शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

भीम रावल माने मनोनयन, को को पर्लान् स्थायी समितिमा ?
सोमबार, २० मङ्सिर २०७८, १३ : ५४
सोमबार, २० मङ्सिर २०७८

भर्खर दसौँ महाधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले लगत्तै नयाँ पार्टी सदस्य बनाउन (थप्न) देशभर अभियान चलाउने भएको छ । त्यसका लागि मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटीले विस्तृत कार्ययोजना बनाउने तयारी भएको एमाले नेता तथा पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।  त्यस्तै स्थायी कमिटीमा केन्द्रीय सदस्यहरूमध्येबाट ५४ जना थपेर ९९ सय सदस्यीय पोलिटव्युरो समेत निर्माण गर्नेछ ।

बैठकले पार्टी कमिटीलाई पूर्णता दिएर नेताहरूलाई देश दौडाहामा खटाउने एमाले तयारी छ । त्यसको अतिरिक्त पार्टी विधानअनुसार केन्द्रीय कमिटीले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्ने प्रावधान भए पनि दोस्रो बैठकमा उक्त एजेण्डाले प्रवेश पाउने सम्भावना कम  छ ।

‘मङ्सिर २५ र २६ गते बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्युरोको एजेण्डा प्रवेश पाउँछ । तर, केन्द्रीय सदस्य मनोनयनको एजेण्डाले भने केही समयपछि मात्रै प्रवेश पाउँछ भन्ने मेरो बुझाई छ’, नेता तामाङले रातोपाटीसँग भने, ‘स्थायी र पोलिटब्युरोको गठनपछि पार्टी प्रवेश र नयाँ पार्टी सदस्य बनाउने अभियान चलाउने प्रस्ताव अघि बढ्छ ।’

उनले एमालेको ध्यान अब निर्वाचन केन्द्रित गतिविधिमा केन्द्रित हुने भन्दै पार्टीको लक्ष्य र योजना आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउनेतर्फ केन्द्रित भएको बताए । दसौँ महाधिवेशनमा अध्यक्ष निर्वाचित भए लगत्तै अध्यक्ष केपी शर्मा ओलीले नव निर्वाचित एमाले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्देशन दिँदै पार्टीले तीन महिने ‘पार्टी प्रवेश अभियान’ चलाउने र त्यसतर्फ लाग्न भनेका थिए ।

कार्यालय सचिव तामाङले पनि एमालेले अबको ३ महिनामा हाल रहेका पार्टी सदस्यको तुलनामा दोब्बर सङ्ख्या वृद्धि गर्ने गरी कार्यक्रम बनाउने तयारी भइरहेको बताए । ‘दसौँ राष्ट्रिय महाधिवेशनले पार्टी एकताबद्ध छ भन्ने सन्देश दिँदै नयाँ नेतृत्व चयन गरेको छ, अब एमालेले आक्रामक ढंगले नयाँ पार्टी सदस्य बनाउने र नवीकरण बाँकी रहेकाहरूको नवीकरण गर्ने काम गर्छ’, नेता तामाङले रातोपाटीसँग भने, ‘हाम्रो लक्ष्य भनेको अव हुने स्थानीय निर्वाचन अघि कम्तीमा १५ लाख पार्टी सदस्य बनाउने हो ।’ त्यस्तै तामाङले २६ गते केन्द्रीय कमिटी बैठक लगत्तै जिल्ला र प्रदेश अधिवेशनको तयारी समेत गर्ने बताए ।

तामाङका अनुसार आगामी पुस अन्तिम वा माघको दोस्रो साताभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने अनौपचारिक छलफल भइरहेको छ । ‘पुसको अन्तिम सातादेखि माघको दोस्रो साताभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने भन्ने छ । तर, ठोस निर्णय हुन बाँकी छ’, तामाङले रातोपाटीसँग भने, ‘अधिवेशन र नयाँ सदस्यता अभियान सँगसँगै चल्छ ।’ उनले स्थानीय चुनावअघि १५ लाख पार्टी सदस्य बनाइसक्ने समेत बताए ।

भीम रावल माने मनोनयन गर्ने

एमाले नेताहरूका अनुसार दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पराजित भएका नेता भीम रावललाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी समेत भएको छ । रावल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, उनले शपथ लिन अस्वीकार गरेका थिए ।

ओलीले आफ्नो प्यानलबाट केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको लिस्ट घोषणा गर्नुअघि रावललाई उपाध्यक्ष पदमा बस्न आग्रह गरिए पनि रावलले अस्वीकार गरेको ओली निकटका नेताहरूले बताउँदै आएका छन् । यद्यपि रावलले भने सहमतिका लागि आफूसँग त्यस्तो कुनै छलफल नै नभएकाले आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताउँदै आएका छन् । ओलीनिकट एक पदाधिकारी भन्छन्, ‘उहाँले मान्नुभयो भने केन्द्रीय सदस्यमा मनोनयन गर्ने र त्यसपछि स्थायी समितिमा लैजाने भन्ने छ । तर, मान्ने नमान्ने रावलजीकै कुरा हो ।’

पदका माग्न दौडधुप गर्नेलाई थापाको चेतावनी  

एमाले महाधिवेशन लगत्तै केन्द्रीय कमिटीमा नपरेका नेताहरू केन्द्रीय सदस्य र पदाधिकारीमा नसमेटिएका नेताहरू स्थायी कमिटीमा पर्न नेतृत्वको चाकडीमा जुटेका छन् । त्यसका लागि अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलको निवासमा नेताहरू पुग्न थालेको एमालेकै नेताहरूले बताउँदै आएका छन् ।

‘बधाई र शुभकामना दिने नाममा नेताहरूको घरदैलो चहार्नेहरूको सङ्ख्या बढ्ता नै देखिएको छ’, ओली निकट एक नेताले भने, ‘लामो समय पार्टीमा योगदान दिएकाहरूले पदोन्नतिका लागि आकाङ्क्षा राख्नु स्वाभाविक हो । तर, पार्टीमा सामान्य योगदान नगरेकाहरू समेत पदका लागि नेताको ढोका पुग्नु शोभनीय नहोला कि ?’

यस्तै ओलीनिकट मानिने केन्द्रीय सदस्य सूर्य थापाले गुट र स्वार्थ समूहको बलमा ओली अध्यक्ष रहेको पार्टीमा पद पाउने चाहाना नराख्नु नै बुद्धिमानी हुने बताएका छन् । ‘पार्टीको दसौँ महाधिवेशनअघि जो जसले पदाधिकारीमा उम्मेदवारी घोषणा गरेर तामझाम नै गरेका थिए, ती कोही पनि पदाधिकारी हुन सकेनन् ।

सार्वजनिकरुपमा दबाब दिएर वा लबिङ गरेर रोजेको र खोजेको पद नेकपा एमालेमा कसैले पाउनेवाला छैन भन्ने स्पष्ट भैसकेको छ’, थापाले फेसबुकमा भनेका छन्, ‘अब स्थायी कमिटी वा पोलिटब्युरोमा पनि त्यस्तै हुने हो । कमरेड केपी शर्मा ओलीले अध्यक्ष रहेको पार्टीमा अनेक स्वार्थ समूह र गुट बनाएर त्यसरी दबाब दिन जोकोही नलाग्नु नै बुद्धिमत्तापूर्ण होला !’

थापाको यो कटाक्ष कतिपय ओली समूहकै नेताप्रति लक्षित रहेको कतिपयको भनाइ छ । ओली समूहकै केही नेताहरूले दसौँ महाधिवेशनमा पदाधिकारीमा आकाङ्क्षा राखे पनि उनीहरू परेका थिएनन् । ओली निकटकै भनेर चिनिएका महेश बस्नेत, गोकुल बास्कोटा लगायतका नेताहरू सचिव पदका आकाङ्क्षी भए पनि उनीहरू पर्न सकेका थिएनन् ।

स्थायी समितिमा पर्ने सम्भावित नामहरू  

एमालेको स्थायी कमिटीमा पर्ने सम्भावित नामहरूमा घनश्याम भुसाल, किरण गुरुङ, रघुजी पन्त, मणि थापा, भानुभक्त ढकाल, खगराज अधिकारी र विन्दा पाण्डे छन् । त्यसैगरी थममाया थापा, यामलाल कँडेल, प्रभु साह, विशाल भट्टराई देवराज घिमिरे, गुरु बराल, शेरधन राई, कृष्ण गोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, राजन भट्टराई र बैजनाथ चौधरी पनि स्थायी कमिटीमा पर्न सक्ने सम्भावित नाम हुन् ।

त्यस्तै कर्ण थापा, अरुण नेपाल, शिवमाया तुम्बाहाङ्फे, काशीनाथ अधिकारी, परशुराम मेघी गुरुङ, अग्नि खरेल, गोकुल बास्कोटा, महेश बस्नेत, गोकुल घर्ती र गोरख बोगटीलगायत मध्येबाट स्थायी कमिटीमा लैजाने ओलीको तयारी रहेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप