ad
x
राजनीति

राष्ट्रिय सम्मेलन केन्द्रीत प्रचण्डको परिपत्र : १५ सय बराबर १ जना प्रतिनिधि चयन गर्न सर्कुलर

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म आयोजना गरेको राष्ट्रिय सम्मेलनका लागि तयारी तीव्र पारेको छ । मंसिर १६ र १७ गते बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सम्मेलन केन्द्रीत विभिन्न निर्णय गर्दै कार्यान्वयनका लागि सवै प्रदेशलाई १८ बुँदे परिपत्र जारी गरेको छ ।


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्रमा २०७८ मंसिर मसान्तसम्म सबै केन्द्रीय विभागहरुको बैठक बसी राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि चयन गरेर केन्द्रीय कार्यालयमा नामावली (नवीकृत सदस्यता नम्बरसमेत) पठाइसक्न भनिएको छ ।  



त्यस्तै पार्टी केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनको लागि यसअघि १० प्रतिशत मनोनित गर्ने प्रतिनिधिको व्यवस्था परिवर्तन गरेको छ । त्यसलाई  घटाएर ५ प्रतिशत कायम गरेको माओवादी केन्द्रले जनाएको छ । साथै प्रदेशबाट राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरुको बारेमा प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्ने र बाँकी १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय माओवादी केन्द्रको छ ।



त्यसैगरी माओवादी केन्द्रले ८० वटासम्म पालिकाहरु भएका प्रदेशमा प्रदेश समिति १७५ सदस्यीय कायम गर्ने र सो भन्दाबढी पालिकाहरु भएका प्रदेशहरूमा प्रत्येक पालिका र दुवै तहका निर्वाचन क्षेत्र संख्याको आधारमा प्रदेश समितिमा १÷१ जना सदस्य थप गर्ने निर्णय गरेको छ ।



विधान परिमार्जनको जिम्मा गुरुङलाई



माओवादी केन्द्रले विधान परिमार्जन गर्ने भएको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानको आवश्यक परिमार्जन गर्न नेता देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका प्रसाद यादव रहेको समिति गठन गरेको छ । त्यसैगरी राष्ट्रिय सम्मेलनमा समसामयिक प्रस्ताव तयार पार्न गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत,गणेश साह रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।



सम्मेलन व्यवस्थापनको जिम्मा हितमानलाई



माओवादीले राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । जसमा डिलाराम आचार्य, नारायण दाहाल,सत्य पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल मुख्य सचिव केन्द्रीय कार्यालय, रामप्रसाद सापकोटा र जगत सिंखडा सदस्य रहेका छन् । त्यसैगरी प्रवक्ता कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरेको माओवादीले जनाएको छ ।

माओवादीले सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज, अध्यक्ष र सचिव बाहेक सबै केन्द्रीय सदस्यहरु प्रदेश सहइन्चार्ज रहने र जिल्ला इन्चार्ज केन्द्रीय सदस्य नै रहने यस अघिको इन्चार्ज तोकिएका केन्द्रीय प्रतिनिधिहरु जिल्ला सहइन्चार्ज रहने निर्णय गरेको छ । प्रत्येक

एकजना घाइते अपाङ्ग अनिवार्य

प्रदेशले कम्तिमा १ जना घाइते÷अपाङ्ग कमरेडहरुलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि अनिवार्य चयन गर्नुपर्ने निर्णय पनि माओवादीले गरेको छ । प्रत्येक प्रदेशले २०७८ मंसिर २३ गतेभित्र प्रदेश सम्मेलनका प्रतिनिधिहरुको नामावली प्रदेश निर्वाचन समितिलाई अनिवार्य बुझाउनुपर्ने माओवादीको सर्कुलरमा उल्लेख छ ।

सरकार र पार्टीको कामलाई व्यवस्थित गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा हरिबोल गजुरेल सचिव रहने गरी देव गुरुङ, लीलामणि पोख्रेल र ५ जना मन्त्रीज्यू सम्मिलित एक समिति गठन गरेको पनि सर्कुलरमा उल्लेख छ ।

लेवी र नवीकरण शुल्क अनिवार्य दाखिला गर्न निर्देशन

माओवादीले केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने लेवी, सदस्यता नवीकरण शुल्क र राष्ट्रिय सम्मेलनका लागि निर्वाचित प्रतिनिधिहरुको नामावली (पार्टी सदस्यता नम्बर समेत उल्लेख गरी) मंसिर २९ गतेसम्म अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा पठाई सक्न पनि निर्देशन दिएको छ । सो पार्टीले राष्ट्रिय सम्मेलनमा सहभागी हुने आयोजक एवम् प्रतिनिधिहरुलाई प्रतिनिधि शुल्क दुई हजार रुपैयाँ प्रतिव्यक्ति तोकेको छ । साथै सम्मेलनमा सहभागी हुने सबै प्रतिनिधिहरुले खाने, बस्ने लगायतका खर्चको व्यवस्थापन आफैं गर्नु पर्ने अग्रिम जानकारी पनि गराएको छ । आ–आफ्ना प्रतिनिधिहरुको सम्पूर्ण व्यवस्थापनको जिम्मा सम्बन्धित प्रदेशले गर्नुपर्ने प्रचण्डले जारी गरेको सर्कुलरमा भनिएको छ । नयाँ जोश, जाँगर र दृढताका साथ पार्टी पुनर्निर्माणको महान् अभियानमा जुटिरहेको दावी गरेको सो पार्टीले राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गर्दै नयाँ विचार र राजनीतिक कार्यदिशासहितको क्रान्तिकारी पार्टी निर्माण गर्ने अठोट लिएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X