आईपीएस तालिमका उत्कृष्ट नेपाल प्रहरीका इन्सपेक्टर भन्छन्, ‘मुख्य कुरा त समर्पण रहेछ’
काठमाडौँ– नेपाल प्रहरीको तालिम निर्देशनालयले गत वर्षको आईपीएस (इन्डियन पुलिस सर्भिस) ट्रेनिङका लागि पाँच जना इन्सपेक्टरलाई छनोट गरेको थियो । अफिसरको आधारभूत तालिममा ‘ए’ ग्रेड ल्याएका इन्सपेक्टर निकै कठिन मानिएको आईपीएस तालिमका लागि छनोट भएका थिए । ती पाँचमध्ये एक थिए, इन्सपेक्टर राजेशराज पुरी ।
भारतको हैदारावादस्थित सरदार बल्लभभाई पटेल नेसनल पुलिस एकेडेमीमा आयोजित १० महिने ‘आईपीएस ट्रेनिङ’मा सहभागी चार देशका प्रतिस्पर्धीलाई उछिन्दै राजेश राज पुरी आउटडोर प्रशिक्षणतर्फ उत्कृष्ट भए । गत कात्तिक १३ गते ‘सरदार बल्लभभाई पटेल नेसनल पुलिस एकेडेमी’ मा आयोजित पासिङ आउट समारोहमा भारतका गृहमन्त्री राजनाथ सिंहले महत्वकाङ्क्षी पुरस्कार मानिने आईपीएसको ‘स्वर्ड अफ अनर’ इन्सपेक्टर पुरीलाई हस्तानान्तरण गरेका थिए ।
नेपालबाट सहभागी इन्सपेक्टर रवीनबावु रेग्मी र प्रवीन कार्कीले संयुक्त रूपमा ‘ट्रफी फर एड्भेन्चर स्पोर्ट’ हाँसिल गर्न सफल भए ।
‘मैले धेरै कुरा सिक्न पाएँ, मेरा लागि पक्कै यो ग्रेट एचिभमेन्ट भयो’– पासिङ आउट समारोहमा स्वर्ड अफ अनरले विभ्रषित भएपछि भारतीय मिडियालाई प्रतिक्रिया दिँदै इन्सपेक्टर पुरीले भनेका थिए, ‘आई लभ्ड द एडभेन्चर ।’
‘६९औँ आईपीएस ब्याच’बाट १३६ जना पास आउट भए । १८ डिसेम्बर २०१६ देखि ३० अक्टोबर २०१७ सम्म सञ्चालित ट्रेनिङमा भुटान पुलिसबाट ६ जना, माल्दिभ्स प्रहरीका ४, नेपालका ५ जना र अन्य भारतिय अफिसरहरू सहभागी थिए ।
आईपीएस ‘इन्डियन पुलिस सर्भिस’ भारतमा निकै आकर्षक मानिन्छ । ‘आईपीएस अफिसरहरू अल इन्डियाबाट सेलेक्टेड भएर आएका हुन्छन् । त्यो भारतको एसपी लेभलको तालिम हो’ हैदारावादमा दीक्षान्त समारोहमा सहभागी भएर फर्केका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देश (एआईजी) देवेन्द्र सुवेदी भन्छन्– ‘हाम्रा केटाहरूले राम्रो गरे, खुसी लाग्यो ।’
जितपुर–सिमरादेखि हैदरावादसम्म
इन्सपेक्टर राजेशराज पुरी बाराको जितपुर–सिमरा उपमहानगरपालिकाको उखरमाउलो गर्मीमा हुर्र्किए । वीरगञ्जको पब्लिक क्याम्पसमा पढ्दै गर्दा उनले नेपाल प्रहरीलाई नजिकैबाट नियालिसकेका थिए । ‘तराईमा सामान्य झैझगडा हुँदा पनि चौकीमा जान्छन्, त्यसैले बर्दीमा मेरो आकर्षण बढेको थियो’– उनी भन्छन्– ‘कलेज पढ्दा राज्यको प्रतिनिधि प्रहरी नै हो, जस्तो लाग्थ्यो ।’
प्रहरीलाई राज्यको प्रतिनिधि फिल गरेर उनी २०७० सालमा इन्सपेक्टरमा भर्ना भए । नेपाल प्रहरीको १५८ (७) पीजी ब्याचका इन्सपेक्टर पुरीले २०७२ असोजमा पास आउट हुँदा बेसिकमा ‘क’ श्रेणी ल्याएका थिए ।
गत सालको आईपीएस ट्रेनिङमा पनी उनकै ब्याचका रघुसिंह विष्टले ‘स्वर्ड अफ अनर’ जितेका थिए । विष्टले सुरु गरेको ट्रेडिसनलाई पुरीले ब्रेक हुन दिएनन् ।
एक साता जङ्गलमा बसेर प्रहरीले कसरी रेड गर्ने, एम्बुसिङ कसरी गर्ने भन्नेबारे ‘आउटडोर’ विधामा उत्कृष्ट प्रदर्शन गरेका पुरीले ‘स्वर्ड अफ अनर’बाहेक ‘बीएसएफ ट्रफी’ र फिल्ड कम्ब्याटमा उत्कृष्ट भएबापत ‘उमेशचन्द्र ट्रफी’ हात पार्न सफल भए ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले ‘स्वर्ड अफ अनर’ प्रदान गर्दै इन्सपेक्टर पुरीलाई बधाईको साथै भोलिकोे करिअर र व्यावसायिकताका लागि शुभकामना दिए ।
‘यो उपलब्धिको श्रेय म नेपाल प्रहरीलाई दिन चाहन्छु’ आईपीएसको इतिहाँसमा नेपाल प्रहरीको नाम चम्काएर फर्केका पुरी भन्छन्– ‘मैले प्रहरी अफिसरको रूपमा यो अवसर पाएको हुँ, सङ्गठनको सदस्य हुन पाएकोमा गर्वको अनुभूति भएको छ ।’
केहो आईपीएस ट्रेनिङ ?
भारतमा डाइरेक्ट जिल्ला चलाउने प्रहरी अधिकृत बनाउने तालिम हो, ‘आईपीएस ट्रेनिङ’ । इन्डोर र आउटडोर गरेर दुई विधामा वर्गीकरण गरिएको तालिममा कुल ३० विधा थिए । जसमा इन्डोरतर्फ १५ विधा थिए भने आउटाडोरतर्फ १५ विधा थिए । ‘बेस्ट आउटडोर’ हुँदै सबै विधाको नम्बर जोड्दा पुरी उक्त ब्याचकै सर्वोत्कृष्ट हुन सफल भए ।
‘इन्डोरतर्फ हामीलाई अनुसन्धानमा फोकस गरेर तालिम दिइएको थियो’ इन्सपेक्टर पुरी भन्छन्, ‘तालिमको दौरानमा हामीले त्यहाँका धेरै कानुनहरू पढ्यौँ ।’
एमपीपीओ ‘मेन्टेनेन्स अफ पब्लिक पीस एन्ड अर्डर’, इन्टरनल सेक्युरिटी, फरेन्सिक साइन्स, फरेन्सिक मेडिसिन इन्डोरतर्फका मुख्य विषय थिए ।
भारतमा हुने अपराधका ट्रेन्ड कस्ता छन् र अपराधी कसरी पत्ता लगाउने भन्ने पाटो एकातिर थियो भने अपराध कसरी नियन्त्रण गर्ने भन्ने पनि ट्रेनिङको महत्वपूर्ण विषय थियो ।
‘कुनै घट्नाको अनुसन्धान कसरी गर्ने र अदालतसम्म लैजाने भन्ने कुराहरू सिकाइएको थियो’ इन्सपेक्टर पुरीले भने– ‘फरेन्सिकको सबुद प्रमाण कसरी कलेक्ट गर्ने, अनि त्यसलाई फरेन्सिकमा ल्याबमा कसरी पठाउने भन्नेबारेका अत्याधुनिक मेथोड सिक्न पायौँ ।’
अपराधमा वैज्ञानिक र आधुनिक उपकरण प्रयोग हुन थालेका छन् । त्यस्तोमा आईपीएस ट्रेनिङमा ‘इन्फर्मेसन एन्ड कम्युनिकेशन टेक्नोलोजी’ अन्तर्गत मोबाइल फरेन्सिक र डिस्क फरेन्सिकमामा विशेष फोकस गरिएको थियो ।
‘मलाई आईसीटीको कुरा चाहिँ एकदमै राम्रो लाग्यो’ पुरीले भने, ‘आधुनिक र वैज्ञानिक उपकरणहरूको प्रयोग कसरी गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित रहेर तालिम गराइएको थियो ।’
आईपीएस तालिममा सहभागी अन्य देशका प्रहरी अफिसरहरू पास आउट भएर फर्किसकेका छन् । भारतीय अफिसरहरू जिल्ला अभ्यासका लागि डिप्लोई भइसकेका छन् । ६ महिनाको डिपुटेसन सकिएपछि फेरि दुई महिना त्यही एकेडेमीमा तालिम गरेपछि उनीहरू डाइरेक्ट एसपी (सुपरिटेन्ड अफ पुलिस) को रूपमा आफ्नो कार्यक्षेत्रमा परिचालिन हुन्छन् ।
लिडरसिप, म्यानेजमेन्ट र इथिक्समा फोकस गरेर दिइने आईपीएस तालिममा यस वर्ष नोबेल पुरस्कार बिजेता कैलाश सत्यार्थीले पनि प्रशिक्षण दिएका थिए । ‘वचपन बचाओ’ अभियानका प्रणेता सत्यार्थीले बच्चा सम्बन्धी अपराधमा कसरी काम गर्ने भन्नेबारे आफ्ना धारणा सेयर गरेका थिए । ‘भारतका राष्ट्रि सुरक्षा सल्लाहकारले आफ्नो अनुभव सेयर गर्नुभएको थियो’ इन्सपेक्टर पुरी भन्छन्, ‘नेसनल सेक्युरिटीको सम्बन्धमा प्रहरी कसरी अगाडि बढ्ने भन्नेबारे उहाँले बताउनुभएको थियो ।’
नेपालको ‘भीभीआईपी सुरक्षा’ प्रसंशा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा इन्सपेक्टर पुरी आफैं ड्युटीमा थिए । आईपीएर ट्रेनिङका लागि अत्याधुनिक ‘सरदार बल्लभभाई पटेल नेसनल पुलिस एकेडेमी’ पुग्दा हर्षले भावविभोर भए ।
इन्टरनल सेक्युरिटीको च्याप्टरमा भीभीआईपीको सुरक्षा कसरी गर्ने भन्नेबारे विशेषज्ञले भारतीय प्रधानमन्त्रीको नेपाल भिजिटको भिडियो देखाए । ‘त्यो बेला हामीलाई निकै गर्व महशुस भयो’– पुरीले भने– ‘नेपाल पुलिसले भीभीआईपीको सेक्युरिटी यसरी गरेको थियो भन्नेकुराको भिडियो देखाएर उनीहरूले प्रशिक्षर्थीहरूलाई उत्कृष्ट सुरक्षा व्यवस्थाको उदाहरण दिएका थिए ।’
आईपीएसको तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई नेपाल प्रहरीले भीभीआईपी सेक्युरीको क्षेत्रमा ‘डु एन्ड डन्ट’ फर्मुलामा काम गरेको र भीभीआईपी मुभमेन्टमा रोड प्रोटेक्सन गर्दा यसरी गर्नुपर्छ भनेर नेपालको उदाहरण दिइएको थियो ।
तालिमको अन्त्यमा पुरिले नेपालको ‘चाइल्ड म्यारिज’ सम्बन्धी रिपोर्ट पेस गरेका थिए । ‘हाम्रो जुन कल्चर र सोसाइटी छ, यो चाहिँ अहिले पनि बालविवाहबाट पीडित भइरहेको छ’ इन्सपेक्टर पुरीले भने, ‘बीचमा हाम्रो प्रहरीले पनि बालविवाह नियन्त्रणका लागि राम्रो काम गरेको छ, सर्वेन्द्र खनाल सरले नारायणी अञ्चलमा बस्दा राम्रो काम गर्नुभएको थियो, त्यो कुराको रिफरेन्सलाई मैले आफ्नो डाटामा राखेको थिएँ ।’
‘मुख्य कुरा त समर्पण रहेछ !’
आफूभन्दा एक ब्याच सिनियर इन्सपेक्टर रविनबाबु रेग्मीको कमान्डमा हैदारावादस्थित नेसनल एकेडेमीमा पुगेका थिए राजेश राज पुरी । खाद्यान्न कालोबजारीमा संलग्न दुगड ग्रुपको सफल अनुसन्धान गरेका पुरीलाई त्यहाँ पुग्नासाथ एउटा कुराले घचघच्याइहाल्यो, ‘अघिल्लो ब्याचले राम्रो गरेको थियो, त्यो ट्रेडिसन मैले कायम राख्नुपर्छ ।’
‘वानेश्वर वृत्तमा बस्दा तत्कालीन कमान्डर हालका एसपी दानबहादुर कार्कीबाट मैले कामप्रतिको डेडिकेशन सिकेको थिएँ’ पुरिले भने– ‘नेपालमै भएको भए पनि कुनै ठाउँमा ड्युटी गरेरै बसिरहेको हुन्थेँ, भारतमा गएपछि मैले तालिम हैन ड्युटीकै रूपमा लिएँ सायद त्यही कारणले पनी राम्रो नतिजा ल्याउन सफल भएँ ।’
‘नेपाल प्रहरीका सदस्यहरू गर्न नसक्ने छैनन्, हामीले लगातार दुई ब्याच स्वर्ड अफ अनर प्राप्त गर्न सफल भयौं’ पुरीले भने– ‘नेपालको बेसिक तालिमबाटै हामी धेरै कुरामा फेमिलियर भइकसेका थियौँ, मुख्य कुरा त समर्पण नै रहेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने