

को हुन् आले ?

२०७४ को आम निर्वाचनमा डोटी–१ बाट निर्वाचित भएका आले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा पनि सदस्य थिए । २०७७ पुस ५ गते ओलीले पहिलोपटक प्रतिनिधिसभा विघटन गरेपछि पुस १० गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । आलेलाई ओलीले वन तथा वातावरणमन्त्री बनाएका थिए ।

२०७७ फागुन १८ गते सामुदायिक वन उपभोक्ता महासंघको कार्यक्रममा रुखबाट मानिसले कार्बनडाइअक्साइड पाउने र मानिसले रुखलाई अक्सिजन दिने हुनाले रुख नै नरहे के हालत होला भनी अभिव्यक्ति दिएका थिए । कार्बनडाइअक्साइड मानिसले र अक्सिजन रुखले फाल्ने भएपनि आलेले सामान्य जानकारी समेत नराखी बोलेको भन्दै आलोचना खेपेको थिए । 

बेला–बेला उटपट्याङ भाषण गरेर चर्चामा आउने गरेका आले गत जेठमा पनि आफ्नै कामका कारण आलोचनाको भुङ्ग्रोमा परेका थिए । वैशाख २१ गते चीनले नेपाललाई नीलो रङको दुई हजार थान अक्सिजन सिलिन्डर दिएको थियो । त्यतिखेर नेपाल कोरोना महामारीको चपेटामा फसेको थियो । संक्रमितको उपचार निम्ति अक्सिजन अभाव भएको थियो । 

अभावकै बीच आलेले चिनियाँ अनुदानबाट प्राप्त ती सिलिन्डरमा आफ्नै फोटो टाँसेर गृहजिल्ला डोटीस्थित निर्वाचन क्षेत्रमा पुर्याएका थिए । आलेले व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री दिएको सन्देश जानेगरी स्टिकर टाँसेर बदमासी गरेका थिए । चीनले दिएको स्वास्थ्य सामग्री र अक्सिजन सिलिन्डरमा आलेले टाँसेको स्टिकरमा ‘नेपाल सरकारका माननीय वन तथा वातावरणमन्त्री प्रेम बहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको थियो ।
कामचलाउ सरकार हाँकिरहेका ओलीले जेठ २१ गते तत्कालीन जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गराउँदा आलेलाई मन्त्री पदबाट बिदा गरेका थिए । सरकारमा छँदा ओलीका पक्षमा निकै आक्रमण ढंगले प्रस्तुत हुने गरेका आले आफूलाई सरकारबाट हटाएपछि असन्तुष्ट बनेका थिए  ।​

त्यसैकारण उनी नेकपा (एमाले) बाट माधवकुमार नेपाल समूह अलग भइ गठित नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरे । पाँच दलीय गठबन्धनमा सरकारमा सहभागी समाजवादीका चारमध्ये आले पनि एक हुन् । उनले असोज २२ यता पर्यटन मन्त्रालय सम्हालिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप