शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्रीको आश्वासन

शनिबार, १८ मङ्सिर २०७८, १६ : १३
शनिबार, १८ मङ्सिर २०७८

रामप्रसादले आफ्नो कथासङ्ग्रहको पाण्डुलिपि तयार गरेर अग्रज साहित्यकारहरूलाई देखाए । विशिष्ट साहित्यकारलाई भूमिका लेख्न आग्रह गरे । कथा सङ्ग्रह पनि प्रकाशित गरे । कृतिको चर्चाका लागि उनले विमोचन गर्न एक मन्त्रीलाई बोलाउने निधो गरे । उनले मन्त्रीलाई भेटेर भने– “हजुर मेरो कथासङ्ग्रहको विमोचन कार्यक्रममा प्रमुख अतिथि बनिदिनुपर्यो !” मन्त्रीले “म तपाईंहरू जस्तो कथा, कविता लेख्ने साहित्यकार परिनँ । कुनै वरिष्ठ साहित्यकारलाई अनुरोध गर्नुभए धेरै राम्रो हुने थियो” भने ।

“हजुर मन्त्री । हजुरले विमोचन गरिदिँदा विभिन्न ठाउँबाट टेलिभिजनहरू आउँथे । कार्यक्रमका समाचारहरू पढ्न पाइन्थ्यो, प्रचार प्रसार हुन्थ्यो” कृतिका लेखक रामप्रसादले भने । “वरिष्ठ साहित्यकारलाई विमोचन गराउन बोलाउनुभयो भने पनि टेलिभिजन आएर समाचार बनाइहाल्छन् नि !” मन्त्रीले भने ।

“अहिले राजनीतिक द्वन्द्व चलेको छ । देशका राजनीतिक व्यक्तिहरू गएका कार्यक्रममा मात्र टेलिभिजनहरू पुगेको हामीले देखेका छौँ” कृतिका लेखक रामप्रसादले भने । अन्तिममा मन्त्रीले विमोचन कार्यक्रमका लागि उपस्थित हुन स्वीकार गरे ।  तर विमोचन कार्यक्रममा कार्यव्यस्तता भन्दै मन्त्री आएनन् । टेलिभिजन र क्यामरा पनि देखिएनन् । रामप्रसादले आफ्नो कृतिको विमोचन एक वृद्ध साहित्यकारका हातबाट नै गरे । उनको कार्यक्रमको समाचार कतै पनि प्रकाशित भएनन् । लेखक रामप्रसाद पुर्पुरोमा हात राखेर झोक्रिए !

सामाखुसी, काठमाडौँ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप