बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

शनिबार, १८ मङ्सिर २०७८, १६ : ३५
शनिबार, १८ मङ्सिर २०७८

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परेर कम्तिमा १० जनाको मृत्यु भएको छ । ताप्लेजुङ, कञ्चनपुर, पाल्पा, महोत्तरी, पर्वत, पर्सा र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको हो ।

ताप्लेजुङको  सिरिजंघा गाउँपालिका-३ बोखिमस्थित सडकमा ओरक्पाबाट कुन्जरीतर्फ जाँदै गरेको मे.१ त ६८९३ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त लिम्बु र १५ वर्षीय समिर लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बसन्तको धरान घोपा र समिरको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक समेत २ जनाको धरान घोपामा उपचार भइरहेको छ ।

यता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जस्थित सडकमा से.१ त ३८४१  नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार कृष्णपुर नगरपालिका-९ बस्ने ६५ वर्षीया द्रोपती राना सहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ३ जनाको निर्सग अस्पताल धनगढी र ३ जनाको केजी अस्पताल धनगढीमा उपचार भइरहेको छ भने ६ जना उपचार पश्चात डिस्चार्ज भएका छन ।

पाल्पाको तानसेन नगरपालिका-९ दमकडास्थित सडकमा लु.४ त ५४३८ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ट्याक्टरका साहु सोही ठाउँ बस्ने ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको  लुम्बिनी मेडीकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टरका सह-चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै महोत्तरीको पिपरा गाउँपालिका-६ रतौलीस्थित सडकमा प्र.२-०२-००१ प ३८५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा वैदेही नगरपालिका-८ बस्ने २० वर्षीय बलिराम साहको घटनास्थलमै मृत्यु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका-८ परादीस्थित सडकमा काठमाडौंबाट बागलुङतर्फ जाँदै गरेको ग.२ ख ००९८ नम्बरको बसले ग. २ त ६४२७ नम्बरको ट्याक्टरलाई शनिबार बिहान ठक्कर दिंदा ट्याक्टरमा सवार उदयपुर चौदण्डीगढी नगरपालिका-२ बस्ने १८ वर्षीय बिशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवारमध्ये १८ जनालाई जिल्ला अस्पताल र ५ जनालाई गण्डकी अस्पताल पोखरातर्फ उपचारको लागि पठाइएको छ । दुबै चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता पर्साको पटेर्वासुगौली गाउँपालिका-२ स्थित सडकमा ना.५ त ४१०८ नम्बरको ट्याक्टरको चक्का बिग्रीन गई जग लगाई तान्ने क्रममा जग फुत्किँदा ट्याक्टरको धुराले च्यापिएर ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय साविर खान पौठानको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका-८ भाण्टाबारीस्थित सडकमा को.१ ख ४९८८ नम्बरको बसले को.१ ख ६३७५ नम्बरको ट्रकलाई शनिबार दिउँसो ठक्कर दिई बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार हाल नाम,थर, वतन नखुलेका १ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २२ जनाको सोही अस्पतालामा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप