बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : लुम्बिनीमा संस्थापन पक्षबाट शाह र  संस्थापन इतरबाट पुनको प्यानलसहित उम्मेदवारी

शनिबार, १८ मङ्सिर २०७८, ०८ : ०५
शनिबार, १८ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा सभापतिका लागि संस्थापन पक्षबाट रुपन्देहीका भरतकुमार शाह र इतर पक्षबाट रुकुमका अमर सिंह पुनले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् ।

शाहको प्यानलमा २ जना उपसभापति पदका लागि कपिलवस्तुका सुधाकर पाण्डे र दाङका राजु खनालले उम्मेदवारी दिए छन् । यस्तै, महामन्त्री पदका लागि बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझी उम्मेदवार छन् । सह–महामन्त्रीमा १ महिलासहित ३ पदका लागि रुपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाहले मनोनयन पत्र पेस गरेका छन् ।

यस्तै पुनको प्यानलबाट उपसभापति पदका लागि गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठकले उम्मेदवारी दिएका छन् । महामन्त्री पदमा पश्चिम नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । सह–महामन्त्रीका लागि प्युठानकी निमा गिरी, अर्घाखाँचीका विष्णु खनाल (मुस्कान) र दाङका खगराज पान्डेयले उम्मेदवारी दिएका छन् ।

यस्तै महामन्त्रीमा ताराप्रसाद फुल्लेलले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले बताए । जिल्लाको तहको निर्वाचनमा लुम्बिनी प्रदेशमा रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ । तर दुवै पक्षले आफू बलियो भएको दाबी गर्दै आएका छन् । लुम्बिनी प्रदेशमा प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि गरी १ हजार ६ सय ४८ जना प्रतिनिधि छन् । निर्वाचन समितिका अनुसार नेतृत्व चयनका लागि शनिबार मतदान हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप