शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस महोत्तरी – ३ को निर्वाचन बदर, प्रमाणपत्र रद्द

मतदान अधिकृतलाई अपहरण गरी हस्ताक्षर गर्न लगाइयो
आइतबार, १९ मङ्सिर २०७८, १४ : ४०
आइतबार, १९ मङ्सिर २०७८

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनमा वितरण गरिएका सम्पूर्ण प्रमाणपत्र रद्द गरिएको छ। क्षेत्रीय कार्यसमितिका साथै महाधिवेशन प्रतिनिधिहरूलाई अवैधानिक तरिकाले प्रमाणपत्र वितरण गरिएको भन्दै समितिले वितरण भएका प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले यसअघि वितरण गरिएको सबै प्रमाणपत्रहरूलाई रद्द गरी क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन तत्काल गर्न निर्देशन दिइएको जानकारी दिए।

जिल्ला निर्वाचन अधिकृत इन्द्रबहादुर अधिकारीले समितिमा प्रस्तुत गरेको प्रतिवेदनलाई मध्यनजर गरी महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई वितरण गरिएको प्रमाणपत्र रद्द गरिएको उनले बताए।

‘निर्वाचन अधिकृत इन्द्रबहादुर अधिकारीबाट समितिमा प्रस्तुत प्रतिवेदनलाई मध्यनजर गरी निर्णयतर्फ विचार गर्दा महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमिति र सो क्षेत्रबाट निर्वाचित हुने केन्द्रीय महाधिवेशन प्रतिनिधि साथै महासमिति सदस्यको निर्वाचन भएको नदेखिएकोले सो क्षेत्रका क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन तत्काल गर्ने र उक्त पदहरूका अवैधानिक रूपमा वितरण गरिएका सम्पूर्ण प्रमाणपत्रहरू रद्द गरिएको छ,’ सचिव श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

क्षेत्र नम्बर ३ मा निर्वाचन गराउन खटिएका मतदान अधिकृत धिरेन्द्र मण्डलले आफूलाई अपहरण गरी जबरजस्ती प्रमाणपत्रमा हस्ताक्षर गराउन लगाइएको भन्दै मान्यता नदिन जिल्ला निर्वाचन समितिसँग आग्रह गरेका थिए। प्रक्रिया नै पूरा नगरी मतदान अधिकृतलाई बन्धक बनाइ जबरजस्ती प्रमाणपत्र बाँडिएको भन्दै क्षेत्र नम्बर ३ का अधिकांश काँग्रेस कार्यकर्ताले अधिवेशन नमान्ने बताएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप