ad
x
सङ्गीतको नशा

सुनको व्यापार छाडेर सङ्गीतालय स्थापना

ओझेलमा सङ्गीत गुरु सुरेश सेन्चुरी

person explore access_timeमंसिर २०, २०७८ chat_bubble_outline0

बुटवलको मिलनचोकस्थित बागेश्वरी सङ्गीतालयमा रातोपाटीकर्मी पुग्दा विभिन्न गायकहरुलाई अभ्यास गराइरहेका थिए, सङ्गीत गुरु सुरेश सेन्चुरी । स्वरसम्राट नारायण गोपालको स्मृतिको अवसरमा गरिने कार्यक्रमका गीत अभ्यास जारी थियो । २०५५ सालमा स्थापना भएको सेन्चुरीको बागेश्वरी सङ्गीतालयमा गायन, वाद्यवादनदेखि नृत्य विषयको समेत प्रशिक्षण हुन्छ । हालै नाट्यशालासमेत थपिएको त्यहाँ विहानदेखि साँझसम्म कुनै न कुनै गतिविधि निरन्तर चलिरहन्छ ।


भारतीय टेलिभिजन जी टिभीबाट प्रसारण भएको चर्चित नृत्य प्रतियोगिता ‘डान्स इन्डिया डान्स’मा प्रथम हुन सफल तेरिया फौजा मगरलाई माथि उठाउने सेन्चुरी रहेको प्रचारपछि भारतीयहरु पनि त्यहाँ प्रशिक्षण लिन आइरहेका छन् । उक्त सङ्गीतालयबाट ३ हजारभन्दा बढी प्रशिक्षित भैसकेका छन् ।





सेलेब्रेटीहरुसँग सेन्चुरी



२४ वर्षदेखि निरन्तर रुपमा गीतसङ्गीतका क्षेत्रमा रहेका सेन्चुरी सङ्गीतकारका रुपमा परिचित भए पनि उनले स्वर दिएका गीत पनि चर्चित छन् । उनले चर्चित गायक रामकृष्ण ढकाल, आनन्द कार्की, यम बरालदेखि अन्जु पन्तसँग काम गरेका छन् । त्यस्तै, लोकगायक राजु परियार, विष्णु माझीदेखि रामजी खाँणसम्मले उनका गीत गाएका छन् । यति मात्र होइन भारतीय गायक कुमार सानु, कुमार कान्छा, साधना सरगमसम्म काम गरेको उनको अनुभव छ  ।



सुनको व्यापार छाडेर सङ्गीतमा



पुख्र्यौली घर पर्वत जिल्ला रहेको परिवारका काइँलो छोरा हुन् सुरेश । उनको बुबाको भारतको गोरखपुरमा सुन पसल थियो । २०२४ सालमा गोरखपुरमा जन्मेका सेन्चुरीको बाल्यकाल भने रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जानकीनगरमा  बित्यो । अहिले पनि त्यही वसाई छ ।



उनका ७ दाजुभाइमध्ये उनीबाहेक सबै पुख्र्यौली पेशा सुनकै व्यापारमै जमेका छन् । त्यसो त उनले पनि झन्डै १२ वर्ष सुन पसल चलाए । तर सानैदेखि गाउन र वाद्यवादनतिर रुची भएका सेन्चुरी बुटवलको अपरपथमा रहेको पर्वते सुनचाँदी पसल छाडेर गीत सङ्गीततिर लागे ।

२०५५ सालमा दुई कोठा भाडामा लिएर स्थापित उनको बागेश्वरी सङ्गीतालय अहिले निकै भव्य हलमा सञ्चालन भएको छ । तीन ठूला हलमध्ये एउटामा स्टेजसहितको नाट्यशाला पनि छ । सेन्चुरीको नाट्यशाला बुटवलको पहिलो नाट्यशाला हो ।

‘सुन पसल आफैमा राम्रो आम्दानी हुने व्यापार मानिन्छ । त्यसलाई निरन्तर दिँदा मनग्गे आम्दानी हुन्थ्यो । तर मलाई सङ्गीतालयमा लगानी र मेहनत गर्दा छुट्टै आनन्द लाग्यो,’ सेन्चुरीले रातोपाटीसँग भने, ‘मैले पैसा मात्रै ठूलो विषय जीवनमा कहिल्यै ठानिनँ र काम गर्दा आत्मसन्तुष्टि रोजेँ ।’ सङ्गीतमा ‘सङ्गीत प्रभाकर’ अर्थात् मास्टर्ससम्म अध्ययन गरेका उनी सङ्गीतबाट पैसा कमाउन नसके पनि रोजेको पेशाबाट सन्तुष्ट छन् ।

आन्दोलनपछि सङ्गीतमा

छयालीसको आन्दोलनपछि भीड जुटाउन विभिन्न कार्यक्रममा कलाकारहरुलाई खोज्न थाले दलका आयोजकहरु । त्यस क्रममा  एमालेको नजरमा परे सेन्चुरी । २०४८ सालमा उनी सङ्गीतमा व्याचलरको परीक्षा दिएर बसेका थिए । एमालेका विभिन्न गीत गाउने क्रममा उनले स्टेज तताए । उनको प्रतिभाले अझै निखारता पायो ।

यस क्रममा २०५२ सालमा सेन्चुरीसहित बुटवलका भक्त थापा, भीम विसी, शमशेरलगायत समूहले ‘प्रकट ब्यान्ड’ खोलेर लोक पप एल्बम निकालेका  थिए । त्यसबेला ‘तिनाउ खोला बटौलीको छेउ, आउन नजिक माया गरिदेऊ’ भन्ने गीत निकै हिट भएको थियो ।

त्यसले व्यान्डलाई अझै हौस्याएर अर्को ‘प्रकट भाग २’ पनि निकाले । पछि त्यस समूहका साथीहरु लाखपाखा लागेपछि ब्यान्ड नै सेलायो । तर सेन्चुरीको सङ्गीत तिर्सना भने निरन्तर जारी रह्यो । लकडाउनमा समेत उनी खाली बसेनन्, त्यसबेला करिब दुइ दर्जन गीत एरेन्ज गरे ।

भारतीय प्रशिक्षार्थी पनि

भारतीय टेलिभिजन जी टिभीबाट प्रसारण भएको चर्चित नृत्य प्रतियोगिता ‘डान्स इन्डिया डान्स’ मा प्रथम हुन सफल तेरिया फौजा मगरलाई त्यो स्थानमा पु-याउन पनि सेन्चुरीको ठूलो योगदान छ ।

रुपन्देहीकी तेरियाले भारतीय टिभीको चर्चित कार्यक्रममा प्रथम भएर सबै नेपालीको शिर माथि उठाएकी थिइन् । सङ्गीत गुरु सेन्चुरी भन्छन्, ‘चेलाहरु माथि माथि जाँदा आनन्द लाग्दो रहेछ ।’

२०७१ सालमा भारतीय टिभीमा चलेको डान्स इन्डिया  डान्स (डिआइडि) पुराउनको लागि तेरियाको क्षमता देखेर सेन्चुरीले एउटा भिडियो पठाएका थिए । त्यही भिडियोबाट उनी छनौट भएकी थिइन् । ‘आफैमा पनि बेजोड प्रतिभा रहेकी तेरियालाई हामीले सिक्न र भारतमा लैजान सहयोग ग-यौँ र सफल पनि भयो’, उनले भने, ‘अहिले तेरिया मुम्बई बस्छिन् । सम्पर्क राम्रै छ । मलाई अहिले उनको सफलतामा गर्व लाग्छ ।’

सुरु सुरुमा बुटवलमा डान्स सिक्न आउनेहरु निकै कम थिए । ती पनि लुकीलुकी आउने आउने गरेको उनी स्मरण गर्दछन् । त्योबेला अभिभावकलाई ढाँटेर आउनेहरु धेरै हुन्थे । जब तेरियाको चर्चा आयो, अनि अविभावकहरुलाई पनि डान्स पनि राम्रै रहेछ, प्रतिष्ठा र रकम दुवै हुने रहेछ भन्ने लाग्यो । अहिले तेरियाले सिकेको ठाउँ भन्दै भारतबाट समेत सिक्न आउनेहरु धेरै छन् । अहिले छोराछोरीलाई डान्स सिकाउन अभिभावकहरु गाडीमा राखेर आफै आउँछन् । यो चाहिँ परिवर्तन भएको उनी ठान्छन् ।

मोफसलमा बस्दा ओझेलमा

सेन्चुरीको बागेश्वरी सङ्गीतालयबाट वर्षमा एक सयभन्दा धेरै प्रशिक्षार्थीहरु प्रशिक्षित हुन्छन् । स्थापनाको २४ वर्षको हिसाबले आफूले सिकाएका ३ हजार भन्दा बढी प्रशिक्षार्थी भएको उनको अनुमान छ ।

सङ्गीत  गुरु भएकोमा उनलाई गर्व लाग्छ ।  रोटरी क्लब, लायन्स क्लब, नगरपालिकालगायत निकायबाट उनी सम्मानित भएका छन् । तर राष्ट्रिय स्तरको सम्मान उनले पाउन सकेका छैनन् । कलाकार सबै दलका साझा बन्नुपर्छ भन्ने मान्यताले पनि आफूलाई पछाडि पारेको उनी लख काट्छन् ।

उनी भन्छन्, ‘एमालेले कुनै कालखण्डमा मलाई स्टेज दिएपनि पछि राप्रपा, नेपाली काँग्रेस, माओवादी सबै दलको महाधिवेशनमा पुगेर गीत गाएको छु । स्टेज कार्यक्रम पनि गरेको छु । म स्वतन्त्र कलाकार हुँ । सबै कलाकार स्वतन्त्र हुनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।’ आफू मोफसलमा बस्नाले ओझेलमा परेको, राज्यबाट सम्मान पाउन नसकेको उनको अनुभव छ ।

एउटा भनाइ छ, जुँगा चल्यो कुरा बुझ्यो । सधैं मुसुक्क मस्काइरहने उनको मुहारको छोटो जुँगाको उतार चढावले उनी संगीतकर्ममा सन्तुष्ट रहेको भाव झल्किन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।