मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कश्यपको कथा : पण्डितजीको घमन्ड

आइतबार, १९ मङ्सिर २०७८, ११ : ४७
आइतबार, १९ मङ्सिर २०७८

धेरै पहिलेको कुरा हो । कुनै गाउँमा एक जना पण्डितजी बस्थे । उनी त्यतिबेलाका जानेमाने विद्वान् मानिन्थे । व्याकरणशास्त्रमा उनी बराबरका विद्वान् कोही थिएनन् तर जति विद्वान् थिए, त्योभन्दा बढी घमण्डी र अहङ्कारी थिए । शास्त्र भनेको व्याकरण मात्र हो र विद्वान् भनेको आफू मात्र हो भन्ने उनको मान्यता थियो । जहाँ पनि जान्थे र व्याकरण पढेका छौ ? भनेर सोध्थे । अनि पढेको छैन भन्नेलाई तिम्रो आधा उमेर खेर गयो भन्दै अत्याउने गर्थे । 

विद्या भनेको विद्या हो । जुनसुकै भए पनि सबै आ–आफ्नो स्थानमा उत्तिकै महत्वका हुन्छन् । यसमा यो र ऊ भन्ने  हुँदैन । डाक्टरको काम डाक्टरले गर्छ इञ्जिनियरको काम इञ्जिनियरले । कसलाई ठूलो भन्ने कसलाई सानो तर पण्डितजीका निम्ति यी सब बेकार थिए । उनले त व्याकरण पढेको छस् भनेर सोध्ने र छैन भन्नेलाई आधा उमेर खेर गयो भन्दै हायलकायल पार्ने बाहेक केही जानेकै थिएनन् । उनी जसलाई जहाँ भेटे पनि त्यही कुरा भन्थे, त्यसैलाई दो-याउँथे । कतिलाई त दिनकै चार पटक पटक पनि सोध्न पुगिरहेका हुन्थे ।

समय बित्दै गयो । उनको बानी पनि जारी नै रह्यो । जहाँ पनि त्यही, जहिले पनि त्यही । एउटै कुरा सुन्दासुन्दा गाउँलेहरू हत्तू भए । यसैका कारण मानिसहरूमा आफूले पढेको वा जानेको कुरा बेकार रहेछ भन्ने पर्न थाल्यो । बिस्तार बिस्तार त्यसले पूरा गाउँलाई नै जड बनाउने सम्भावना बढ्दै गयो । व्याकरण नपढेर आधा जीवन खेर फालिएछ भन्दै कोही चुकचुकाउँथे कोही टाउकोमा हात राखेर बस्ने गर्थे । कतिपयमा त डिप्रेशनको समेत समस्या देखिन थाल्यो । प्रायः भन्ने गरिन्छ एउटा माछाले खोलो धमिलो पार्न सक्दैन तर यहाँको अवस्था भने त्यसको पनि विपरीत थियो ।

बिस्तारै यो कुरा देशको राजाको कानसम्म पनि पुग्यो । राजालाई सुरूमा विश्वासै लागेन । एउटा व्यक्तिले कसरी पूरा गाउँ बिगार्न सक्छ भन्ने उनको सोच थियो तर लगातार त्यही कुरा सुनेपछि उनलाई पनि शङ्का लाग्यो र परीक्षण गर्न आफैँ तीब्रगामी घोडामा चडेर आए । पण्डितजी भने त्यतिबेला पनि गाउँलेहरूलाई त्यही प्रश्न सोधिरहेका थिए । राजालाई देखेपछि उनलाई पनि सोही प्रश्न तेस्र्याउँदै भने–

‘महाशय ! हेर्दा खानदानी देखिनुहुन्छ, पक्कै व्याकरण पढ्नुभएको होला होइन ?’

‘राजाले नबुझेजस्तौ गर्दै भने–

‘के भन्नुभयो ?’

‘व्याकरण पढ्नुभएको छ कि छैन भनेको नि ।’

‘त्यो भनेको के हो ?’

‘हरे त्यति पनि थाहा छैन ? व्याकरणशास्त्र क्या ? जो विना जीवन अधुरो हुन्छ ।’

‘हो र ?’

‘हो तनि पढ्नुपर्ने शास्त्र भनेकै यही त हो ।’

‘माफ गर्नुहोला पण्डितजी ! मैले त नामै सुनेकै अहिले हो ।’

‘त्यसो भए तपाईँको पनि आधा उमेर खेर गएछ ।’

‘ए हो र ?’ भन्दै राजा दरवार फर्के । अब उनलाई पनि घमन्डी पण्डितले गाउँ नै बिगार्न लागेकामा द्विविधा रहेन । उनले दरवार फर्कने बित्तिकै पण्डितलाई बोलाएर गुरुपुरोहितद्वारा सम्झाउन लगाए तर नानीदेखि लागेको बानी कहाँ छुट्थ्यो र । पण्डितजीको बानीमा कुनै सुधार देखिएन । 

त्यसपछि राजाले देशका चतुर विद्वान् चतुर्भुज शर्मा (चतुरे) लाई बोलाएर पण्डितजीको आँखा खोल्ने आदेश दिए । चतुरेका निम्ति यो काम वाया हातको खेल थियो । विगतमा यस्ता कतिलाई सुधारेका थिए कति । राजाको आज्ञ सुनेपछि केही समय धैर्य गर्न आग्रह गर्दै उनी आफ्नो बाटो लागे ।

समय बित्दै गयो । एक दिन पण्डितजी यजमानी गर्न पल्लो गाउँ जान भनी हिँडे । बीचमा ठूलै नदी तर्नुपर्थ्यो । त्यतिबेला पुलको व्यवस्था थिएन । नदी वारपार गर्ने साधन भनेको एकमात्र डुङ्गा थियो । पण्डितजी डुङ्गामा बसे माझी डुङ्गा खियाउन लागे । पण्डितजीले आफ्नो बानी अनुसार माझीलाई पनि सोधे–

‘माझी दाइ !

‘हजुर, पण्डितजी !’

‘व्याकरणशास्त्र पढ्नुभएको छ ?’

‘छैन हजुर ! माझीको छोरा कहाँबाट पढ्नु । बाउबाजेको बिँडो थाम्नुभन्छन् । बच्चैदेखि  यही डुङ्गा खियाउँदै छु ।’

‘लौ बरवाद ।’

‘किन र हजुर !’

‘किन भन्ने नि, तपाईँले आधा जीवन त्यत्तिकै खेर फाल्नुभएछ ।’

माझी बोलेनन् । चुपचाप डुङ्गा खियाउँदै नदीको बीचतिर पुगेपछि सोधे–

‘पण्डित जी !’

‘भन्नुस्  माझी दाइ !’

‘पौडी खेल्न जान्नुभएको छ ?’

‘नाथे पौडिखेल्ने काम पनि कसले सिकोस् ।’

‘त्यसो भए तपाईँको पूरा जीवन खेर जाने भयो ।’

‘किन र ? उनको कुरालाई हल्कारूपमा लिँदै पण्डितजीले भने–

‘असम्भव । व्याकरणशास्त्री हुँ बुझ्यौ ?’

‘त्यो त बुझेँ ।’ केही अनकनाएजस्तो गर्दै माझीले भने–

‘आँधी तूफान आउन लाग्यो कुनै पनि बेला डुङ्गा पल्टिन सक्छ ।’

यति भनेर माझी नदीमा फाल हालेर पौडिन लागे । विचरा पण्डितजी कालोनीलो हुँदै  बचाउ बचाउ भन्न लागे । पण्डितजीको छटपटी देखेपछि माझीले नडराउनुस् पण्डितजी ! मेरो आधा जीवन खेर गए पनि तपाईँको पूरा जीवन बित्न दिन्न भन्दै उद्धार गरे । 

बल्ल पण्डितजीको आँखा खुल्यो । उनले माझीसित क्षमा माग्दै भने–

‘माझी दाइ ! तपाईँलाई धन्यवाद । ज्ञान भन्ने कुरा ठूलो सानो हुँदोरहेनछ । आज मलाई उद्धार गरेर ठूलो गुन लगाउनुभयो । यसलाई कहिल्यै भुल्ने छैन ।’

त्यसपछि धन्यवाद मलाई होइन चतुरेलाई दिनुस्, उहाँले सिकाएर नै मैले यो नाटक गरेको हुँ भन्दै माझी आफ्नो कामतिर लागे । पण्डितजीले चतुरेलाई भेटेर माफी माग्दै आइन्दा त्यस्तो घमण्ड नगर्ने प्रण गरे ।  उनका निम्ति यो यस्तो शिक्षा भयो कि त्यसपछि त्यस्तो हिम्मत कहिल्यै गर्न सकेनन् । अरूलाई अत्याउन खोज्दा उनी आफैँ यति आत्तिए कि जसलाई कहिल्यै बिर्सन सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप