बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस लुम्बिनी प्रदेशमा पौडेल समूहको वर्चश्व, गृहमन्त्रीलाई गृह प्रदेशमा धक्का

सोमबार, २० मङ्सिर २०७८, ०७ : २१
सोमबार, २० मङ्सिर २०७८

नेपाली काँग्रेसको लुम्बिनी प्रदेश समितिमा एक उपसभापति बाहेक वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अमरसिंह पुनको प्यानल नै विजयी भएको छ । शुरुदेखि नै पुन समूहले अग्रता लिए पनि अन्तिम समयमा पुन समूहका उपसभापति अष्टभुजा पाठक झिनो मतले पराजित भए । पदाधिकारीमा उपसभापतिका उम्मेदवार पाठक बाहेकमा अमरसिंह पुनको प्यानल विजयी भएको छ। 

सभापतिमा पुनले ८५२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी भरतकुमार शाहले ७६७ मत ल्याएका छन्। पुन ८५ मतले उछिन्दै काँग्रेस लुम्बिनीको बागडोर सम्हाल्ने मौका पाएका हुन्।

रुपन्देहीबाट चुनावी मैदानमा उत्रिएका शाह र पाठकले पराजय भोगेका छन् । शाह संघीय संसदको सार्वजनिक लेखा समिति सभापति हुन् । सभापति शेरबहादुर देउवा पक्षका शाहलाई गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले समर्थन गरेका थिए। पुन समूहलाई केन्द्रीय सदस्य चन्द्र भण्डारी, दिपक गिरी लगायतले समर्थन गरेका थिए। 

उपसभापतिमा पुन समूहका भुवनप्रसाद श्रेष्ठ र शाह समूहका राजु खनाल निर्वाचित भएका छन्। श्रेष्ठले ८४७  मत प्राप्त गरेका छन भने खनालले ७९२ मत प्राप्त गरेका छन्। पाठकले ७७२ मत पाएका छन्। उनी २० मतले पराजय भोगेका छन्। 

महामन्त्रीमा पनि पुन समूहकै बिक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित भएका छन्। खनालले ८४४ र आर्चायले ८३९ मत प्राप्त गर्दै विजयी भएका छन्। त्यसैगरी सहमहामन्त्रीमा बिष्णु खनाल मुस्कान र खगराज पाण्डेय विजयी भएका छन्। खनालले सर्वाधिक ८६९ मत प्राप्त गरेका छन् भने पाण्डेयले ७७६ मत प्राप्त गरेका छन्। 

महिला सहमहामन्त्रीमा निमा गिरी विजयी भएकी छन्। उनले ८३० मत प्राप्त गरेकी छन्। लुम्बनी प्रदेश अधिवेशनमा कूल १ हजार ६३१ मत खसेको थियो। शनिबार भैरहवामाको महेन्द्र सभागृह मतदान भएको थियो ।

प्रदेश कार्यसमितिमा एक उपसभापति सीमित हुनुपरेपछि लुम्बिनी प्रदेश अधिवेशन समन्वय समितिका संयोजक समेत रहेका गृहमन्त्री खाणलाई गृह प्रदेशमा धक्का लागेको छ । खाणका विश्वास पात्र जन्मजय तिमल्सिना पनि महामन्त्रीमा पराजित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप