बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राप्रपामा नेतृत्व परिवर्तन : पदाधिकारीमै अल्पमतमा परे लिङ्देन

कमल थापा पक्षको बलियो उपस्थिति, सजिलो छैन आगामी यात्रा
आइतबार, १९ मङ्सिर २०७८, १० : ५९
आइतबार, १९ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा कमल थापाजस्तो हस्तीलाई हराउँदै राजेन्द्र लिङ्देन विजयी बनेका छन् । तर, पदाधिकारीमै अध्यक्ष लिङ्देन अल्पमतमा परेका छन् । केन्द्रीय समितिमा पनि कमल थापा पक्षको बलियो उपस्थिति देखिएको छ ।

राजेन्द्र लिङ्देनलाई अध्यक्षमा हराउन राप्रपाका हस्तीहरू कमल थापा, पशुपति शमशेर जबरा, दीपक बोहरा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र जयन्त चन्दसमेत एकजुट भएर लागेका थिए । तर, लिङ्देनले सबैको घेरा तोड्दै जित हात पारे ।

तर, पार्टीभित्रको समीकरण हेर्दा अध्यक्ष लिङ्देनलाई अघि बढ्न भने त्यति सजिलो छैन । प्राप्त मतगणनाको अन्तिम परिणामअनुसार लिङ्देनले अध्यक्षमा जिते पनि पदाधिकारीमा कमल थापा पक्ष हाबी भएको छ । केन्द्रीय कमिटीमा पनि कमल थापाको बलियो उपस्थिति देखिएको छ ।

राप्रपाको १९९ सदस्यीय केन्द्रीय कमिटीमा महाधिवेशनले पदाधिकारीसहित १४९ जनालाई निर्वाचित गरेको छ । यसमध्ये कमल थापा पक्षको बलियो उपस्थिति छ । तर, अध्यक्ष लिङ्देनले विधानअनुसार अब ५० जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्न पाउने छन् । अब मनोनीत गर्ने कार्य पूरा भएपछि केन्द्रीय समितिमा लिङ्देन सुविधाजनक बहुमतमा पुग्ने उनी पक्षधर नेताहरू बताउँछन् ।

राप्रपाको उपाध्यक्षमा महिलासहित ४ जना निर्वाचित  हुने विधानमा व्यवस्था छ । त्यस्तै, महामन्त्रीमा महिलासहित ३ जना निर्वाचित हुने व्यवस्था विधानमा छ । बाँकी पदाधिकारी पछि मनोनयन गरिनेछ ।

अध्यक्षसहित पदाधिकारीको ८ पदमा भएको निर्वाचनमा राजेन्द्र लिङ्देन पक्षबाट महामन्त्रीमा धवल शमशेर राणामात्रै विजयी भएका छन् । दुवै पक्षले आफ्नो प्यानलमा खुलेका विक्रम पाण्डे कता खुल्छन् भन्ने टुङ्गो लागिसकेको छैन । पाण्डे लिङ्देनकै पक्षमा लागे भने पनि पदाधिकारीमा कलम थापा पक्षको बहुमत पुग्छ ।

पदाधिकारीमा थापा पक्षबाट उपाध्यक्षमा ध्रुवबहादुर प्रधान र बुद्धिमान तामाङले जितेका छन् । महिला उपाध्यक्षमा कमल थापा समूहकै रोशन कार्की विजयी भएका छन् । उपाध्यक्षमा लिङ्देन पक्षका दिलविकास राजभण्डारी, रामचन्द्र राय र दुर्गा श्रेष्ठ तीनैजना पराजित भए ।

महामन्त्रीमा महिलातर्फ लिङ्देन पक्षकी अभिनेत्री रेखा पराजित भइन् । उनी महिला कोटामा महामन्त्रीको उम्मेदवार थिइन् । उनलाई हराउँदै थापा पक्षकी कुन्ती शाही महामन्त्रीमा विजयी भइन् भने खुल्लातर्फका दुई महामन्त्रीमध्ये थापा पक्षका भुवन पाठक र लिङ्देन पक्षका धवलशमशेर राणाले जिते । महामन्त्रीमा लिङ्देन पक्षका श्याम तिमल्सिना पनि पराजित बने भने कमल थापा पक्षका भास्कर पनि पराजित भए ।

महामन्त्रीमा विजयी भएपछि प्रतिक्रिया दिँदै धवलशमशेर राणाले सबै पक्षलाई मिलाएर पार्टीलाई उचाइमा पुर्‍याइने बताए । उनले पार्टी बाहिर रहेका हिन्दुवादी र राजावादी धारलाई समेट्न पहल गरिने भन्दै त्यसका लागि वर्तमान नेतृत्व लागिपर्ने बताए । ‘कार्यकर्ताहरूले जुन खालको जिम्मेवारी दिनुभएको छ, त्यसलाई वर्तमान नेतृत्वले पूर्णरुपमा पालना गर्छ’, राणाले भने, ‘हामी सबै नेतृत्व वर्गलाई पनि समेटेर उहाँहरुको बुद्धि विवेक र अनुभवलाई पार्टी र जनताको हितमा काम गछौँ ।’

​राणाले चुनाव पार्टीभित्रको आन्तरिक लोकतन्त्र भएको भन्दै सबै मिलेर मुद्दालाई अघि बढाउने बताए । पार्टीलाई युवाको नेतृत्व चाहिने भन्दै धवलशमशेरले सुरुमा नेतृत्वमा दाबी गर्दै आएका थिए । पनि उनले राजेन्द्रलाई नेतृत्वमा स्वीकारेर आफू महामन्त्रीमा चुनाव लडेका थिए ।

अध्यक्ष लिङ्देनले पनि अब राप्रपालाई देशको सबैभन्दा लोकप्रिय पार्टी बनाउन लागिपर्ने बताएका छन् । उनले पार्टीलाई बलियो बनाउन योजनाबद्ध ढंगले काम गर्दै जाने पनि बताए । ‘हाम्रो मुद्दालाई मजबुद बनाउने हाम्रो आन्दोलन गर्छौँ । हिन्दु राष्ट्र र राजसंस्थाका समर्थकहरुलाई समेट्ने काम हुन्छ’ लिङ्देनले भने ।

सजिलो छैन लिङ्देनलाई

पुरानो पुस्ताबाट राप्रपा अघि बढ्न नसक्ने दाबी गर्दै नेतृत्व परिवर्तनको चर्को आवाज बोल्दै आएका युवा नेता राजेन्द्र लिङ्देन अन्ततः नेतृत्वमा पुगेका छन् । लिङ्देनको दाबी रहँदै आएको थियो–अहिलेको कार्यशैलीले हिन्दुराष्ट्र र राजसंस्था परिवर्तन हुन सक्दैन ।’

हिन्दुराष्ट्रको वकालत गर्ने पार्टी राप्रपाको नेतृत्व सम्हाल्ने लिङ्देन किरात (लिम्बू) समूदायका हुन् । राप्रपा हाँक्ने पहिलो पटक अवसर पाएका लिङ्देनले पदाधिकारीसहित केन्द्रीय समितिमा कमल थापा पक्षको बलियो उपस्थितिको सामना गर्नुपर्ने भएको छ । साथै आफूभन्दा सिनियर नेताहरुसमेतलाई रिझाएर अघि बढ्नुपर्ने चुनौती उनका सामु खडा भएको छ ।

मंसिर १५ गते पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा लिङ्देनले नेतृत्व सत्तालिप्सामा लागेको आरोप लगाउँदै यसरी पार्टी बन्न नसक्ने ठोकुवा गरेका थिए ।  ‘जसोतसो जोडजाड गरेर तीन प्रतिशत कटाउने, कुनै पार्टीसँग मिलेर दुई चार सिट जोड्ने, जोडजाड गरेर ८–१० सिट बनाउने र कुनै पार्टीको पछुवा बनेर केही मान्छेलाई मन्त्री बनाउन सकिएला, तर यही कार्यशैलीले राजसंस्था पुनस्र्थापना र हिन्दुराष्ट्र पुनःस्थापना गर्ने पार्टी बन्न सक्दैन’, लिङ्देनले भनेका थिए ।

कुनैबेला निवर्तमान अध्यक्ष कमल थापाका ‘दाहिने हात’ मानिने लिङ्देन उनै थापालाई पराजित गर्दै राप्रपाको नेतृत्वमा पुगेका हुन् । लिङ्देन नेतृत्वमा पुगेसँगै कमजोर अवस्थामा रहेको राप्रपा पुनर्जीवित होला त ? यो प्रश्न पनि सतहमा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप