शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सात वर्ष अघि बेपत्ता भएको मलेसियाली विमान भेटिएला ?

आइतबार, १९ मङ्सिर २०७८, १७ : ०७
आइतबार, १९ मङ्सिर २०७८

सात वर्षअघि मलेसियाको एक यात्री विमान ‘एमएच ३२०’ चालक दलका सदस्य र २३९ यात्रीसहित बेपत्ता भयो । उक्त विमान अहिलेसम्म फेला पर्न सकेको छैन । हवाई सेवाको इतिहासमै यो सबैभन्दा ठुलो रहस्यमध्येको एक हो । तर, एक बेलायती एयरोनोटिकल इन्जिनियरलाई आफ्नो गणनाबाट उक्त विमानलाई पत्ता लगाउन सकिने विश्वास छ । उनी उक्त विमान कहाँ दुर्घटना भएको हो भन्ने पत्ता लगाउन सकिनेमा विश्वस्त छन् ।

रिचर्ड गोडफ्रेले एक वर्षभन्दा बढी समयसम्म ‘एमएच ३७०’माथि अध्ययन गरेका छन् । उक्त विमान पश्चिमी अस्ट्रेलियाको पर्थबाट करिब दुई हजार किलोमिटर टाढा समुन्द्रमा खसेको ठान्छन् । ‘एमएच ३७०’ विमान मार्च २०१४ मा उडानका क्रममा राडारबाट बेपत्ता भएको थियो ।

बीबीसीसँग कुरा गर्दै गोडफ्रे भन्छन्, ‘हुन सक्छ कि हामी यो दुर्घटनामा मृत्यु भएका परिवारलाई जवाफ दिन सक्छौं ।’ उनका अनुसार सो विमानमा उडान भरेका मानिसका परिवार, उड्डयन उद्योग र आम मानिसलाई आखिर ‘एमएच ३७०’ विमानमा के भएको थियो भन्नेबारे केही बताउन सकिन्छ । यसबाट भविष्यमा हुने दुर्घटनाबाट पनि जोगिन सक्ने उनको भनाइ छ ।

आफ्नो गणनामा उनले केही डाटाको प्रयोग गरेका छन्, जसलाई पहिला अलग अलग राखिएको थियो । यसकै आधारमा उनी दक्षिणी हिन्द महासागरको उक्त स्थानसम्म पुगेका छन् । गोडफ्रेका अनुसार यो सबै काम गर्न निकै कठिन थियो । यसअघि यसबारेमा सतही सोच थियो तर केही काम नभएको उनले बताए ।

उनले भने, ‘यसअघि कसैले इमरसेट स्याटेलाइटका डाटा, बोइङ्गका परफरमेन्स डाटा, समुन्द्रमा फेला परेका भग्नावशेषका ओशिएनोग्राफिक डाटा र डब्ल्युएसपीआर नेट डाटालाई एक साथ अध्ययन गरेनन् ।’ गोडफ्रे र उनको समूहले यी डाटालाई एक वर्षभन्दा बढी समय अध्ययन गरेको थियो । उनले भने, ‘हामीले यी डाटामा कयौं परीक्षण गरेका छौं, अब हामीलाई विश्वास छ कि हामी यसलाई उक्त विमानको खोजीका लागि प्रयोग गर्न सक्छौं ।’

ती डाटाको गणनाका आधारमा उक्त टिमले सो विमान हिन्द महासागरमा ३३ डिग्री दक्षिण र ९५ डिग्री पूर्व आसपास खसेको आँकलन गरेको छ । हिन्द महासागरमा ‘एमएच ३७०’ विमानको खोजीमा दुई पटक व्यापक अभियान सञ्चालन गरिए पनि सफलता प्राप्त हुन सकेको थिएन ।

ती खोजी अभियानमा करोडौं डलर खर्च भएको थियो । तर विमान कहाँ खस्यो भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेन । सो विमानमा सवार यात्रीका परिवारजन अहिले पनि आफन्तको बारेमा जवाफ खोजिरहेका छन् ।

‘फेरि सुरु हुन सकोस् खोज’

उक्त दुर्घटनामा ग्रेस नाथनले आफ्नी आमा एनीलाई गुमाएकी छन् । उनी भन्छिन्, ‘हाम्रोलागि यो एउटा नराम्रो सपना हो, जो कहिल्यै अन्त्य हुँदैन । यसको कुनै अन्त्य छैन । हामीलाई लाग्छ कि हामी एउटा वृत्तमा घुमिरहेका छौं र बारम्बार भित्तामा ठोक्किरहेका छौं ।’

आफूहरु यति लामो समयदेखि केही नयाँ सुरु होस् भन्ने चाहनामा रहेको उनले बताइन् । ‘केही यस्तो होस्, जसको आधारमा फेरि खोजी सुरु होस् भन्ने चाहेका छौं । अब कम से कम एक अधिक सटिक लोकेशन पत्ता लागेको छ, जहाँ खोज सुरु गर्न सकिन्छ । यसले विमान फेला पर्ने सम्भावन बढेको छ,’ उनले भनिन् ।

नाथन क्वालालम्पुरमा अधिवक्ता छिन् । यो नयाँ डाटालाई वैज्ञानिक आधारबाट परीक्षण होस् र यस थ्यौरीलाई प्रयोग गरियोस् भन्ने उनको चाहना छ ।

‘हामी नयाँ जानकारीको स्वागत गर्दछौं । यो सबै प्रमाणमा आधारित छन्,’ उनले भनिन्, ‘यी यस्ता कुरा हुन् जसको गणना गर्न सकिन्छ । यो गुगलबाट लिइएका तस्वीर र कमजोर प्रमाणमा आधारित छैन जसको बचाउ नगर्न सकियोस् ।’

हिन्द महासागर यति ठुलो छ कि यसअघि सुरु गरिएको खोजी अभियान विफल भयो, किनकि सर्च एरिया धेरै ठुलो थियो ।

गोडफ्रे भन्छन्, ‘अहिलेसम्म एक लाख २० हजार वर्ग किलोमिटरभन्दा ठुलो क्षेत्रमा खोजबिन भइसकेको छ, म भुसको थुप्रोमा सियो खोजिरहेको छैन, बरु यो त थुप्रोमा सुक्ष्म चिज खोज्नेजस्तो छ ।’

४ हजार मिटर गहिरो

गोडफ्रेले अनुमान गरेअनुसार सो विमान ४० नटिकल माइलको दायरामा हुन सक्छ । यो पहिला गरिएको खोजी अभियानको दायराभन्दा निकै सानो हो ।

उनी भन्छन्, ‘विमानको भग्नावशेष समुन्द्रमा कुनै खोँचमा होला या त कुनै चट्टान पछाडि हुन सक्छ । विमानको भग्नावशेष समुन्द्रमा चार हजार मिटरको गहिराईमा हुन सक्छ ।’

अहिलेसम्म उक्त विमानका ३० भन्दा बढी टुक्रा अफ्रिका र हिन्द महासागरका द्वीपहरुको तटमा पुगिसकेका छन् । सन् २००९ मा गोडफ्रेले ब्राजिलको रियो डे जेनेरियोदेखि पेरिससम्मको यात्रा गर्नु थियो । तर कामका कारण उनी ब्राजिलमै रोकिए । तर उनी जानुपर्ने उडान आफ्नो गन्तव्यमा पुग्न नसकी एटलान्टिक महासागरमै सीमित भयो । त्यतिबेलादेखि उनी समुन्द्रमा बेपत्ता भएका विमान र तिनलाई खोज्ने काममा रुची राख्न थाले ।

उनी स्वतन्त्र समूह ‘एमएच ३७०’ ग्रुपका संस्थापक सदस्य हुन् । उनी पेसाले इन्जिनियर हुन् र विमानको अटो पाइलट सिस्टमको विकासमा काम पनि गरेका छन् ।

उनी भन्छन्, ‘मैले इन्फरमेसन सिस्टम र डाटालाई सम्हाल्न धेरै काम गरेको छु, यो विश्लेषणमा पनि त्यही कुरा महत्त्वपूर्ण छ । यहाँ डाटा त धेरै नै छ र यो भुसको थुप्रोमा सियो खोज्नुजस्तै नै हो ।’

डेविड ग्लीभ एभिएसन सेफ्टी कन्सल्टेन्टका प्रमुख इन्भेस्टिगेटर हुन् । उनले विमान बेपत्ता हुने र दुर्घटना हुने मामिलामा एक दशक काम गरेका छन् । उनलाई नयाँ खोजी अभियानका लागि पैसा जुटाउन चुनौती हुन सक्ने लागेको छ ।

उनले भने, ‘अब हामीसँग दुर्घटना क्षेत्र कहाँ हुन सक्छ भन्नेबारे अतिरिक्त सटिक डाटा छ । यो अन्य थ्यौरीभन्दा सही र विश्वसनीय छ ।’

कुनै नयाँ खोजी अभियान समुन्द्रको स्थिति र नयाँ विकसित उपकरणको उपलब्धतामा निर्भर हुन्छ ।

ठोस प्रमाण

डेविड ग्लीभ भन्छन्, ‘वास्तविकतामा हेर्ने हो भने त हामीले दक्षिणी सागरमा गर्मीको बेलामा खोजी गर्नुपर्ने हो । अर्थात्, त्यो समय अहिले नै हो । मेरो विचारमा नयाँ खोज सुरु गर्न १२ महिनासम्मको समय लाग्न सक्छ किनकि, त्यति कम समयमा खोजी गर्नुपर्ने ठाउँमा उपकरण पु¥याउन सहज हुँदैन ।’

उनका अनुसार चीनले आफ्नो नागरिकको खोजीका लागि अभियान सुरु गर्न सक्छ । बिमा कम्पनीले पनि खोज गराउन सक्ने उनको भनाइ छ ।

सो उडानमा १२२ चिनियाँ नागरिक सवार थिए । उक्त विमान क्वालालम्पुरबाट बेइजिङका लागि उडेको भए पनि बेइजिङ पुग्न सकेन । सो विमान बेपत्ता भएपछि विमानका बारेमा अनेक थ्यौरी आए । यस्तैमा एक थ्यौरीले उक्त विमान पाइलटले नै अपहरण गरेको हुन सक्ने र थाइल्याण्डबाट खाडीको पश्चिमतर्फ मोडिएपछि राडार बन्द गरिएको हुन सक्ने पनि भनियो ।

अस्ट्रेलियाको ट्रान्सपोर्ट सेफ्टी बोर्डले अक्टोबर २००७ मा पानीभित्र आफ्नो खोज अभियान अन्त्य गरेको थियो । उसले बीबीसीलाई भनेको छ, ‘अब हामी कुनै खोजी अभियानमा सामेल हुने छैनौं । विमान मलेसियामा पञ्जीकृत थियो । विमानको खोजीलाई लिएर कुनै पनि फैसला मलेसिया सरकारले नै गर्नुपर्छ ।’

यसबारे प्रतिक्रियाका लागि मलेसियाली सरकार चीन सरकारसँग सम्पर्क गरिएको छ । ग्रेस नाथन भन्छिन्, ‘यस विमान फेला पर्नु वैश्विक विमान सेवाको सुरक्षाका लागि जरुरी छ ताकि भविष्यमा यस्ता दुर्घटना रोक्न सकियोस् ।’

आफूहरुका लागि पनि यो अध्याय अब समाप्त हुनुपर्ने उनको भनाइ छ ।

बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप