मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यरातमा राप्रपाको मतदान सकियो, कसले मार्ला बाजी ?

आइतबार, १९ मङ्सिर २०७८, ०० : ११
आइतबार, १९ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबार मध्यान्ह करिब १२ बजेदेखि सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको निर्वाचन समितिका सदस्य श्याम शाहीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार  कुल ४३७९ जना मतदातामध्ये ३८७३ मत खसेको छ भने निर्वाचन प्रक्रियामा ५०६ मतदाता सहभागी नै भएनन् । 

राप्रपामा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको थियो भने जिल्लाले सिफारिस गरेका ठूलो संख्याका प्रतिनिधि निर्वाचन प्रक्रियामा अनुपस्थित भएको बताइएको छ । 
मतदान सम्पन्न भएसँगै अब मुचुल्का तयार गरेर करिब १ बजेबाट मतगणना हुने शाहीको भनाइ छ । 

‘मतदान अहिले राति साढे ११ बजे सम्पन्न भएको छ । मुचुल्का तयार गरेर मतगणना गर्छौँ’, शाहीले भने । राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । 
राप्रपाको पदाधिकारीमा थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान उपाध्यक्षको उम्मेदवार रहेका छन्  । यस्तै थापा प्यानलबाटै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् । 

यसैगरी महामन्त्रीको उम्मेदवार भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही रहेका छन् ।    यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार रहेका छन् भने महामन्त्रीमा डा धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम रहेको छ । विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन् । 

लिङ्देनलाई वर्तमान अध्यक्ष प्रकाशचन्द्र लोहनी र युवापंक्तिको साथ रहेको छ भने थापालाई बुद्धिमान तामाङ, दीपक बोहरालगायतका हस्तीहरुको समर्थन रहेको छ।  तर, अर्का अध्यक्ष पशुपति शमशेर राणाले भने तटस्थ बस्ने बताएका थिए । यद्यपि राजेन्द्र लिङ्देन समूहले आफ्नो समर्थन राणाको रहेको बताएपछि भने उनले शनिबार हस्तलिखित विज्ञप्तिमार्फत काँचो नेतृत्वलाई आफ्नो समर्थन नरहेको बताएका थिए । राप्रपामा युवा नेतृत्वको बहस चलिरहेको बेला कसको पक्षमा नतिजा आउला भन्नेमा धेरैलाई चासो छ । निर्वाचन समितिले कुनै अवरोध नआए नतिजा केही घण्टामै आउने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप