बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : गण्डकी प्रदेशमा पौडेल पक्षको बर्चस्व

आइतबार, १९ मङ्सिर २०७८, १४ : ४४
आइतबार, १९ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट उम्मेदवार बनेका शर्मा ८४ मतान्तरले विजयी भएका हुन । गण्डकी प्रदेशमा संस्थापन पक्षले एक उपसभापति मात्र हात पार्दा सभापतिसहित अन्य पदाधिकारीमा पौडेलले पक्षले विजय हासिल गरेको छ ।

सभापति पदमा संस्थापनका अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याउँदा शर्मा ६१२ मत ल्याउँदै विजयी भएका हुन् । संस्थापन पक्षले एकल उमेदवारका रुपमा केन्द्रीय सदस्यसमेत रहेका जोशीलाई उभ्याएर चुनाव प्रचार थालिसक्दा पनि पौडेल पक्षले उम्मेदवारको टुंगो लगाउन सकेको थिएन ।

आकांक्षी धेरै भएकाले अलमलमा परेको पौडेल पक्षले अन्तिम समयमा आएर निकै रस्साकस्सीका बीच शर्मालाई अगाडि सारेको थियो ।

प्रदेश सभापतिमा विजयी शर्माले १७ वर्षसम्म कास्की काँग्रेसको नेतृत्व गरेका थिए । २०४८ देखि ०५४ सालसम्म कास्की सभापति भएका शर्माले कास्कीबाट ३ पटक सांसदको टिकट पाए पनि तीनै पटक पराजित भएका थिए ।

पौडेल समूहका भए पनि कास्कीमा आफ्नै गुट चलाएको आरोप खेप्दै आएका शर्मा २०४८ र २०५१ सालमा कास्की क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । त्यसैगरी २०७४ सालको निर्वाचनमा पनि उनी वाम गठबन्धनका उम्मेदवार जगत विश्वकर्मासँग पराजित भए ।

संसदीय निर्वाचनमा पटकपटक पराजित शर्माले पार्टीको प्रदेश नेतृत्वका लागि भने मौका पाएका छन् ।

प्रदेशका जिल्लामा पौडेलको साख गिर्दो

गण्डकी प्रदेश काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेश पनि हो । लामो समयदेखि केन्द्रीय राजनीतिमा प्रभाव जमाएका नेताको प्रदेश भएका हिसाबले पनि गण्डकीलाई पौडेल पक्षको वर्चश्व भएको प्रदेश मानिन्छ । तर, पछिल्लो समय प्रदेशमा पौडेलको प्रभाव क्रमशः घट्दै गएको छ । यस अघि उनको राम्रो प्रभाब रहेका अधिकांश जिल्लामा संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् ।

पौडेल आफ्नै गृह जिल्ला तनहुँमा समेत कमजोर देखिएका छन् । उनको प्रभाव क्षेत्रका रुपमा रहेको तनहुँमा संस्थापन समूहका जितप्रकाश आले विजयी भए । पौडेलले समर्थन गरेका बैकुन्ठ न्यौपानेलाई पराजित गर्दै आले जिल्ला सभापति बन्न सफल भए ।

कांग्रेसको १३ औं महाधिबेशनमा जिल्ला सभापतिमा निर्वाचित भएका न्यौपाने स्थानीय निकायको निर्वाचनमा ब्यास नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि पौडेलकै सल्लाहमा कार्यवाहक सभापति बनाइएका आले १४ औं महाधिवेशनको संघारमा संस्थापन समूहतर्फ लागेर जिल्ला सभापति बनेका छन् ।

यसअघि पौडेल पक्षको प्रभाव रहेका कास्की, लमजुङ, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी लगायतका जिल्लामा समेत संस्थापन पक्ष विजयी भएको छ । लामो समयदेखि आफ्नो दवदवा रहेका जिल्लामा संस्थापन पक्षको प्रभाब बढेसँगै सशंकित बनेको पौडेल पक्षले पाँचजना आकांक्षीबीच भागबन्डामा सहमति गराएर शर्मालाई उम्मेदवार बनाएको थियो ।

प्रदेश समितिमा पौडेल पक्ष हाबी

गण्डकी प्रदेश समितिमा पौडेल पक्षले एक उपसभापति बाहेक सबै पदमा जित हासिल गरेको छ । संस्थापन पक्षका तर्फबाट गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रीसमेत रहेका मेखलाल श्रेष्ठ उपसभापतिमा विजयी भएका छन् । मेखलालले ५५६ मत पाए । उनका प्रतिद्वन्द्वी बागलुङका हरिप्रसाद श्रेष्ठले ५४८ मतमा चित्त बुझाए ।

अर्को उपसभापतिमा स्याङजाकी कल्पना तिवारीले ६२४ मत ल्याएर विजयी भइन् । उनी पौडेल पक्षकी हुन् । प्रदेशका प्रभावशाली नेता कुमार खड्का महामन्त्रीमा पराजित भएका छन् । गण्डकी सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री समेत रहेका खड्कालाई पौडेल पक्षका विष्णुप्रसाद लामिछानेले पराजित गरेका हुन् ।

खड्का संस्थापन पक्षको प्यानलबाट महामन्त्रीका प्रत्यासी थिए । उनले ५५६ मत पाएका थिए । महामन्त्रीमा विजयी विष्णुप्रसाद लामिछानेले ५६७ मत प्राप्त गरे । २ महासचिवमध्ये किरणबाबु श्रेष्ठले ५७३ मतका साथ विजयी भए ।

सहमहामन्त्रीमा महिलातर्फ कास्कीकी कोपिला रानाभाट ५५२ मतसहित विजयी भइन् भने बाँकी दुई सहमहामन्त्रीमा लमजुङका रमेशकुमार पाण्डे र पर्वतका रामचन्द्र जोशी विजयी भए । पाण्डेले ६१८ र जोशीले ५६९ मत प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप