शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जावलाखेलबाट मिश्रको उद्घोष : छिट्टै हाम्रो पार्टीको राष्ट्रप्रमुखले भोटो देखाउनुहुन्छ

शनिबार, १८ मङ्सिर २०७८, १५ : ०८
शनिबार, १८ मङ्सिर २०७८

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले चाँडै नै आफ्नो पार्टी सत्तामा पुग्ने दाबी गरेका छन् । ललितपुरको जावलाखेलमा पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले भने, ‘यहीँ उभिएर राष्ट्रप्रमुखहरूले भोटो देखाउने गरेका छन् । तपाईंहरुको साथ र सहयोग रह्यो भने, देशका जनताको साथ र सहयोग रह्यो भने निकट भविष्यमा विवेकशील साझाका राष्ट्रप्रमुखले भोटो देखाउनुहुनेछ ।’

उनले यो कुरा अहिले गर्दा धेरैलाई अतिशयोक्तिपूर्ण लागे पनि जनताको मनोविज्ञान परिवर्तन हुँदै जाँदा यो सम्भव हुने जिकिर गरे । ‘पञ्चायत ढल्ला, राजतन्त्र ढल्ला, माओवादी सत्तामा आउँला भनेर कसैले सोचेकै थिएन । कसैले मञ्चमा उभिएर भाषण गर्दा मान्छे हाँस्थेँ,’ उनले भने, ‘अहिले हामीले हाम्रो विचार अघि सार्दा राजनीतिज्ञ र बुद्धिजीवीहरू त्यसलाई अवमूल्यन गर्छन् । तर लेखेर राख्नुहोस्, देश रूपान्तरण गर्ने भनेको विवेकशील साझा पार्टीले नै हो । हाम्रो पार्टीले देशको नेतृत्व गर्छ–गर्छ ।’

उनले पुराना पार्टीहरूले देश र समाजलाई गाउँदेखि न्यायालयसम्म जकडिएर राखेका कारण त्यो सिक्री तोड्न सजिलो नभएको पनि जिकिर गरे । उनले भने, ‘त्यसैले यो पाटीलाई ठूलो बनाउन विभिन्न समान सोच राख्ने शक्तिहरू एक ठाउँमा आउनुपर्छ र वृहद हस्तक्षेपकारी शक्ति निर्माण गर्नुपर्छ ।’

विवेकशील साझा पार्टीले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग औपचारिकरुपमा एकीकरण घोषणा गरेको छ । एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते नै भएको थियो । कल्याणकारी लोकतन्त्रलाई मुख्य राजनीतिक दर्शन बनाएको पार्टीले हालै मात्र अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको ‘विचार भन्दा माथि देश’ नामक राजनीतिक दस्ताबेजलाई पारित गरेको छ । विचारभन्दा माथि देश दस्ताबेज सार्वजनिक भएसँगै पार्टीले विचार मिल्ने विभिन्न राजनीतिक दल तथा समूहसँग एकीकरण र ध्रुवीकरण सुरु गरेको छ ।

एकीकरणका प्रमुख बुँदाहरू: 

१। एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ। पार्टीलाई बृहत्तर बनाउँदै लैजाने क्रममा पार्टीको नाम उपयुक्त समयमा परिवर्तन गर्न सकिनेछ। 

२। एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ। 

३। एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुनेछन्। 

४। एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ। 

५। एकीकृत पार्टीको केन्द्रीय समितिमा अनुसूची एकमा उल्लेख भए अनुसार सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल ४५ जना नयाँ सदस्यहरू सामेल हुनेछन्। त्यसैगरी एकीकृत पार्टीको केन्द्रीय कार्य सम्पादन समितिमा अनुसूची दुईमा उल्लेख भए अनुसार सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल १० जना नयाँ सदस्यहरू सामेल हुनेछन्। 

६। एकिकृत पार्टीको प्रमुख कार्यभार देशव्यापी आन्दोलन, संगठन निर्माण र महाधिवेशन हुनेछ। 

७। एकीकृत पार्टीको पहिलो महाधिवेशनअगाडि कुनै वाधा अड्चन आएमा त्यसको निरूपण केन्द्रीय कार्य सम्पादन समितिले केन्द्रीय समितिप्रति उत्तरदायी हुने गरि गर्नेछ। 

एकीकरण कार्यक्रमका तस्बिरहरु

तस्बिरहरु : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप