शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन प्रदेशको नतिजा आउँदा देउवा पक्षमा उत्साह, बागमतीमा फेरि चुनाव

प्रदेश २ को चुनाव अनिश्चित, प्रदेश १ र लुम्बिनीमा मतगणना जारी
आइतबार, १९ मङ्सिर २०७८, १२ : १८
आइतबार, १९ मङ्सिर २०७८

नेपाली काँग्रेसको मङ्सिर १७ देखि जारी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आउन थालेको छ । अहिलेसम्म ३ प्रदेशको नतिजा आउँदा शेरबहादुर देउवा पक्षको दुई ठाउँमा नेतृत्व आएको छ भने पौडेल पक्ष एक ठाउँमा विजयी भएको छ ।

गण्डकी प्रदेशमा पौडेल पक्षका उम्मेदवार विजयी भएका हुन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा देउवा पक्षका उम्मेदवार विजयी भएका हुन् । यस्तै प्रदेश १ र लुम्बिनी प्रदेशमा मतगणना जारी रहेको छ भने प्रदेश २ मा विवादका कारण निर्वाचन नै हुन सकेको छैन । यता बागमती प्रदेशमा भने आइतबार बिहान मत परिणाम आए पनि कसैको पक्षमा बहुमत नआएपछि पुनः मतदान हुने भएको छ ।

सुदूरपश्चिममा देउवा पक्षका बलायर विजयी

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा देउवा पक्षका वीरबहादुर बलायरको विजयी भएका छन् । यसैगरी उपसभापतिमामा पनि देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका कुमारी चलाउने विजयी भएका छन् । सुदूरपश्चिम प्रदेशमा देउवा पक्षले क्लिन स्वीप गरेको हो। 

यसैबीच पराजित उम्मेदवार नारायणदत्त मिश्रले मतदातालाई धन्यवाद दिएका छन् । ‘नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका मतदातालाई हार्दिक धन्यवाद र विजयोन्मुख साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना छ,’  मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, 'आगामी दिनमा सँगै मिलेर काम गरौँला ।’

कर्णालीमा शाही विजयी

कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन् । आइतबार बिहान आएको मत परिणाम अनुसार ललितजंग निकटतम प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गरेका हुन् । ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत प्राप्त गरेका छन् । सभापतिका अर्का प्रत्याशी मोतीराज बमले जम्मा ७ मत ल्याए ।

ललितजंगलाई सभापति शेरबहादुर देउवा र भुपेन्द्रजंगलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको समर्थन थियो ।  बम काँग्रेस उपसभापति विमलेन्द्र निकट हुन् । कर्णाली प्रदेशको बाँकी पदाधिकारीमा पनि संस्थापन पक्षको प्यानलकै जित भएको छ।
 
देउवा पक्षबाट उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्की विजयी भएका छन् भने महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकायाले बाजी मारे । यस्तै सह महामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाँया कुमारी शाही निर्वाचित भएका छन् ।

गण्डकीमा पौडेल पक्ष विजयी

यसै गरी काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा निर्वाचित भएका हुन्। शर्माका निकटतम प्रतिद्वन्द्वी  सभापति शेरबहादुर देउवा समूहका अर्जुन जोशी पराजित भएका छन् ।

१ हजार १४६ मत खसेकोमा शर्माले ६ सय १२ मत आएर काँग्रेसको पहिलो गण्डकी प्रदेश सभापति बन्न सफल भएका हुन् । काँग्रेस केन्द्रीय सदस्य जोशीले ५ सय २८ मत ल्याउँदा शर्मासँग पराजित भएका छन् ।  उपसभापतिमा देउवा पक्षका मेखलाल श्रेष्ठ बाहेक बाँकी पदाधिकारी शर्मा प्यानलकाले जितेका छन्।

पौडेल पक्षबाट उपसभापतिमा कल्पना तिवारी  विजयी भएकी छन् । यस्तै महामन्त्रीमा विष्णु लामिछाने र किरणबाबु श्रेष्ठले बाजी मारेका छन् भने सह महामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाट निर्वाचित भएका छन् ।

प्रदेश १ र लुम्बिनीमा मतगणना जारी

काँग्रेस प्रदेश १ मा भने मतगणना जारी छ । शनिबार भएको मतदानमा प्रदेश १ मा १७५२ मत खसेको थियो  । प्रदेशमा १८०४ मतदाता रहेका थिए । प्रदेश १ मा संस्थापन समूहका उद्धव थापा  र इतर समूहका गुरुराज घिमिरेबीच प्रतिस्पर्धा भएको छ । दुवै समूहले प्यानलसहित निर्वाचनमा होमिएका छन्  । यस्तै लुम्बिनीमा पनि मतगणना जारी छ । जहाँ पौडेल समूहले अग्रता बनाएको छ । पौडेल पक्षका उम्मेदवार अमरसिंह पुनले अग्रता लिएका हुन् । यस्तै देउवा पक्षका उम्मेदवार भरत शाह पछिपछि छन् ।

पुन नेतृत्वको प्यानलबाट उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ र अष्टभुजा पाठक, महामन्त्रीमा बिक्रम खनाल र सुरेन्द्रराज आचार्य, सह महामन्त्रीमा खगराज पाण्डे, विष्णु मुस्कान र निमा गिरी चुनावी मैदानमा छन् ।
 
शाहको प्यानलको उपसभापतिमा राजु खनाल र सुधाकर पाण्डे, महामन्त्रीमा जन्मजय तिमल्सिना र खिमानसिंह रायमाझी तथा सह महामन्त्रीमा लक्ष्मीनारायण शाह, सरिता चौधरी र माया पुन प्रतिस्पर्धामा छन् ।

बागमतीमा पुनः मतदान

बागमतीमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि पुन मतदान हुने भएको छ  । मतदान आजै हुनेछ । पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये इन्द्रबहादुर बानियाँले ४८ प्रतिशत मात्रै मत ल्याएपछि दोस्रो चरणको निर्वाचनबाट सभापतिको छिनोफानो लगाउन थालिएको हो ।

 पहिलो चरणको निर्वाचनमा तेस्रो स्थानमा रहेका भीमसेनदास प्रधानले सबैभन्दा धेरै मत ल्याउने बानियाँलाई समर्थन जनाएका छन् । प्रधानले एक सय ९७ मत ल्याएका थिए । उनी कृष्णप्रसाद सिटौला समूहबाट सभापतिमा उम्मेदवारी दिएका थिए । केन्द्रमा सभापति शेरबहादुर देउवा र सिटौलाबीच गठबन्धन छ ।

दोस्रो स्थानमा मत पाउने संस्थापन इतरका जगदीश्वरनरसिंह केसी र बानियाँबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । यता जिल्ला अधिवेशन नै नसकिएको प्रदेश २ मा भने निर्वाचन प्रक्रिया नै सुरु हुन नसकेको हो । प्रदेश २ मा कहिले चुनाव हुने भन्नेमा टुङ्गो लागिसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप