शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाका प्रदेशसभा सदस्य बने काँग्रेस महाधिवेशन प्रतिनिधि, सुटुक्क भोट हालेर फर्किए

शनिबार, १८ मङ्सिर २०७८, २२ : १६
शनिबार, १८ मङ्सिर २०७८

तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य प्रेम तामाङ काँग्रेस महाधिवेशन प्रतिनिधि बनेको खुलासा भएको छ । बागमती प्रदेशसभा सदस्य प्रेम तामाङ रसुवाबाट काँग्रेसको महाधिवेशन प्रतिनिधि भएको खुलासा भएको हो । हेटौडामा जारी बागमती प्रदेशको काँग्रेस निर्वाचनमा उनको नाम रसुवाको महाधिवेशन प्रतिनिधिमा ३ नम्बरमा टाँसिएको छ भने उनी भोट हाल्नका लागि शनिबार राति साढे ९ बजेतिर पुगेका थिए ।

उनी त्यहाँ राति गएर सुटुक्क भोट हालेर काठमाडौं फर्किएका छन् । प्रदेशसभा सदस्य तामाङले आफू भोट हालेर काठमाडौं फर्किएको स्वीकार गरे । यस्तै अर्का एक महाधिवेशन प्रतिनिधिले पनि तामाङ अर्को पार्टीको सांसद भएकै कारण आधिकारिक रुपमा काँग्रेस प्रवेश नगरेको तर महाधिवेशन प्रतिनिधि बनेर भोट भने हालेको रातोपाटीलाई बताए । 

तत्कालीन नयाँ शक्ति पार्टी उपेन्द्र यादवको पार्टीसँग एकता भएपछि केही समय उनले आफूलाई स्वतन्त्र हैसियतमा रहेको दावी गरेका थिए । पछि भने मन्त्री बन्न पाइने आशमा उनी फेरि जसपामा खुलेका थिए । अहिले प्रदेशसभामा उनको जसपाकै सांसदको हैसियत रहेको छ भने प्रदेशसभाको वेबसाइटमा पनि उनी जसपाको सांसद भएको उल्लेख गरिएको छ । 

स्मरण सहोस् २०७५ सालमै तामाङ काँग्रेस प्रवेश गर्न खोजेका थिए । तर प्रदेशसभा सदस्य पद जाने भएपछि उनी काँग्रेस प्रवेश गर्नबाट पछि हटेका थिए । उनलाई पार्टीमा स्वागतका लागि काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरु सरवा पुगेपनि उनलाई पार्टी प्रवेश नगराइ त्यसै फर्केका थिए । 

 जुनदलको उम्मेद्वार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा प्रदेशसभा सदस्यको स्थान रिक्त हुने संविधानमा उल्लेख छ। तामाङ नयाँ शक्ति र कांग्रेस गठबन्धनबाट सांसद निर्वाचित भएका थिए।
तत्कालीन नयाँ शक्तिका रसुवा पूर्वसंयोजकसमेत रहेका उनी नेपाली प्रदेश सभा निर्वाचनमा रसुवा ‘ख’बाट निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप