बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिको कस्तो छ अवस्था ?

आइतबार, १९ मङ्सिर २०७८, १३ : १८
आइतबार, १९ मङ्सिर २०७८

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले यसपटक सभापतिमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरिसकेका छन् । मङ्सिर २४–२७ गतेसम्म हुने महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका उपसभापति निधिको चर्चा मधेसमा सबैभन्दा बढी भइरहेको छ ।

२०७४ को प्रतिनिधिसभा चुनावमा धनुषा–३ बाट पराजित निधि यसपटक पार्टीकै सभापतिमा नै उम्मेदवारी घोषणा गर्नुले मधेसमा काँग्रेसको राजनीतिलाई तताएको छ । शेरबहादुर देउवाले पुन: सभापतिमा दोहोरिन चाहेपछि उपभापति निधिले विद्रोह गरेका हुन् । योसँगै संस्थापन पक्षका मधेसका नेता कार्यकर्ता दुई (देउवा–निधि) गुटमा बाँडिएका छन् ।

संस्थापन पक्षका मधेसका केन्द्रीय नेताहरू देउवाको पक्षमा उभिएको अवस्था छ । सभापतिमा देउवा निधि आमने–सामने हुने अवस्थामा निधिलाई कसरी मत दिनेमा मधेसका नेताहरू अन्योलमा छन् । काँग्रेसभित्र मधेसमा आफ्नो जनाधार ठान्ने निधिसँग संस्थापन पक्षका नेता कार्यकर्ता खुलेर लाग्न सकेको अवस्था अहिलेसम्म छैन । संस्थापन पक्षकै नेताहरू निधिको पक्षमा खुल्न नचाहेपछि काँग्रेस संस्थापन इतर पक्षका नेताको पनि निधिप्रति झुकाव देखिएको छैन ।

लामो समय देउवा गुटको नेताको पहिचान बनाएका निधिलाई मधेसको साझा नेता बन्न  कठिन छ ।  अझ देउवा पुनः  सभापति बन्न मैदानमा उत्रिएपछि मधेसमै निधिको पक्षमा माहौला बन्न गाह्रो देखिएको छ । मधेसमा उनको पक्षमा खुलेर लाग्ने, बोल्ने नेता तथा कार्यकर्ता निकै कम छन् । प्रदेश २ का ८ जिल्लामध्ये धनुषा र पर्साका वर्तमान सभापति मात्र उनको पक्षमा खुलेर लागेका छन् । अरू पौडेल पक्ष वा देउवा पक्षका लागि माहौल बनाइ रहेका छन् ।

मधेसबाट केन्द्रमा प्रतिनिधित्व गर्ने रमेश रिजाल, चित्रलेखा यादव, आनन्द ढुंगाना, फरमुल्लाह मन्सुर, अजयकुमार चौरासिय, महेन्द्र यादव,  जंगीलाल रायले पनि निधिलाई साथ नदिएको अवस्था छ । पछिल्लो समय निधिका पक्षमा लबिङ गरिरहेका मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेसका प्रभावशाली नेता प्रदीप गिरी बिरामी भएर भारतमा उपचाररत छन् ।

यता संस्थापन इतर पक्षका नेता रामकृष्ण यादव र किरण यादवमा छन् भने खानेपानी मन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरी कृष्णप्रसाद सिटौलाको साथमा छन् । वर्तमान केन्द्रीय कार्यसमितिमा निधि एक्लो जस्तै छन् । ८ सयभन्दा बढी केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेको प्रदेश २ नै उनको पक्षमा कति महाधिवेशन प्रतिनिधि उभिन्छन् भन्न कठिन छ । मधेसबाट कत्तिमा ३० सय महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा उभिने निधिको बुझाइ छ । काँग्रेस नेताहरूका अनुसार उनको उम्मेदवारी घोषणा र मधेसको महौल हेर्दा त्यो सङ्केत देखिएको छैन । पूर्व उपप्रधानमन्त्री तथा पार्टीको उपसभापति निधिले जिम्मेवारी अनुसार आफ्नो उपस्थिति विस्तार गरेको देखिएको छैन । प्रदेश दुई मात्र होइन भन्ने प्रदेशमा पनि निधि भनेर कार्यकर्ता खुलेर आउन सकेको देखिँदैन ।

काँग्रेसका केन्द्रीय सदस्य जंगीलाल राय (सर्लाही) ले निधिले प्यानल घोषणा नगरेसम्म मधेसमा माहौल नबन्ने बताए । ‘काँग्रेसमा लामो समय राजनीतिक गरेका निधिका मान्छे पार्टीमा नभएको होइन । तर अहिले नै उहाँको पक्षमा कोही खुल्न चाहनु भएको छैन । बरु देउवा पक्ष र पौडेल पक्षमा नेता खुलेर आइरहेका छन् । निधिको पक्षमा कोही खुलेका छैनन्,’ उनले भने ।

देउवा समूहमा विद्रोह गरेका कारण निधिको पक्षमा कार्यकर्ता खुल्न कठिन भएको रायको बुझाइ छ । उनले भने, ‘निधिको पक्षमा नेताहरू नखुल्नुको मुख्य कारण उनी एउटा देउवा पक्षमा लामो समय रहनु भयो, र अहिले सोही समुहबाट छुट्टै उम्मेदवारी घोषणा गरेको कारण समस्या भएको हो ।’

काँग्रेसको संस्थापन इतर पक्षका नेता डा.सुवास यादव (सिराहा) ले रायको जस्तै धारणा राखे । ‘उहाँले काँग्रेस पार्टीमा लामो समय काम गरेका भएको छ । पटक पटक मन्त्री हुन भएको छ,’ यादवले भने, ‘केही नकेही मान्छे उहाँले पक्कै बनाएका होलान्  । तर अहिलेसम्म ती व्यक्तिहरु पनि खुलेर सामुने आउन सक्नुभएको छैन ।’

निधि पक्षमा माहौल बनाउने अभाव देखिएको उनले बताए । ‘मतदानको दिन गोप्य मतदान हुन्छ । ककसले मत हाल्छ, त्यो दिनको कुरा हो । तर अहिले उहाँ पक्षमा बोल्ने, माहौल बनाउने नेता चाहिन्छ । त्यसको अभाव देखियो । त्यसैले उहाँको पक्षमा मधेसमै माहौल भन्न सकेको छैन,’ यादवले रातोपाटीलाई भने ।

यद्यपी अहिले नै सबै निष्कर्षमा पुग्न नसकिने भन्दै महाधिवेशन प्रतिनिधि चयन भइसकेपछि मात्र एउटा माहौल तयार हुने उनको बुझाइ छ ।  

‘प्रदेश २ मा आठ सय भन्दा बढी भोटर छन्, ती सबै पहिलादेखि नै एउटा न एउटा पक्षमा लागि सकेका छन् । त्यसलाई निधिजीले कति प्रभावित पार्न सक्छन् त्यसमा भर पर्छ ,’ उनले भने ।

उनका अनुसार प्रदेश २ मा निधि पनि प्रभावशाली नेता हुन् । पार्टीको टिकट वितरण देखि लिएर स्थानीय चुनाव, प्रदेश चुनाव र सरकार गठनसम्ममा निधि हामी छन् । नेता यादवले चुनावमा निधिले त्यसको कस्तो प्रभाव देखाउलान् त्यो हेर्न बाँकी रहेको बताए ।

सप्तरी

सप्तरीका वर्तमान सभापति दिनेश यादवले निधिले सभापतिमा जित्ने आधार सुनिश्चित नरहेको बताए । ‘निधिजी पार्टीको वरिष्ठ नेता हुनुहुन्छ । उहाँको केही न केही मत अवश्य ल्याउँछन् । तर अरू नेताको जस्तो उहाँको सुनिश्चित छैन,’ उनले भने । निधिले प्रदेश दुईमा सं)गठन भन्दा पनि व्यक्तिगत मत ल्याउन सक्ने यादवको बुझाइ छ । ‘उहाँले जति पनि मत पाउँछन् व्यक्तिगत सम्बन्धले मात्र पाउँछन् । चाहे मधेस होस् वा पहाडको उनको व्यक्तिगत सम्बन्धले मात्र मत आउँछ,’ उनले भने । निधिको निश्चित मतदाता निकै कम रहेकाले उनको बारेमा त्यतिकै केही भन्न नमिल्ने  यादवले बताए ।

महाधिवेशन प्रतिनिधिको नामावली तयार भएपछि मात्र केही आँकलन गर्न सकिने उनको भनाइ छ । अहिलेसम्म जिल्लामा निधिको पक्षमा कोही पनि खुलेर नलागेको बताए । सप्तरीमा १०१ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका छन् ।

सिराहा

सिराहा जिल्लाका काँग्रेस सभापति रामचन्द्र यादव पनि महाधिवेशन प्रतिनिधि चयन नभएसम्म निधिको पक्षमा कस्तो माहौल छ भनी खुलाउन नसकिने बताए । हालसम्म निधिको पक्षमा बोलेको वा सो पक्षमा रहेको कुनै मान्छे आफूले सिराहामा नभेटाएको उनको दाबी छ ।

‘प्रतिनिधि चयन भइसकेपछि कोही कोही खुल्न सक्ला तर अहिले पौडेल पक्ष र देउवा पक्ष मात्र जताततै देखिएको छ । सिराहा जिल्लाको काँग्रेसमा ७० प्रतिशत संस्थापन (देउवा) पक्ष छ । त्यसमा निधिको स्थान कहाँ छ, त्यो बुझ्न गाह्रो छ,’ उनले भने ।

अन्तिम समयमा उनी देउवा पक्षमा रहेर काम गर्ने कार्यकर्ताको बुझाइ रहेको उनले बताए । देउवा आफैँ सभापतिको उम्मेदवार भएकाले निधिलाई समस्या भएको यादवले बताए । उनले भने, ‘तैपनि हेरौँ के हुन्छ ।’ सिराहामा १०३ जना प्रतिनिधि रहेका छन् ।  

धनुषा

निधिको गृह जिल्ला धनुषा काँग्रेसका सभापति महेशकुमार गिरी उनको पक्षमा खुलेर लागेका छन् । सभापति गिरीले भने, ‘धनुषावासीले निधिलाई स्वागत गरिसकेका छन्, मधेसमा निधिजीको माहौल राम्रो रहेको छ ।’

निधि मधेसका साझा उम्मेदवार रहेका कारण उनलाई मधेस सभापतिमा जिताउन तयारी अवस्थामा रहेको गिरीको दाबी छ । ‘देशभर पनि निधिको अवस्था राम्रै छ तर मधेसमा उहाँको एकछत्र रहन्छ । यसका कुनै शङ्का छैन,’ उनले भने, ‘नेपाली काँग्रेसमा उहाँको लामो इतिहास छ, राम्रो राम्रो काम गर्नुभएको छ ।’

पार्टीलाई कसरी अगाडि बढाउने आफ्नै योजना रहेकाले यसपालि निधिको विकल्प नरहेको उनले बताए । धनुषामा १०३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

महोत्तरी

महोत्तरी जिल्लाका काँग्रेस सभापति महेन्द्रकुमार यादवले उम्मेदवारी घोषणा गरेर चर्चा भए पनि उनको पक्षमा माहौल भने बन्न नसकेको बताए । उनले भने, ‘विमलेन्द्र निधिज्यूले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ, त्यसले गर्दा उहाँको चर्चा हुनु स्वाभाविक हो तर अहिले नै उहाँको पक्षमा माहौल बनेको छैन ।’ 

पार्टीका निधि पनि सिनियर नेता भएका कारणले केही मत आए पनि मधेसी अनुहारका रूपमा  सारा मधेस उनकै पक्षमा लाग्ने माहौल नरहेको उनले बताए ।

‘मुख्य कुरा उहाँको पक्षमा को को छन् ? तिनीहरू अहिले खुलेका छैनन् ? नेता कार्यकर्ता पौडेल पक्ष कि देउवा पक्षका लागि मात्र खुलेर बाहिर आइरहेका छन् । यो उहाँको लागि कमजोर पक्ष हो,’ उनले भने, ‘अधिवेशनहरू हुँदैछन्, एकखालको माहौल देखिनुपर्ने हो तर त्यस्तो देखिएका छैन ।’ उनले निधिलाई सभापतिमा चुनाव जित्न शुभकामना दिए । महोत्तरीमा १०२ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

सर्लाही

मधेसमा देउवा र निधिका एउटै भोटर रहेको भन्दै कार्यकर्ताले कसलाई मत दिन्छन् भन्न नसकिने सर्लाही जिल्ला सभापति  नागेन्द्रकुमार रायले बताए ।

‘देउवाजी अहिले प्रधानमन्त्री हुनुहुन्छ, गृह मन्त्रालयदेखि अन्य मन्त्रालय पनि उहाँकै गुटका छन्, त्यसले अवश्य फरक पर्न सक्छ, निधिजी अहिले सरकारमा हुनुहुन्न । त्यही भएर चुनावमा उहाँले कति मत तान्न सक्नुहुन्छ त्यो उहाँको क्षमतामा भर पर्ने कुरा हो,’ उनले भने ।

निधि पनि पार्टीका शक्तिशाली नेता भएको भन्दै महाधिवेशनमा उनको शक्ति कति छ भनेर देखिने बताए । ‘निधि पनि पार्टीका शक्तिशाली नेता नै हुनुहुन्छ, उहाँको पनि पार्टीमा प्रभाव छ, मधेसमा पनि उहाँको प्रभाव छ, त्यसले उहाँ कति मत तान्न सक्नुहुन्छ त्यो उहाँको शक्तिमा भर पर्छ । महाधिवेशनमा उहाँको शक्ति कति हो देखिन्छ ।’

तर अहिले जिल्लाहरूका निधिको पक्षमा खासै मान्छेहरू नखुलिरहेका उनको भनाइ छ । महोत्तरीमा १०२ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

रौतहट

सय जना महाधिवेशन प्रतिनिधि रहेको रौतहटमा पनि निधिको माहौल छैन । सभापति कृष्णप्रसाद यादवले भने, ‘पार्टीमा महाधिवेशन लागि सकेको छ । नेताहरू समूह समूहमा बाँडिएका छन् । सोही हिसाबले अधिवेशन पनि भइरहेका छन् । हालसम्म निधिको पक्षमा कोही खुलेका छैनन् ।’

फाटफुट कतैकतै निधिका मान्छे देखिए पनि समग्र एउटा माहौल बनाउने खालको अवस्था नदेखिएको उनले बताए ।

‘निधिले प्रधानमन्त्री देउवाको लाइनमा बसेर काम गर्नुभयो, उहाँको आफ्नो कुनै लाइन छैन, त्यही भएर धेरैलाई गाह्रो भएको छ । अहिलेसम्म प्यानल पनि बनेको छैन,’ उनले भने, ‘प्यानल घोषणा गरेपछि केही माहौल बन्छ कि भनी सम्भावना छ तर अहिले त्यस्तो केही छैन ।’

निधिले देउवा पक्ष र पौडेलको पक्षबाट कति मत तान्न सक्छन् त्यो उनको क्षमतामा भर पर्ने कुरा भएको यादवले बताए ।

निधिले अझै धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सभापति यादवले भने, ‘आदरणीय निधिलाई शुभकामना छ । सभापतिमा चुनाव जितेर आउन् ।’

बारा

बारा जिल्ला सभापति जयचन्द चौरसियाले पार्टीमा गुटबाजी तीव्र भएको कारणले उपसभापति निधिले कसरी बाजी मार्छन् त्यो उनको क्षमतामा भर पर्ने बताए ।

‘दुईटा गुट पहिलादेखि नै पार्टीमा प्रतिस्पर्धा गरिरहेका छन्, उहाँ पनि एउटा गुटमै रहेर नेता बन्नु भएको हो,’ उनले भने, ‘आज सोही गुटबाट उहाँ सभापतिमा उठ्नु भएको छ । त्यहाँ सभापति शेरबहादुर देउवा पनि उठ्नुहुने छ । त्यसैले उहाँलाई गाह्रो हुने देखिएको छ ।’

सबै मतदाता चयन गरिसकेपछि मात्र कसको पक्षमा माहौल बन्छ भन्न सकिने चौरासियाले बताए । ‘निधि मधेसी भएकै कारणले सबै मधेसीले उहाँलाई मत दिन्छन् भने होइन, उहाँले आफ्नो क्षमताले कति मत तान्ने हो त्यसमा भरपर्नेर्छ,’ चौरसियाले भने । बारामा १०४ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

पर्सा

पर्सा काँग्रेस सभापति अजय द्वीवेदीले निधिको पक्षमा अहिले नै कस्तो अवस्था भनेर त्यतिकै भन्न नसकिने उनले बताए । उनले भने, ‘मधेसमा निधिप्रति राम्रै सेन्टीमेन्ट रहेको छ, मधेसमा उहाँको मत राम्रो रहने हामीले अनुमान गरेका छौँ ।’

मधेसमा देउवा र पौडेलका नाममा बनेका पाटीका दुईटा गुटको असर निधिमा पर्ने उनको बुझाइ छ । ‘ पार्टीका दुई गुटको असर पक्कै केही न केही हुने देखिन्छ  । तर, निधिलाई दुवै गुट तथा स्वतन्त्र महाधिवेशन प्रतिनिधिबाट मत आउने छ,’ उनले भने ।

काँग्रेसमा निधिको ठुलो योगदान रहेको भन्दै एक पटक चान्स पाउनेमा आफू आशावादी रहेको रातोपाटीलाई बताए । ‘निधि पार्टीका पुरानो नेता हुनुहुन्छ । पार्टीमा उहाँको पनि ठूलै योगदान छ, त्यही भएर एकपटक उहाँले पनि चान्स पाउनेमा म आशावादी छु,’ उनले भने ।

पर्सा
 
पर्सा काँग्रेस सभापति अजय द्वीवेदीले निधिको पक्षमा अहिले नै कस्तो अवस्था भनेर त्यतिकै भन्न नसकिने उनले बताए । उनले भने, ‘मधेसमा निधिप्रति राम्रै सेन्टीमेन्ट रहेको छ, मधेसमा उहाँको मत राम्रो रहने हामीले अनुमान गरेका छौँ ।’

मधेसमा देउवा र पौडेलका नाममा बनेका पाटीका दुईटा गुटको असर निधिमा पर्ने उनको बुझाइ छ । ‘ पार्टीका दुई गुटको असर पक्कै केही न केही हुने देखिन्छ  । तर, निधिलाई दुवै गुट तथा स्वतन्त्र महाधिवेशन प्रतिनिधिबाट मत आउने छ,’ उनले भने ।

काँग्रेसमा निधिको ठुलो योगदान रहेको भन्दै एक पटक चान्स पाउनेमा आफू आशावादी रहेको रातोपाटीलाई बताए । ‘निधि पार्टीका पुरानो नेता हुनुहुन्छ । पार्टीमा उहाँको पनि ठूलै योगदान छ, त्यही भएर एकपटक उहाँले पनि चान्स पाउनेमा म आशावादी छु,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप