शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली धागो निर्यात रोक्ने टर्की र भारतको प्रयास असफल

उछालियो निर्यात
सोमबार, २० मङ्सिर २०७८, ०९ : २४
सोमबार, २० मङ्सिर २०७८

विश्व बजारमा नेपालमा उत्पादित धागोको निर्यात बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक विश्लेषण गर्दा नेपालमा उत्पादित धागोको माग बढ्न थालेको देखिएको हो ।

चालू आर्थिक वर्षको कात्तिक महिनासम्म पाँच अर्ब ४२ करोड रुपैयाँ मूल्य बराबरको धागो निर्यात भएको छ । साउनदेखि कात्तिक (चार महिना अवधि) भित्र उल्लेखित रकम बराबरको धागो निर्यात भएको हो । चार महिनाभित्र निर्यात भएको धागोको परिणाम गत आर्थिक वर्षको कात्तिक महिनासम्मको निर्यात तथ्यांकभन्दा ६० करोड रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको कात्तिक महिनासम्म नेपालबाट जम्मा चार अर्ब ८२ करोड रुपैयाँ बराबरको धागो निर्यात भएको थियो । गत आर्थिक वर्षभर नेपालबाट भारत र टर्कीमा आठ अर्ब ५० करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको धागो निर्यात भएको थियो । जुन, चालू आर्थिक वर्ष २०७८/७९ मा बढेर १२ अर्ब रुपैयाँभन्दा बढी पुग्ने अनुमान व्यवसायहरूले गरेका छन् । अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष विदेशमा नेपाली धागोको माग बढ्न थालेकाले निर्यात बढ्ने उनीहरूको आँकलन छ ।

नेपालमा जम्मा तीनवटा उद्योगले धागो उत्पादन र निर्यात गर्दै आइरहेका छन् । रिलायन्स स्पिनिङ मिल्स, जगदम्बा स्पिनिङ मिल्स र त्रिवेणी स्पिनिङ मिल्सले धागोको उत्पादन र निर्यात गर्दै आइरहेका हुन् । यी तीन उद्योगले उत्पादन गर्ने धागो दक्षिण छिमेकी मुलुक भारत र टर्कीमा निर्यात भइरहेको जगदम्बा स्पिनिङ मिल्सका अध्यक्ष विष्णु न्यौपानेले बताए ।

विश्व व्यापार संगठनमा आबद्ध देशहरूले कुनै पनि देशको उत्पादनलाई एकैपटक भन्सार बढाउन मिल्दैन । सोही कारण टर्कीले संगठनलाई सूचना दिएपछि मात्रै नेपाली उत्पादकलाई सूचना पठाएका थिए ।

न्यौपानेले रातोपाटीसँग भने, ‘नेपालमा उत्पादित धागोको ६० प्रतिशत बजार भारत हो भने २५ प्रतिशत टर्की र बाँकी १५ प्रतिशत धागो अन्य मुलुकमा निर्यात भइरहेको छ ।’ अघिल्लो वर्षमा नेपालबाट टर्कीमा धागो निर्यात उल्लेख्य रूपमा बढेपनि पछिल्लो समय घटेको उनको भनाइ छ ।

‘टर्कीमा सन् २०१८ सम्म शून्य प्रतिशत भन्सारमा निर्यात हुन्थ्यो । अहिले टर्कीले नेपाली धागोमा १२ प्रतिशत भन्सार शुल्क लगाउँछ,’ न्यौपानेले भने, ‘तर, भारतमा निर्यात गर्दा भने भन्सारदर शून्य छ ।’ यही कारण भारतमा नेपाली धागो निर्यात बढिरहेको छ भने टर्कीतर्फ निर्यात घटिरहेको छ ।

७० प्रतिशत भन्सार लगाउने टर्कीको प्रयास विफल

२०१७ मा टर्कीले नेपालको धागो उद्योगमाथि अनुसन्धान गर्न थालेको थियो । त्यही वर्षको अन्तिमतिर विश्व व्यापार संगठन (डब्ल्यूटीओ)बाट नेपालका तीन वटा धागो (रिलायन्स, त्रिवेणी र जगदम्बा स्पिनिङ मिल्स) उत्पादकलाई टर्कीले नेपालबाट निकासी हुने धागोको आयात रोक्न ७० प्रतिशतसम्म भन्सार लगाउने तयारी गर्दैछ भन्ने सूचना आयो । नेपालले भारत र चीनबाट धागो ल्याएर नेपालमा बनेको भन्दै टर्की निकासी गरिरहेको उनीहरूको आरोप थियो ।

विश्व व्यापार संगठनमा आबद्ध देशहरूले कुनै पनि देशको उत्पादनलाई एकैपटक भन्सार बढाउन मिल्दैन । सोही कारण टर्कीले संगठनलाई सूचना दिएपछि मात्रै नेपाली उत्पादकलाई सूचना पठाएका थिए ।

डब्ल्यूटीओबाट सूचना पाएपछि नेपाली धागो उत्पादक नेपाल सरकारको शरणमा गए र उद्योग बचाउन अनुरोध गरे । त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग विभाग, वाणिज्य विभाग, धागो उत्पादक र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रबीच निकै चरण छलफल भयो ।

टर्कीको तयारी विफल पार्न मन्त्रालयले सन् २०१८ को जनवरीतिर कमिटी नै गठन गर्‍यो । उक्त कमिटीले नेपालमा सञ्चालित तीन ठूला धागो उद्योगमा स्थलगत भ्रमण गर्‍यो । विराटनगरको रिलायन्स स्पिनिङ मिल्स, वीरगञ्जको त्रिवेणी स्पिनिङ मिल्स र भैरहवामा सञ्चालित जगदम्बा स्पिनिङ मिल्समा कमिटीले स्थलगत भ्रमण गरेको थियो ।

टोलीले उत्पादनमूलक उद्योगमा लगाइएको मेसिनरी, भवन, कर्मचारी, लगानी, खर्च, आयातित कच्चा पदार्थ, उत्पादन र नेपालबाट भएको निर्यातको तथ्यांक हेर्‍यो । सबै पक्ष हेर्दा सबैमा ठीकठाक अवस्था देखियो ।

‘धागो बनाउने कच्चा पदार्थ आयात धेरै भएको देखियो, जसले टर्कीमा निकासी भइरहेको धागो नेपाली उत्पादन नै भएको देखाउन सजिलो भयो,’ केन्द्रका उप–निर्देशक राजेन्द्र सिंहले भने ।

टर्कीले नेपाली धागोमा भन्सार महशुल बढाउने तयारी रोकेको करिब १० महिनापछि भारतले उस्तै बखेडा झिक्यो । विश्वभर फैलिरहेको कोरोना भाइरस महामारी रोक्न २०७७ वैशाखदेखि गरिएको लकडाउनकै बेला भारतले यस्तो तयारी गरेको थियो । भारतीय पक्षले नेपालमा उत्पादित धागोको मूल्य नेपालमा र भारतमा फरक–फरक भएको तर्क राख्यो ।

टोलीले वार्षिक रूपमा निर्यात भएभन्दा धेरै कच्चा पदार्थ आएको र निर्यात परिमाणमा धागो उत्पादन गर्ने क्षमता उद्योगमा छ/छैन भन्ने विषय पनि अध्ययन गर्‍यो । ‘यी सबै विषयमा उद्योगहरूले बदमासी नगरेको पाइएपछि थप सजिलो भयो,’ सिंहले भने, ‘नेपालमा उत्पादित धागोको एक भाग नेपालमा प्रयोग हुन्छ । बाँकी एक भाग भारत र टर्की निकासी हुन्छ भन्ने तथ्य फेला परेपछि सहज भयो ।’

कमिटी सहसंयोजक रहेका सिंहले मोबाइलमार्फत धागो उद्योगको शुुरूदेखि अन्तिमसम्मको सबै भिडियो खिचे र प्रमाणका रूपमा राखे । ‘शुरूदेखि अन्तिमसम्म सबै प्रक्रियाको भिडियो खिचेपछि त्यसलाई प्रमाणका रूपमा टर्कीका प्रतिनिधिलाई देखाइयो,’ उनले रातोपाटीसँग भने, ‘यी सबै प्रमाण लिएर नेपाली टोली सन् २०१८ को जुलाईमा टर्की गयो र नेपालबाट निर्यात भइरहेको धागो नेपालकै उत्पादन भएको पुष्टि गर्‍यो ।’

टर्कीमै गएर नेपाली प्रतिनिधिमण्डलले विश्वस्त पारेपनि टर्कीका प्रतिनिधिलाई नै नेपाल भ्रमणको निम्तो दिइयो । टर्कीको टोलीले नेपाल नै आएर धागो उद्योगको भ्रमण समेत गर्‍यो । ‘नेपाली धागोलाई भन्सार लगाउनबाट टर्की पछि हट्ला भन्ने आश थिएन । तर, हामीले अन्तिमसम्म प्रयास गर्‍यौँ । सफल पनि भइयो । अब यस्तो समस्या आइपरे सजिलै नेपाली वस्तुको रक्षा गर्न सक्छौं,’ उनले भने ।

भन्सार बढाउने तयारी भारतले पनि रोक्यो

टर्कीले नेपाली धागोमा भन्सार महशुल बढाउने तयारी रोकेको करिब १० महिनापछि भारतले उस्तै बखेडा झिक्यो । विश्वभर फैलिरहेको कोरोना भाइरस महामारी रोक्न २०७७ वैशाखदेखि गरिएको लकडाउनकै बेला भारतले यस्तो तयारी गरेको थियो । भारतीय पक्षले नेपालमा उत्पादित धागोको मूल्य नेपालमा र भारतमा फरक–फरक भएको तर्क राख्यो ।

उक्त समयमा नेपालमै उत्पादित धागोको मूल्य यहीँ नै प्रतिकिलो २२० रुपैयाँ थियो । भारततर्फ प्रतिकिलो १६० रुपैयाँमै निकासी भइरहेको थियो । यही विषयलाई भारतीय पक्षले मुद्दा बनायो र ‘एन्टीडम्पिङ ल’ (उत्पादन मूल्यभन्दा कम मूल्यमै निकासी गरेमा भन्सार लगाएर उत्पादित लागत बराबर बनाउने) लगाउने तयारी गर्‍यो ।

भारतको तयारीबारे जानकारी पाएपछि व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र र मन्त्रालय मिलेर बजार अध्ययन गर्‍यो । ‘अध्ययनबाट धागोको उत्पादन मूल्य प्रतिकिलो १५० रुपैयाँ रहेको पाइयो,’ सिहंले भने, ‘नेपाली बजारमा बेच्ने धागोमा मूल्य अभिवृद्धि कर र स्थानीय कर लगायतजोडिँदा महँगो परेको पाइयो ।’

तर, भारत निकासी गर्ने धागोमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने भएकाले निर्यात हुने धागोको मूल्य सस्तो भएको निस्कर्ष निस्कियो । यही विषय उल्लेख गरेर लकडाउनकै बेला मन्त्रालयले भारतीय पक्षलाई धागो उत्पादन मूल्य निर्धारण प्रक्रिया खुलाएर पत्र लेख्यो । जसको परिणाम नेपालको पक्षमा आयो र भारत तत्कालका लागि भन्सार महशुल बढाउने तयारीबाट पछि हट्यो ।

बहुपक्षीय व्यापार सन्धीले गर्दा भारतमा नेपाली धागोलाई भन्सार छुट उपलब्ध छ । एन्टीडम्पिङ लगाएपछि भन्सार महशुल तिर्नुपर्ने हुन्छ र नेपालको निर्यातसँगै लगानी पनि जोखिममा पर्ने जोखिम बढ्छ । यी दुईवटा मुद्दा जितेपछि अहिले नेपालमा उत्पादित धागो टर्की र भारतमा निर्वाध निर्यात भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप