बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : ट्याटु

शनिबार, १८ मङ्सिर २०७८, ०९ : ४८
शनिबार, १८ मङ्सिर २०७८

 सधैं बिहानै दारी सफाचट बनाउँछ राकेश । तर, दिउँसो तीन वजे रितालाई भेटन जानको लागि दुई वजे फेरि गालामा रेजर दौडाउन मन लाग्यो । हिजो भर्खर कपालमा कालो लगाएकोमा मनमनै ढुक्क भयो ।  कहिलेकाहीँ मात्र प्रयोग गर्ने परफ्यूम आज पनि प्रयोग गर्यो । आज तीन दशकपछि राकेश र रिता भीमकाली पाटनको भीमढुङ्गा नजिकैबाट अगाडि बढ्दै गण्डकीको छेउतर्फ जाँदैछन् । उनीहरु यो रुटमा धेरैपटक हिँडिसकेका छन् तर आजजस्तोे भौतिक दूरी कायम गरेर कहिल्यै पनि हिँडेनन् ।

चमेनागृह कटेपछि अनायास रिताको हात राकेशको हातमा आँउथ्यो । तर आज चमेनागृह बन्द छ । र, पनि उनीहरुको बीचको भौतिक दूरी कायमै छ । गण्डकीको डिलमा नै पुगिसकेका उनीहरु र दुई फरक ढुङ्गामा बस्छन् । यसरी यो ठाउँमा धेरैपटक धेरैबेर बसेका उनीहरु कहिल्यै फरक फरक ढुङ्गामा बसेका थिएनन् ।

“कपाल रंगिएर गाला टल्किए पनि निधारको धर्साले सबै छोप्न दिदो रहेनछ है ?” रिताले मौनता तोडिन् ।

“आफ्नो पनि त नाकमाथि चस्मा चढेछ, सिसा पनि बाक्लै देख्छु ।” राकेशले भन्छ ।

दुवैले सेतीपारी नजर दौडाउँछन्, जसरी यहाँ बसेर तीन दशकपहिले नजर दौडाउदै मीठा मीठा कुरा गर्दथे, रोमान्टिक कुरा गर्दथे । तर किन हो आज उनीहरु रोमान्टिक हुन सकिरहेको छैनन् । सेती पारीको विशाल अस्पताल बनेको ठाउँभन्दा केही मिटर तल सेनाले निसानाबाजी फायरिङ सिकिरहेका हुन्थे । बन्दुक पड्केको आवाजले कयौंपटक उनीहरुको एकान्तलाई बाधा पुर्याउँथ्यो । तर, आज दुवैको मनले फायरिङ्को आवाज खोजेजस्तो लाग्यो । सायद आफूलाई विगतमा पुर्याउन हो कि ?

“ठाउँ त रमाईलो हो है ?” रिताले भनिन् ।

“रमाईलो भएर त हामीहरुलाई नेताजीहरुले बेलाबेलामा डिष्टर्व गर्न आउँथे ।” राकेशले जवाफ दियो ।

आजका केन्द्रीय वामपन्थी राजनीतिमा लागेका यस क्षेत्रका नेताहरुको राजनीतिको वामे सराई यही ठाउँबाट नै सुरु हुन्थ्यो । संगठन गर्ने र राजनीतिक प्रशिक्षणमा भाग लिनेदेखि पहिलो भाषणसम्म यही ठाउँमा नै हुन्थ्यो । ठाउँको नाम नै उनीहरुले ‘प्रगतिशील चौर’ राखेका थिए । अलि पर त्यस्तै प्रकारका प्रजातन्त्रवादी विद्यार्थीहरुको कार्यक्रम गर्ने स्थल थियो जसलाई उनीहरु ‘जय नेपाल चौर’ भन्दथे । हो, यही ठाउँमा संचालन भएको विद्यार्थी संगठनहरुको संयुक्त आन्दोलनको कार्यक्रमको दिनमा उनीहरुको पहिलो भेट भएको थियो । क्याम्पसमा अचानक एक हुल प्रहरी प्रवेश गरे । विद्यार्थीहरुको भागदौड सुरु भयो । सायद दुवैजना बयरको झाडीतर्फ नभागेको भए र राकेशलाई काँडाले नघोचेको भए उनीहरुको भेट हुने पनि थिएन होला । 

.....                                

उनीहरुले हेर्दाहेर्दै एउटा मोटरवाईक अस्पतालभन्दा तलको बाटो भएर भलामतिर लाग्छ । गण्डकी पारीको मोटर बाईकको आवाज नसुने पनि मोटरवाईकमा दुईजना सवार भएजस्तै देखिन्छन्  ।

“यसरी नै भालुपहाडको बाटो स्याङ्गजा गएको याद छ ?” राकेशले पुरानो कुरा सम्झाउँछ ।

उसको सोधाईले जीवनमा भोगेका महत्वपूर्ण क्षणहरुको फेरि एकपटक सम्झना आउँछ । 

“तिमीसँग विताएका एक एक घटनाको सम्झना छ मलाई ।” रिताले भनिन् ।

रमेशले चिनेजानेको ठाउँबाट भाडामा लिएको वाईक लिएर धुँवा उडाउदै पिरतीका पंक्षी हावामा उडेजस्तै माछापुच्छ«े भ्यू प्वाइन्ट घुम्न गएका उनीहरुलाई घुम्दा घुम्दै स्याङ्गजा जान मन लाग्यो । एकछिन स्याङ्गजा बजार घुमेर एउटा खाजाघरमा छिरेर खाजा के खाना थालेका थिए, मुसलधारे पानी पर्न थाल्यो । दुई घण्टा भइसक्दा पनि पानी रोकिने कुनै छाँट देखिदैन । साथीलाई भनेर मिलाएको भाडाको मोटरवाईकको चिन्ता थियो राकेशलाई भने पहिलो पटक यसरी घुम्न निस्केकी रितालाई अर्कै पिरले सताएको थियो ।

“भाई माथि कोठा पनि छ, बुक गरिदिऊँ ?” साहुनीले सोधिन् ।

“एकछिनपछि पानी पर्न रोकिन्छ कि हेरौं ।” राकेशले जवाफ दियो ।

घनघोर बर्षा जारी थियो । उता रिताको मनमा डरको बादल मडारिएकोे थियो । उनीहरु बस्दा बस्दै अन्य दुईजना पनि ओत लाग्न आइपुगे । हेर्दा उनीहरु पनि विचल्ली नै परेजस्ता देखिएका थिए । राकेशले सोच्यो, “अरु उपाय अव केही छैन । ढिलो गरियो भने रुज्दै पोखरा फर्किनु वा पेटीमा रात काट्नुमध्ये एक विकल्प रोज्नुपर्छ ।” उ विस्तारै साहुनीनजिक गयो र कोठा बुक गरेर चापी लिई पुन्m खाजा खाएको ठाउँमा आएर बस्यो ।

रिताले पुलुक्क उसको मुखमा हेरिन् मात्र तर केही बोल्न सकिनन् । उनीहरु दुवै बाहिर मात्र हेरेर बसिरहे । हुर्किएको सामाजिक परिवेशले हो अथवा केले हो थाहा भएन । तर झम्झम् वर्षा अनि मायाका एक जोडी घरबाट टाढा हुँदा पनि उनीहरुको मनमा कता कता कुनै भयले थिचेजस्तो अनुभूति भइरहेको थियो । उनीहरुको व्यवहार देखेर साहुनी पनि अचम्म मान्दै थिइन् । एकछिनपछि पश्चिमबाट उज्यालो देखिन थाल्यो र विस्तारै पानी थामिन थाल्यो । रिताको मुहार पनि केहि हँसिलो देखिन थाल्यो ।

“दिदी पानी रोकियो हामी जान्छौं है ?” राकेशले भन्यो ।

“हुन्छ” भन्दै साहुनीले चापी लिइन् र खाजाको मुल्य मात्र कटाइन् ।

हुन सक्ने संभावित दुर्घटनाबाट जोगिएकोमा रिताको मनमा एक किसिमको खुशियाली थियो । तर परिस्थितिले जुराईदिएको चरम एकान्त मिलनको अवसरलाई उपभोग गर्न नसकेकोमा राकेशलाई भने केही हदसम्म नमीठो पनि लाग्यो ।

 “हामी त्यतिबेला नै भागेको भए पनि हुने थियो नि है ।” रिताले भनिन् ।

“भोलिपल्ट टीकाटालो गर्न आउँदैछन् भन्ने थाहा हँुदा त मलाई केही नभन्नेले अहिले आएर फुर्ति लगाउने ?” राकेशको अनुहारमा केही आक्रोश देखिन्छ तर देखाउँदैन, जसको अहिले कुनै अर्थ छैन ।

रिताको आँखा भरिएर आउँछ र परेलीको डिलले रोक्न सक्दैन । नेत्रजलको एक बुँद भर्खर रुखबाट झरेको सिसौको पातमा  खस्छ । त्यसलाई हेर्दै सुस्तरी भन्छिन्, “मुखले बोल्न नसकेको बेला अनुहार र आँखाको भाव पढ्न सक्नुपथ्र्यो नि ।”

....

भोलिपल्ट आफ्नो टीकाटाला गर्न आउँदैछन् भन्ने थाहा भएपछि यही ठाउँमा राकेशलाई भेट्न आएकी थिइन् उनी । गोधूली साँझमा सायद राकेशले उनको निराश अनुहार र रसिलो आँखाको भाका थाहा पाएन ।

सानैमा बुबा र आमाको मृत्युपछि दाईले आफ्नै छोरीभन्दा बढी माया दिएर पालिएकी उनी दाईको हरेक निर्णयमा कुनै प्रश्न चिन्ह लगाउन सक्दैनथिन् । सधैं सबैको मङ्गल र भलो चिताउने उनको दाईलाई घरपरिवार, टोल छिमेक र गाउँमा सबैले आँखामा राखे पनि नबिझाउने मान्छे भन्ने गर्दथे । उसले जे निर्णय गरे पनि हितकारी नै निर्णय लिन्छ भन्ने विश्वास सबैमा हुन्थ्यो । बहिनीको खुशी र सुखको लागि गरिएको यो निर्णयमा पनि सबैमा त्यस्तै विश्वास थियो । इष्टमित्र र दाजुभाई सबैजना खुशी थिए । “टुहुरी बहिनीलाई कहिले पनि बुवाआमाको अभाव हुन दिएन” भनेर सबैजना उसको प्रशंसा गर्दथे । 

तर रितालाई भने मनभित्रको उकुसमुकुस भावना कति बेला राकेशलाई पोखुँ भएको थियो । हतार हतार आएकी उनको वाक्य फुटेको थिएन ।  अन्य बेलामा भन्दा अलि बढी नै अंगालोले कसेकी थिइन् तर मनले धोका दिदै थियो । नेत्रजलले घाँटीमा अवरोध पुर्याएको थियो, वाक्य फुट्न सकेको थिएन । रिताको मनले सोच्योे ,“यो नै अन्तिम अंकमाल हो ।”

उता राकेशको मनले सोच्यो, “आज रिता अलि बढी नै रोमान्टिक मुडमा छिन् ।”

गोधूलि साँझमा गण्डकीको डिलमा रिताको बगेका अश्रुधाराको के अर्थ ? देख्नु पर्नेले नदेखेपछि ।

भोलिपल्ट विवाह आँट्न भने रिताको घर मानिसहरु आए । उनलाई सिँगारेर राखिएको थियो । बाहिरबाट जति सिँगारे पनि उनको मनमा कालो वादलले ढाकेको  थियो । मामाकी छोरीले भनेको अझ पनि उनलाई याद छ, “ आज कति अँध्यारी भएको होस रितु ? हेर नानी हामी सबैले यसरी एकदिन आफ्ने माइती छोड्नै पर्दछ । पीर नमान् बाबै ।” देवी र देवताजस्ता भाउजु र दाईसंग छुिट्टनु परेकोे पीर त बेग्लै थियो । तर त्यसभन्दा बढी राकेशसंगको विछोडको घटनाले मुटु जलेर आउँथ्यो ।  सधैं राकेशलाई भेटन जाने ठाउँमा एक्लै गएर नफर्कौ जस्तो लाग्यो । तर निश्छल दाजुको माया सम्झिन्, भाउजुको मातृवात्सल्यको याद आयो । एकपटक राती पिसाब फेर्न बाहिर निस्कदा दैलोको ठेलामा ठेस लागेर आँगनमा पछारिएर खुट्टा भाँचिदा मध्यरातमा रुदै दाईले बोकेर अस्पताल पुर्याएको सम्झनाले मन भरिएर आयो ।

 “तिमीले रमेशलाई हाम्रो बारेमा बताएजस्तै मैले पनि सरितालाई भनेकी भए पनि दाईसँग एकपटक कुरा गर्थी होला । सबै आफूमै सीमित राखियो ” रिताले सुकेर झरेको रुखको छेस्को भाँच्दै भन्छिन् ।

“दाईमा भरोसा थियो भने त आफूले नै भनेको भए पनि हुन्थ्यो होला नि । म पनि कुरा गर्न सक्थें । सबैले देवताजस्तै मानेको दाईले मेरो कुरा पनि त पक्कै सुन्नुहुन्थ्यो होला । अव यी सबै वहाना मात्रै त हो ।” राकेशले भन्छ । रितासँग यसको कुनै जवाफ छैन ।

...

रितालाई आफूबाट धेरै टाढा पठाउन मन त उनको दाजुलाई पनि थिएन । तर के गर्ने, कौडीको दाममा बेचिएका सरकारी सार्वजनिक संस्थान र भाँचिएका सडकका रेलिङ देख्दा उनलाई बहिनीको भविष्यको चिन्ताले सताउन थाल्यो, जसले गर्दा बाहिर बसेकै केटातर्फ नै मन जान थाल्यो । त्यसैले उनले बीएड सेकेण्ड एयर दिएर बसेकी बहिनीलाई स्टाफ नर्समा भर्ना गर्न तयारी कक्षा पढ्न लगाएका थिए । भनकै जस्तै केटाको कुरा आयो, जुन मौका उनी गुमाउन चाहन्नथे रसबै चाँजोपाँजो मिलाएर हतारमा विवाह सम्पन्न भयो ।

अमेरिकामा लामो बसाइँका कारण केटाको ग्रीनकार्ड बनिसकेको थियो, जसले गर्दा रितालाई लैजान कुनै कठिनाई भएन ।  समयक्रमसँग विस्तारै इतिहासका घटनाहरु धमिलो हुँदै जाँदो रहेछ । रिताको सम्पूर्ण रुपमा नयाँ जीवन सुरु भयो । दुई वर्षको फरकमा छोरा र छोरी भए । तिनले अहिले विश्वविद्यालयको अध्ययन पनि सकाइसकेका छन् । मिलेसम्म यसपाली छोरीको विवाह गरिदिने विचारमा रिता र उनका श्रीमान पुगिसकेका छन् ।

यता राकेश पनि करिव दुई वर्षको विछोडको पीडापछि आफूले आफैंलाई सम्झाउन थाल्यो । र, विस्तारै व्यवहारिक रुपमा सोच्दै जीवनको गोरेटोलाई अगाडि बढाउने क्रममा विवाह वन्धनमा वाँधियो । सन्तानहरुको आगमनपछि उसले पनि गण्डकीको डिल, चमेनागृह, भालुपहाडको यात्रा सबै विर्सिसकेको थियो । तर आज मार्क जुकरवर्गको योगदानको कारण उनीहरु फेरी भेट सम्भव भएको थियो । फेसबुकले पनि कहिलेकाँही समयले धमिलो बनाएको इतिहासलाई सम्झनाको पुछाउनी पुछेर सफा बनाउँदो रहेछ ।

पारी डाँडामा देखिएको टावरतर्फ हर्दै रिताले भनिन्, “त्यो टावर तिमीले र मैले हेरेर मात्र बस्यौं है । कुनै दिन जान पाएको भए पनि कति रमाईलो हुन्थ्यो नि ।” बढेको हावाको गतिले रिताको कपाल अस्तव्यस्त हुन्छ । हावाको वेगले सल सररर तल झर्छ, जसले अघिदेखि छोपिएको गर्दनको पछाडि बनाइएको ट्याटुमा राकेशको एकोहोरो नजर पर्दछ ।

भनिन्छ, विदेशमा बस्नेहरुको दुईवटा संस्कृति हुन्छ । एउटा संस्कृति उनीहरु जुन ठाउँबाट आएका हुन्छन्, त्यहाँबाट लिएर आएका हुन्छन् भने अर्को संस्कृति उनीहरु बसिरहेको ठाउँको, जसलाई उनीहरु अपनाइरहेका हुन्छन् । आफ्नो संस्कृति प्रतिको मोह र उत्सुकता रिताको श्रीमानलाई अमेरिका गएपछि मात्र हुन थालेको थियो । उनी नेपाल आएको बखत हरेक पारिवारिक सांस्कृतिक गतिविधिहरुलाई अवलोकन गर्न चाहन्थे । त्यसैले, आफ्नै बिहेको जग्गेको हरेक गतिविधिको बारेमा पण्डितजीसंग सोधेर जानकारी लिएका थिए । कन्यादान गरेको, माडो घुमेको, श्रीमतीको खुट्टा पुजेको, ठाउँ सारेको, सिन्दुर राखेको सबै गतिविधि उनलाई रमाईलो लागेको थियो । यसै क्रममा पण्डितले उनलाई सोधका थिए “दुलहीको गोत्र फेर्ने बेला भयो । अब नाम पनि परिवर्तन गर्ने कि यही ठिक छ ? दुलाहा राजाले भन्नु पर्यो ।”

उनले भनेका थिए, “रिता नै ठिक छ । बरु उनले मेरो नाम परिवर्तन गर्न पाउँछिन् कि पाउँदिनन् ?” 

पण्डित पनि रमाईलो गर्न मन पराउने खालका थिए । उनले भने, “मनमा छ भने पाईन्छ ।”

श्रीमानका साथीहरु कराउन थालेका थिए, “लौ आज दुलाहाको न्वारन पनि हुन थाल्यो है ।” हाँसोको फोहरा छुट्यो ।

हँसीमजाक चल्दै गर्दा एक पटक फेरी निहुरिएर दुलहीलाई हेर्दे पण्डितले सोधेका थिए, “ दुलहाको नाम के गर्ने हो नानी ?” 

अनायसै दुलहीको मुखबाट शव्द फुत्क्यो, “राकेश” । 

उनको श्रीमान उनीतिर फर्केर  मुसुक्क हाँस्दै भने, “एकदम ठिक छ मलाई । मन परेको नाम हो म त रिता नै भन्छु । माया लागेको वेला रितु भन्छु, रिस उठ्यो भने रिते भनुँला ।”

फेरि एक पटक हाँसोले माहोल ततायो । तर कसैले पनि रिताको मुखबाट निस्केको शब्दको कारण बुझ्न आवश्यक देखेनन् । समय वित्दै गयो । रिताले उनको श्रीमानलाई बोलाउने नाम भने राकेश नै रह्यो ।

अघिदेखि पारी हेरिरहेकी रिताको गर्दनमा भएको आफ्नो नामको ट्याटुमा एकोहोरो हेरिरहेको राकेशको मुखबाट एउटा प्रश्न निस्क्यो, “त्यो ट्याटु कहिले बनायौ रिता ?” मनमा अन्य अनुत्तरित असरल्ल प्रश्नहरु बाँकी थिए ।

पोखरा–७ मासबार, कास्कीका लेखक हाल पोखरा विश्वविद्यालयमा कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप