शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा मेडिकल अध्ययनरत विद्यार्थीको चेतावनी– नेपालमै इन्टर्नसीप नपाए आन्दोलन

आइतबार, १९ मङ्सिर २०७८, १७ : १०
आइतबार, १९ मङ्सिर २०७८

चीनमा मेडिकल अध्ययनरत रहेकै अवस्थामा कोरोना महामारीका कारण नेपाल फर्किएका विद्यार्थीले देशभित्रै इन्टर्नसीप गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले इन्टर्नसीपको बाँकी अवधि पूरा गर्ने व्यवस्था नेपालमै मिलाउन सरकारसँग आग्रह गरेका हुन् ।

विद्यार्थीहरुले डेढ वर्षको इन्टर्नसीप नेपालकै सरकारी अस्पतालमा गर्न पाउनुपर्ने माग गरेका छन् । आफ्नो जायज माग पूरा नगरेमा आन्दोलनमा उत्रने चेतावनी पनि उनीहरुले दिएका छन् । समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ ।

चिकित्सा शिक्षा आयोग सानोठिमी, भक्तपुरले २०७८ साल साउन २३ गते इन्टर्नसीप पूरा गर्न नपाएका विद्यार्थीहरुलाई अनलाइन आवेदन गर्न सूचित गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, त्रिवि र काठमाडौं विश्वविद्यालयका उपकुलपतिहरू, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष लगायतको उपस्थितिमा मंसिर १७ छलफल भएको थियो ।

छलफलले विदेशमा एमबीबीएस अध्ययनरत अवस्थामा कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्किआएका र अध्ययन पूरा गर्न नपाएका नेपाली विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालयमै उपस्थित भई अध्ययन निरन्तरता दिन सम्बन्धित सरकारसमक्ष उच्चस्तरमा कुटनीतिक पहल गर्ने र उल्लेखित नियामक निकाय समेतको समन्वय र सहकार्यमा आवश्यकता अनुसार समस्याको सकारात्मक निकास दिन पहल गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा पीडित विद्यार्थीहरुले नेपाल मेडिकलले काउन्सिलमा बुझ्न जाँदा अनलाइनमार्फत लिइएको कक्षालाई मान्यता दिने भनेपछि आफूहरुले अनलाइन कक्षा लिएको बताए । अनलाइन कक्षा लिएर पूरै रकमसमेत बुझाएको उनीहरुको भनाइ छ । काउन्सिल र विश्वविद्यालयको समन्वयपछि पीडित विद्यार्थीहरुले अनलाइनमार्फत सैद्धान्तिक विषयहरु पढेको सुनाए ।

बाध्यात्मक परिस्थितिमा इन्टर्नसीप लिन बाध्य भएका विद्यार्थीहरुले राहतको साटो थप पीडा पाएको उनीहरुको भनाइ छ । पटक–पटक सम्बन्धित निकायमा धर्ना तथा विरोधका कार्यक्रम गरेको भए पनि अहिलेसम्म आफूहरुको मागको सुनुवाई नभएको उनीहरु बताउँछन् ।

एमबीबीएस अध्ययनरत एक विद्यार्थीले स्वदेशमै प्रयोगात्मक विषयको लागि आवश्यक सामाग्रीसहित व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । इन्टर्नसीप गर्न बाँकी विद्यार्थीहरुले सबैले अनलाइनमार्फत विषयको ज्ञान लिएको उनले बताए । अनलाइनबाट शिक्षा लिँदा पनि पूरै रकम तिरेको भन्दै फेरि विश्वविद्यालयमै गएर कक्षा लिनुपर्ने मन्त्रालयले निर्णय गरेपछि थप पीडा भएको उनले सुनाए ।

उनले भने, ‘सम्बन्धित् विश्वविद्यालयमै गएर कक्षा लिनुपर्ने मन्त्रालयले भनेपछि हामीहरू थप संकटमा परेका छौं ।’ उनले इन्टर्नसीपको मागबारे पीडित विद्यार्थीहरूसँग कुनै छलफल नभएको र  विद्यार्थीहरुको बारेमा जानकार हुँदाहुँदै पनि सरकारले विद्यार्थीहरुको हितमा केही निर्णय नगरेकोमा आपत्ति जनाए ।

मन्त्रीलगायत काउन्सिलको उपस्थितिमा भएको छलफलले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको उनको गुनासो थियो । उनले भने, ‘यदि विद्यार्थीको समस्या के हो र उचित समाधान गर्नुपर्छ भन्ने महसुस भएको भए विद्यार्थीहरुलाई पनि समेटेर छलफल गरिन्थ्यो ।’

चीनमा अध्ययनरत एक विद्यार्थीले नेपाल मेडिकल काउन्सिललाई समस्याको बारेमा आफूहरुले जानकारी दिँदा पनि आजसम्म समस्या समाधान नभएको बताए । विद्यार्थीहरुको माग सम्बोधन नहुनुमा शिक्षा मन्त्रालय नै जिम्मेवार भएको उनको आरोप थियो । उनले चीनमा एमबीबीएस अध्ययन गरेर आएका चिकित्सकहरुले नै विद्यार्थीहरुलाई सहयोग नगरेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप