शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सभापतिमा पराजित भएपछि केसी भन्छन्– काँग्रेसमा सिद्धान्त, आदर्श र निष्ठा समाप्त भयो

आगामी निर्वाचनमा काँग्रेसले एकल रुपमा आफ्नो एजेण्डा लिएर जानुपर्छ
सोमबार, २० मङ्सिर २०७८, १५ : २१
सोमबार, २० मङ्सिर २०७८

 नेपाली काँग्रेस बागमती प्रदेशका सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसीले बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त, आदर्श र निष्ठा काँग्रेसमा समाप्त भएको टिप्पणी गरेका छन् । उनले सोमबार रातोपाटीसँग कुरा गर्दै काँग्रेसको बागमती प्रदेश अधिवेशनमा देखिएका क्रियाकलापहरूबाट बीपीको सिद्धान्त, आदर्श र निष्ठा समाप्त भएको अनुभूति भएको र त्यसतर्फ कार्यकर्ताहरूले सोच्नु पर्ने अवस्था आएको बताए ।

‘अहिलेको अधिवेशनले मैले अनुभव गरेको कुरा नेपाली काँग्रेसको बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त, आदर्श, निष्ठा समाप्त भएको हो कि वा यसको मृत्युशैयामा, भेन्टिलेटरमा पुगेको हो कि भन्ने अनुभूति भएको छ,’ उनले भने, ‘यो परिस्थितिलाई प्रत्येक र आदर्शवान कार्यकर्ताले सोच्नुपर्ने बेला आएको छ ।’

उनले निर्वाचनको परिणामलाई सहज रुपमा स्वीकार गरेको भन्दै अधिवेशन निष्पक्ष र भयरहित हुन भने नसकेको बताए । सत्ता, शक्ति र पैसाको कारण आफू सभापतिको रेसबाट बाहिरिएको भए पनि काँग्रेसको चुरो मत आफ्नो पक्षमा रहेको उनले दाबी गरे ।

‘निर्वाचनको जे निर्णय आयो त्यसलाई प्रजातन्त्रवादी पार्टीको कार्यकर्ताले सहर्ष स्वीकार गरी अघि बढ्नुपर्छ । म सभापतिको रेसबाट बाहिरिँदा पनि मलाई धेरै निष्ठा र आदर्शवान साथीहरुको मत मलाई आएको छ,’ उनले भने, ‘काँग्रेसको चुरो मत मलाई आएको छ । सत्ता, शक्ति र पैसाको मत मभन्दा बाहिर गएको छ ।’

अधिवेशन निष्पक्ष, भयरहित हुन नसकेको अनुभूति आफूले गरेको उनको भनाइ छ । ‘यो परिस्थितिमा आएको निर्णयप्रति मैले सम्मान र स्वागत गर्नुपर्छ । म सभापतिमा पराजित भए पनि आगामी दिनमा प्रदेशभित्र अन्य ठाउँमा पनि आदर्शवान् कार्यकर्ता साथीहरुको मप्रतिको सहयोग, सद्‌भावलाई कायम राख्ने प्रयत्न गर्नेछु,’ केसीले भने ।

आगामी दिनमा काँग्रेस जोगाउने, पार्टीमा निष्ठा र आदर्शलाई कसरी कायम राख्ने भन्नेमा आफ्नो प्रयत्न रहने उनले बताए । केसीले भने, ‘हरेक जिल्लाका साथीहरुसँग मिलेर काँग्रेसलाई कसरी बचाउन सकिन्छ, निष्ठा र आदर्शलाई कसरी कायम गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनेछु । र त्यसमा क्रियाशील भई अघि बढ्दै संगठनलाई चुस्त, दुरुस्त, सुदृढ र शुद्धीकरण गर्दै अगाडि बढ्ने क्रममा जित्नेले भन्दा बढी सक्रिय रुपमा संगठन निर्माणमा अग्रसर हुनेमा म प्रतिवद्ध छु ।’

केन्द्रीय महाधिवेशनपछि काँग्रेसभित्रको गुट र उपगुट अन्त्य हुने उनको धारणा छ । लोकतान्त्रिक प्रणाली काम राख्न पार्टीभित्रका आकांक्षीहरु बीच आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिनु स्वाभाविक रहेको उनले बताए ।

‘काँग्रेसको केन्द्रीय महाधिवेशन जुन दिनसम्म सकिँदैन, त्यसदिनसम्म गुट र समूह कायमै रहनेछ । एउटा लोकतान्त्रिक जीवन्त पार्टीभित्र नेतृत्वको लागि आन्तरिक प्रतिस्पर्धा स्वाभाविक कुरा हो,’ उनले भने, ‘हामीले सहमतिका साथ अघि बढ्न सकेको भए सहमतिबाटै एउटा नेता चयन हुन्थ्यो । केही सहज हुन्थ्यो, तर त्यसो हुन सकेन ।’

नेतृत्वको लागि धेरै साथीहरुको इच्छा र आकाँक्षा रहेकाले निर्वाचनबाट नेतृत्व चयन भएको उनले प्रस्ट पारे । ‘प्रदेशसम्मको निर्वाचन सकियो, केन्द्रको बाँकी छ । प्रदेशमा ईन्द्रजी निर्वाचित सभापति, म पराजित सभापति मिलेर प्रदेशको संगठन निर्माण गर्ने हो,’ उनले भने, ‘अब हामीले हातेमालो गरेर एकअर्कालाई सहयोग गर्दै आगामी दिनमा मिलेर जानुपर्छ । मिलेर जाने प्रतिवद्धता मैले गरेको छु ।’

आगामी निर्वाचनमा जनताको माझमा काँग्रेसले आफ्नो एकल एजेण्डा लिएर जानुपर्ने भएकाले पछिल्लो समयमा केन्द्रीयस्तरमा बनेको ५ दलीय गठबन्धनलाई पार्टीमा जवरजस्ती लाद्न नहुने उनको धारणा छ । काँग्रेसको आफ्नै आदर्श र सिद्धान्त रहेको भन्दै उनले त्यसलाई कायम गर्न आम कार्यकर्ताहरु लाग्नुपर्ने र नेतृत्वले पनि जनतामाझ एकल रुपमा काँग्रेसको एजेण्डा प्रस्तुत गर्नुपर्ने बताए ।

‘भोलि पार्टीले जे निर्णय गर्छ त्यो मान्नुपर्छ । म पार्टीको सिपाही हुँ । तर, कुनै पनि दलसँग मिलेर निर्वाचनमा जाने होइन, काँग्रेस एक्लै जानुपर्छ, काँग्रेस एक्लैले आफ्नो बिचार लिएर जनताको बिचमा मुलुकको लोकतन्त्र र जनताको हितको लागि एजेण्डा लिएर जाने हो एक्लै जानुपर्छ भन्ने मेरो धारणा हो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप