बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पराजयपछि थापा पक्षको समीक्षा बैठक : ‘निर्मल निवास’बाट चलखेल भयो !

आइतबार, १९ मङ्सिर २०७८, १४ : ४९
आइतबार, १९ मङ्सिर २०७८

पार्टी अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देनसँग पराजय भोगेपछि कमल थापा पक्षको बैठक बसेको छ । आइतबार बिहान निर्वाचनको परिणाम आए लगत्तै थापा पक्षको भेला राजधानीको एक पाँच तारे होटलमा भएको हो । करिब २ घण्टा लामो चलेको बैठकमा चुनावी समीक्षाका साथै आगामी रणनीतिका सन्दर्भमा छलफल भएको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिए । ती नेताका अनुसार बैठकमा कमल थापाले निर्मल निवासको चलखेलका कारण अनपेक्षित रूपमा आफूले पराजय भोग्नु परेको सुनाएका थिए । बैठकमा सहभागी अन्य नेताहरूको पनि महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह हाबी हुँदा नतिजा भनेजस्तो नआएको निष्कर्ष रहेको थियो । 

तर, कमल थापा पक्षबाट महामन्त्रीमा निर्वाचित भुवन पाठकले चुनावपछि सामान्य भेटघाटमात्रै भएको दाबी गरे । ‘अनौपचारिक छलफल भएको हो । त्यस्तो उल्लेखनीय केही छलफल भएन’, उनले भने, ‘इमिडियट रियाक्सन दिने केही कुरा पनि भएन ।’

यद्यपि निर्मल निवासले पार्टीको चुनावमा हस्तक्षेप गरेको विषयमा भने सामान्य चर्चा भएको भने पाठकले स्वीकारे । राप्रपाको निर्वाचनमा लिङ्देनसँग हारेसँगै कमल थापाले निर्मल निवासले नाङ्गो हस्तक्षेप भएको टिप्पणी गरेका थिए । ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु’, थापाले भनेका थिए, ‘बधाई ज्ञानेन्द्र शाह, धन्यवाद !’

आफूले राहत र उन्मुक्ति पाएको थापाको भनाइ थियो । ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’, पूर्वराजा ज्ञानेन्द्र शाहप्रति थापाले आक्रोश पोखेका थिए, ‘सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’

​चुनावी परिणामअनुसार थापाले अध्यक्षमा चुनाव हारेपनि निर्वाचित पदाधिकारीमा उनको पक्ष हाबी भएको छ । अध्यक्षसहित पदाधिकारीको ८ पदमा भएको निर्वाचनमा राजेन्द्र लिङ्देन पक्षबाट महामन्त्रीमा धवल शमशेर राणामात्रै विजयी भएका छन् । दुवै पक्षले आफ्नो प्यानलमा राखेका विक्रम पाण्डे कता खुल्छन् भन्ने टुङ्गो लागिसकेको छैन । पाण्डे लिङ्देनकै पक्षमा लागे भने पनि पदाधिकारीमा कलम थापा पक्षको बहुमत पुग्छ ।

पदाधिकारीमा थापा पक्षबाट उपाध्यक्षमा ध्रुवबहादुर प्रधान र बुद्धिमान तामाङले जितेका छन् । महिला उपाध्यक्षमा कमल थापा समूहकै रोशन कार्की विजयी भएका छन् । उपाध्यक्षमा लिङ्देन पक्षका दिलविकास राजभण्डारी, रामचन्द्र राय र दुर्गा श्रेष्ठ तीनै जना पराजित भए । महामन्त्रीमा महिलातर्फ लिङ्देन पक्षकी अभिनेत्री रेखा पराजित भइन् । उनी महिला कोटामा महामन्त्रीको उम्मेदवार थिइन् । उनलाई हराउँदै थापा पक्षकी कुन्ती शाही महामन्त्रीमा विजयी भइन् भने खुल्लातर्फका दुई महामन्त्रीमध्ये थापा पक्षका भुवन पाठक र लिङ्देन पक्षका धवलशमशेर राणाले जिते । महामन्त्रीमा लिङ्देन पक्षका श्याम तिमल्सिना पनि पराजित बने भने कमल थापा पक्षका भास्कर पनि पराजित भए । थापा नेतृत्वमा नरहेसँगै अब राप्रपामा उनको भूमिका के हुन्छ भन्ने चासो पनि उत्तिकै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप