'२८ वर्ष रेडियो नेपालमा काम गरेर पनि रित्तो हात फर्किएँ'
चन्द्रकला मल्ल (शाह) नेपाली साङ्गीतिक फाँटकी एक विशिष्ट प्रतिभा हुन् । लोकगीत सङ्कलकबाट साङ्गीतिक फाँटमा पाइला राखेकी शाह गायिकाको रूपमा समेत परिचित छिन् । लोकगीत, दोहोरी गीत, आधुनिक गीत, राष्ट्रिय गीत तथा भजन गरी ३४ एल्बम र फुटकर समेत गरेर ४ सयभन्दा बढी गीत उनको शब्द तथा स्वरमा आएका छन् ।
गाउँ र बस्तीका भाखा टपक्कै टिपेर गीत बनाउन सिपालु मानिएकी छन् उनी । ‘छ भने माया छपक्कै लाइदेऊ’, ‘खर काटी खरौली’, ‘धरधरी बग्ने आँसुको धारा’, ‘छ भने माया छपक्कै लाइदेऊ, छैन भने माया मोहनी फुकाइदेऊ’, ‘यता हेर सानी नानी...’ लगायत सङ्कलन रहेको हिट गीत हुन् भने ‘आऊ बसम् थकाइ मारम कदमको छायामा’, ‘सलल पानी बबईको तीरैमा’, ‘खाऊँ त भने काँकरी बतिलो’, ‘म त भागेँ खोला पारि नयाँ चौतारी’, ‘मोहनी लगायौ’ लगायत उनका स्वर रहेको थुप्रै गीत हिट गीत छन् । गीत, गजल, हाइकु तथा ताङ्का लगायतका साहित्य विधाका समेत कृति प्रकाशनमा ल्याएकी शाह २८ वर्ष रेडियो नेपालमा करारको जागिर खाएर केही अगाडि मात्र बाहिरिएकी हुन् । पूरै जीवन रेडियोमा समर्पित गरे पनि रित्तो हात फर्किएकी गायिका चन्द्रकला शाहको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।
टिपिकल नेपाली खाना
टिपिकल्ली नेपाली खाना दालभात, तरकारी र अचार मेरो मनपर्ने खाना हो । रायोको र चम्सुरको साग बढी मीठो लाग्छ । माछा मासु पनि मनपर्छ । मन नपर्ने खानेकुरा केही छैनन् । सफा र मीठो भने चाहिन्छ ।
रेस्टुरेन्टप्रति म आकर्षित छैन । कहिलेकाहीँ साथीभाइले बोलाएर लाने गर्छन् । रेस्टुरेन्टका खानेकुराभन्दा आफ्नै घरको बढी मनपर्छ । पकाउन रुचि छ । घरमा आफैँ पकाएर खाने हो । दैनिक फरक फरक खाना बनाएर खान रुचि लाग्छ ।
ओम भनेर बस्छु
उमेरले ७२ वर्ष पुगेँ । अहिलेसम्म फिट एन्ड फाइन छु भन्ने लाग्छ । त्यसको पहिलो कारण सन्तुष्टि हो । अर्काे फिट्नेस् । फिट्नेसका लागि अचेल हात, खुट्टा, ढाड लगायतको हल्का एक्सरसाइज गर्छु । केही समय ओम भनेर बस्छु । सङ्गीतको रियाज दैनिक नियमित छँदैछ ।
गिफ्ट आउँछन् नि
मनपर्ने पहिरन सारी, चोलो नै हो । त्यसमा पनि स्वेदेशी ब्रान्ड रोज्छु । कुर्थासुरुवाल कहिलेकाहीँ घरमा प्रयोग गर्छु । यो अलि सजिलो लाग्छ । विवाह, पार्टीलगायत विशेष कार्यक्रममा सारी नै लगाउँछु ।
मेरो विशेष मनपर्ने पहिरन रङ निलो र पिङ्क हो । रातो र सेतो पनि मनपर्छ । पहिरन ब्रान्ड रोज्ने, खोज्ने बानी छैन । मनपरेको किन्छु । अर्काे कुरो पहिरन आफ्नो गक्षअनुसार किन्न मनपर्छ । गिफ्ट पनि आउँछन् । आफन्त, साथीभाइले दिने गिफ्ट आफूले किनेको भन्दा महँगा हुन्छन् ।
अध्ययन अहिले गर्दिनँ
पहिले अध्ययन गर्थें, अहिले थोरै गर्छु । आफू लेख्ने पनि भएको हुनाले अध्ययन आवश्यक पनि छ । अध्ययन धेरै गर्दा त्यतैतिर भुल्छु कि भन्ने डरले थोरै गर्ने गरेकी हँु ।
साहित्यका कृति, व्यक्तिका जीवनीलगायत विषय अध्ययनमा रुचि छ । गौरी, मुनामदन पढेका मध्ये मनपरेका पुस्तक हुन् ।
केही घुमेँ कि
घुमघाममा धेरै रुचि छैन । कार्यक्रम र गीतसङ्गीतको सिलसिलामा देशका केही भू–भाग घुमेकी छु । हाम्रो समयमा अहिलेका जस्तो मेला महोत्सव आयोजना हुँदैन थियो । यदि हुन्थे भने देश पूरै घुमिसकेकी हुन्थेँ ।
देशका करिब १२, १५ जिल्ला घुमेँ होला । विदेश भने अहिलेसम्म टेकेकी छैन । विदेश जान कहिल्यै मन लागेन । विदेश घुम्ने केही अफर पनि आएका थिए । तर जाने इच्छा नै जागेन ।
फुर्सद छैन नि
अहिले खासै फुर्सद छैन । नयाँ गीत लेख्यो, सङ्गीत बनायो । यस्तै यस्तैमा बित्ने गरेको छ समय । आवश्यक पर्दा आफन्त, साथीभाइका लागि समय निकाल्न सक्छु ।
।
ब्याडमिन्टन खेल्थेँ
सानोमा खेलकुदमा रुचि थियो । त्यो समय विभिन्न खेल खेलियो । ब्याडमिन्टन त राम्रो खेल्थेँ । ब्याडमिन्टनमा साथीहरूसँग स्पर्धासमेत हुन्थ्यो । त्यो समय गोट्ने, भुरुङलगायत स्थानीय चलनचल्तीका खेलसमेत खेलिन्थ्यो । अहिले त खेल हेर्नसमेत मन लाग्दैन ।
एउटा मोबाइल बोक्छु
अहिले मसँग दुईवटा सिम लाग्ने एउटा मोबाइल छ । ब्रान्ड थाहा भएन । मोबाइल धेरै फङ्सन चलाउन भने जान्दिनँ । फोन गर्नुको अलवा लेख्न मन लागेको कुरा नोट गर्नेगर्छु ।
फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल समेत चलाउँछु । तस्बिर खिच्न, केही रेकर्ड गर्न समेत मोबाइल प्रयोग हुँदै आएको छ ।
पहिले हेर्थें
पहिले धेरै हिन्दी फिल्म हेर्थें । त्यसपछि केही नेपाली फिल्म पनि हेरियो । करिब ४० वर्ष भयो होला, मैले फिल्म हेर्न हल छिरेको छैन । टीभीमा फिल्मभन्दा पनि सिरियल हेर्न मनपर्छ । सिरियल सामाजिक, कमेडी विषयवस्तुमा बनेका राम्रो लाग्छ ।
रुचिको विषय गीत
गीतसङ्गीमा सानैदेखि मेरो रुचि थियो । अरूले गाएको देख्दा र सुन्दा प्रेरणा जाग्थ्यो । त्यो समय जानेर होस् वा नजानेर, म गीतहरू गुनगुनाउने गर्थें । २०३६ सालमा रेकर्ड भएको ‘ओल्लो डाँडा इन्द्रेणी, पल्लो डाँडा इन्द्रेणी’ मेरो स्वरमा रेकर्ड भएको पहिलो गीत थियो । यो गीत रेडियो नेपालमा रेकर्ड गराएकी थिएँ । मेरो गायन यात्रा यहीँबाट सुरु भएको हो ।
गीत सङ्कलन भने पहिलैबाट गर्थें । गीत सङ्कलका रूपमा म २०३२ मा रेडियो भित्रिएकी थिएँ । मैले सङ्कलन गरेको गीत गायिका मिरा राणा, कोइली देवी, ज्ञानु राणालगायत थुप्रै वरिष्ठ गायक गायिकाले गाएका छन् । कतिपयसँग त मैले युगल र समूह गायनसमेत गरेको छु ।
गीतसङ्कलन गर्ने क्रममा सङ्गीतकार शुभबहादुर सुनामले तिम्रो स्वर पनि राम्रो छ । स्थानीय ट्युन आउँछ, गाऊ भनेर हौस्याएपछि मेरो गायन यात्रा सुरु भएको थियो । अहिलेसम्म सिङ्गल, युगल र सामूहिक गरेर करिब ५ सय गीतमा मेरो स्वर रहेको छ । ‘मोहनी लगायौ कि मन्त्र गरेर’, ‘ओरालीमा हुर्कियो जुने’, ‘स्वर्गद्वारी लेकमा’, ‘मेरो छ साइँला दाइ’, ‘छ भने माया छपक्कै लाइदेऊ’, ‘खर काटी खरौली’, ‘धरधरी बग्ने आँसुको धारा’, ‘छ भने माया छपक्कै लाइदेऊ, छैन भने माया मोहनी फुकाइदेऊ’, ‘यता हेर सानी नानी...’, ‘आऊ बसम् थकाइ मारम कदमको छायामा’, ‘सलल पानी बबईको तीरैमा’, ‘खाऊँ त भने काँकरी बतिलो’, ‘म त भागे खोला पारि नयाँ चौतारी’ लगायत मेरा सङ्कलन, स्वर रहेका थुप्रै गीत हिट छन् । गीत, गजल, हाइकु तथा ताङ्का लगायतका साहित्य विधाका समेत कृति प्रकाशनमा ल्याएकी छु ।
गीत सङ्गीतमा मैले धेरै दिएभन्दा पनि गीतसङ्गीतले मलाई धेरै दिएको छ भन्छु । विदेश नदेखोको म गीतसङ्गीतका कारणले विदेशमा बस्नेले समेत चिन्छन् । गीतका कारण देशविदेशबाट विभिन्न पुरस्कारसमेत हात पार्ने गरेकी छु । मैले नदेखेको र नसुनेको ठाउँबाट मलाई पुरस्कार आउने गर्छ । मेरो भौतिक शरीर धेरै समय नरहे पनि गीतसङ्गीतले मलाई अमर बनाउनेछ । यो कुरोले गर्व लाग्छ ।
२८ वर्ष करार
गीत सङ्कलका रूपमा मैले २०३२ बाट रेडियो नेपालमा करारमा जागिर सुरु गरेकी थिएँ । २८ वर्ष काम गर्दा पनि करारबाटै निकालिएँ । केही अगाडि म रेडियो नेपालबाट बाहिरिएकी हुँ ।
२८ वर्ष करार जागिर खाँदा कसैले स्थायी गरिदिऊँ भनेर दया देखाएन । हामी जस्ता कर्मचारीलाई देख्ने सक्षम नेतृत्व रेडियोले पाएन । जागिर स्थायी भइदिएको भए अहिले जीवन सहज हुन्थ्यो । यही कुरामा दुःख लाग्छ । सरकारी, त्यो पनि रेडियो नेपालजस्तो प्रतिष्ठित संस्थामा २८ वर्ष जागिर खाँदा न पेन्सन, न उपदान । रित्तो हात बाहिरिएँ म । यस्तो पीडा अरू कसैको सायदै होला ।
जागिरका लागि म आफूले सङ्कल गरेका गीतहरू लिएर रेडियो छिरेकी थिएँ, निस्किँदा त्यो पनि त्यहीँ बुझाएर रित्तो हात फर्किएँ । रेडियोमा २८ वर्ष दुःख गर्दा घर चल्यो, पहिचान बनाएँ । पूरै जीवन रेडियो नेपालमा बिताएँ, अबको भविष्य अन्योल छ । २८ वर्ष करार काम गरेर रित्तो हात फर्कनु मप्रतिको अन्याय हो, होइन त्यो रेडियो नेपाल र राज्यले सोच्ने कुरो हो । रेडियो नेपाललाई म मन्दिर र घर मान्ने भएकीले केही भन्दिनँ । भोलिका दिन यी कुरा अवश्य बाहिर आउलान् ।
मेरो विवाह
२०२७ मा मैले विवाह गरेकी हुँ । मेरो विवाह प्रेम तथा मागी केही पनि होइन । एकपटक साथीले भेटाइदिएका थिए । ती ब्यक्तिसँग मन मिल्यो, विवाह गरेँ । उहाँ आर्मीमा हुनुहुन्थ्यो । अहिले उहाँ मसँग हुनुहुन्न । अर्काे घरजम गरेर बस्नुभएको छ । मेरा छोराछोरी छैनन् । अहिले म एक्ली छु ।
सपना दुईवटा
एउटा आफूसँग भएका गीतसङ्गीतको ज्ञान अरूलाई पनि बाँड्न पाए हुन्थ्यो भन्ने छ । अर्काे सपना नेपाली जनताले सुख पाएको, देशले प्रगति गरेको हेर्नेछ ।
मेरो गीतसङ्गीत
गीतसङ्गीत धेरै सुन्छु । सङ्गीत भनेको सरस्वती हो । यसमा १२ सुर छन् । ती सबै सुन्न योग्य हुन्छन् । धार्मिक, लोकगीत, राष्ट्रिय गीत, देशभक्ति भएका गीत सुन्छु । बलिउडका पहिले पहिलेका गीत राम्रा थिए । सुन्थेँ । अहिलेको त्यति राम्रो लाग्दैन । त्यसैले सुन्दिनँ ।
भूल भए होला
जीवनमा भूल नगर्ने मानिस सायदै होलान् । मानिस भएपछि भूल त हुन्छन् । गल्ती गरेँ, कसैको मन दुखाएँ भनेर सधैँ पछुताउने खालको भूल केही छैन । कहिलेकाहीँ सानोतिनो भूल गरेँ होला । त्यो भूलबाट सिक्दै अगाडि बढेकी छु ।
खराब बानी
स्पष्ट, सत्य बोल्न नहुने रहेछ अहिलेको समयमा । म सधैँ सत्य बोल्छु । एकै भेटमा जीवनका आन्द्राभुँडी सबै खोलेर दिन्छु । सीधै भन्नुपर्दा म खुला किताब जस्तो छु । यो मेरो खराब बानी रहेछ । भर्खर भर्खर यो कुरो बुझ्न थालेकी छु ।
रोग छैन
भगवान्का कृपाले अहिलेसम्म ठूलो केही रोग छैन । केहीअगाडिसम्म पत्थरीले सताएको थियो । त्यो औषधि खाएर ठीक भयो । बुढ्यौली उमेरले गर्दा शरीरका छाला चाउरी परेका छन् । तर भागवान्को कृपाले यो रोग छ भनेर नियमित औषधि अहिलेसम्म खानुपरेको छैन ।
हल्का मापसे
हल्का मापसे गर्छु, नियमित भने होइन । साथीभाइको जमघट, पार्टीलगायतमा पिउँछु । जमघटमा पिउँदा रमाइलो लाग्छ । मलाई मापसे यही ब्रान्ड चाहिन्छ भन्ने छैन । कार्यक्रममा साथीभाइसँग मिसिँदा जे भेटिन्छ, त्यही लिन्छु ।
राशि मीन
मेरो राशि मीन हो । ग्रहदशामा विश्वास लाग्छ । हेराउन जुराउन भने जाँदिनँ । पूजापाठ मनपर्छ । बिहानको पूजा र बेलुकाको आरती नगरेसम्म केही खान्नँ ।
मृत्यु सत्य हो
मृत्यु अन्तिम सत्य हो । यो स्वाभाविक कुरो पनि हो । एक दिन अवश्य हुन्छ । यसलाई सहज रूपमा लिएकी छु । मृत्युको समय कतिबेला तोकिएको छ, त्यो समय हुन्छ । मृत्य सहज होस् । भगवान्सँग यही प्रार्थना छ । मृत्युपछि पनि सम्झने थोरै भए पनि कर्म गर्न सकेजस्तो लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने