शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन: लुम्बिनीमा मुस्लिम समुदायकी कान्छी उम्मेदवार

शनिबार, १८ मङ्सिर २०७८, १० : १०
शनिबार, १८ मङ्सिर २०७८

नेपाली काँग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मुस्लिम समुदायकी २४ वर्षीया महिला डा. अलविरा खान प्रदेश सदस्यका लागि उम्मेदवार बनेकी छन् । मुस्लिम महिलातर्फको कोटाबाट उम्मेदवार बनेकी उनी शुक्रबार दिनभर प्रतिनिधिसँग भोट मागिरहेकी थिइन् । शनिबार पनि उनले बिहानैदेखि आफूलाई जिताउन आग्रह गर्दै मतदातासँग मत मागिरहेकी छन् ।

 काँग्रेसको १३औँ महाधिवेशनबाट क्रियाशील सदस्यता लिएको उनले बताइन् । 'मैले १८ वर्षको  उमेरमा काँग्रेसको क्रियाशील सदस्यता लिएकी हुँ, अहिले २४ वर्षकी भएँ, प्रदेश सदस्य भएर जिम्मेवारी निर्वाह गर्न सक्छु भन्ने लागेको छ,' डा. अलविराले भनिन् । बाबु अङ्कित मियाको प्रेरणाबाट आफू राजनीतिमा लागेको उनको भनाइ छ । अङ्कित ३० वर्षदेखि काँग्रेस क्रियाशील सदस्य छन् । पूर्वक्षेत्रीय सभापति रहेका अङ्कित अहिले महाधिवेशन प्रतिनिधि छन् । 

चिकित्सक पेसा अँगालेकी हुनाले आफू बिरामीको उपचारमै केन्द्रित हुने र सँगसँगै राजनीतिलाई पनि अगाडि बढाउने उनले बताइन् । उनी संस्थापन इतर समूहको प्यानलबाट प्रदेश सदस्यमा उम्मेदवार बनेकी हुन् । मुस्लिम समुदायका महिला राजनीतिमा आउन नसकिरहेको अवस्थामा उनले अहिले भने अवस्था फरक रहेको बताइन् । 'विगतमा मुस्लिम समुदायमा राजनीतिमा लाग्न हुँदैन भन्ने भावना थियो, घरबाट निस्कन पाइँदैन थियो, तर अहिले अवस्था फेरिएको छ, मैले राजनीतिमा लाग्दा परिवारका सबै सदस्यको पूर्ण साथ पाएकी छु,' उनले भनिन् । कपिलवस्तु-३ को प्रदेश सभा (ख) बाट प्रतिनिधि भएर उनी लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बनेकी हुन् । आफूलाई जिताउन परिवारका सबै सदस्य प्रचारमा लागेको उनी बताउँछिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप