एमालेले नारायणी नदी किनारमा पार्टी भित्रको लोकतन्त्र तर्पण गरेर फर्कियो: गगन थापा
नेपाली काँग्रेसका नेता गगन थापाले नेकपा एमालेले पार्टी भित्रको लोकतन्त्र र जनवादलाई नारायणी नदी किनारमा तर्पण गरेर काठमाडौँ फर्किएको टिप्पणी गरेका छन् । उनले हेटौँडामा आयोजित काँग्रेसको प्रदेश अधिवेशनमा प्रदेश सभापतिका उम्मेदवार जगदीश्वर नरसिंह केसीको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एमालेले केही दिन अघि चितवनको नारायणी नदी किनारमा गरेको महाधिवेशनमा पार्टीको लोकतन्त्र जनवादलाई तर्पण दिएर काठमाडौँ फर्किएको र पञ्चायतको भूत जगाएर काठमाडौँ फर्किएको बताएका हुन् ।
एमालेसँग निरन्तर सङ्गत र सहकार्य गर्ने भएकाले एमाले आफ्नो शत्रु नभई सहयात्री र साथी भएको बताउँदै नेता थापाले एमालेका राम्रा कुरा मात्र सिक्न र नराम्रा कुरा फाल्नका लागि पनि एमाले भित्र के भइरहेको छ भन्ने बारे काँग्रेसले चासो राख्नु पर्ने बताए । काँग्रेस एउटा राजनीतिक दल मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलनको अभिभावक भएकाले कोही कतै बिग्रिएमा त्यसलाई सही ठाउँमा ल्याउने जिम्मेवारी पनि काँग्रेसको रहेको उनको भनाइ छ । एमाले भित्रको सल्किएको निरंकुशताको आगोले भीम रावलहरू मात्र नभई देशैभर फैलनेवाला भएकाले त्यसलाई रोक्न काँग्रेसले आफ्नो महाधिवेशन पछि एमालेसँग सङ्गत र सङ्घर्ष गर्नु पर्ने उनले बताए ।
त्यस्तै नेता थापाले जनताको शक्तिको ताकतबाट विश्राम लिन्छु भनेर गएका महाराजलाई जबरजस्ती फर्काउँछु भनेर उद्घोष गरेर काठमाडौँको भृकुटीमण्डपमा अर्को पार्टीको महाधिवेशन चलिरहेकाले त्यससँग पनि काँग्रेसले सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको बताए । उनले माओवादी केन्द्रलाई लक्षित गर्दै भने ‘अर्को एउटा पुनः उत्थानवादी शक्ति मैदानमा आउँछ र त्यसले पनि कुनै न कुनै वितण्डा मच्याउने भएकाले त्यससँग पनि जुध्ने ताकत नेपाली काँग्रेसले राख्नुपर्छ ।’ त्यस्ता शक्तिहरूसँग लड्नु पर्ने काँग्रेसले आफ्नो अधिवेशनबाट सशक्त बनेर जानु पर्ने धारणा व्यक्त गरे ।
काँग्रेस भित्रकै कुरा हो भनेर सामान्य ढङ्गले सोच्दा नेतृत्व कमजोर हुने भएकाले त्यसका लागि काँग्रेसले आफ्नो अधिवेशनहरू सशक्त रूपमा सम्पन्न गर्नुपर्ने उनले बताए । ‘चुनाव जित्ने, जित्नु पर्नेछ । चैतमा चुनाव हुन्छ, मैले मात्र भनेको हैन । आजै मात्र मेरो पार्टीको सभापतिले विराटनगरमा भन्नुभएको छ: यो अधिवेशनबाट जनताको मन जित्ने सक्ने नेतृत्वलाई मात्र चुन्नु होला है भनेर । हामीले आफ्नो पार्टीको सभापतिले भनेको मान्नु पर्नेछ । जनताको मन जित्न सक्ने पार्टी नेतृत्व चुन्नु पर्नेछ । किनकि हामी काँग्रेस÷काँग्रेस मात्र भएर हाम्रो सङ्ख्या पुग्दैन । हामीसँग ९ लाख क्रियाशील कार्यकर्ता। ३० लाख मतदाता छन् । हामीले काँग्रेसलाई पहिलो नै पार्टी बनाउनका लागि कम्तीमा पनि ४५ लाख मत चाहिन्छ । १५ लाख मत छैन । काँग्रेस भन्दा बाहिरका मानिसले फलानो ठिक भनेर हामी कहाँ आए मात्र हाम्रो मत बढ्छ अनि पार्टी ठुलो हुन्छ । त्यसका लागि पार्टीमा तन्नेरीहरू भित्र्याउनु पर्नेछ । हामीले कहिल्यै मत नहालेकालाई पनि काँग्रेस बनाउनु पर्नेछ ।’ उनले भने ।
यो अधिवेशनबाट पार्टीको नेतृत्व बदल्नु पर्छ
नेता थापाले अबको अधिवेशनबाट पार्टीको नेतृत्व बदल्नु पर्ने अवस्था आएको बताए । उनले पार्टी नेतृत्वको लागि देशभर घुम्दै जाने क्रममा प्राप्त गरेको निष्कर्ष नै पार्टीको नेतृत्व परिवर्तन रहेको बताए ।
‘म यो अधिवेशनमा महामन्त्रीको उम्मेदवार हुँ । मैले देशैभरि घुम्दै गर्दा, साथी भाइहरू भेट्दै गर्दा म पुगेको निष्कर्ष भनेको यो अधिवेशनबाट पार्टीको नेतृत्व बदल्न सकिन्न भने तपाई के हुने म के हुने भन्ने कुरा गौड कुरा हो । यो पार्टीको साधारण सदस्य मात्र भएर बस्न पनि म तयार छु । अर्को ५ वर्ष पछि बनौला केही फरक पर्दैन । तर यो पटकको अधिवेशनबाट पार्टीमा देशभरिका लाखौँ मानिसलाई जोड्नु पर्नेछ त्यसको लागि पार्टी भित्र एउटा नवीनता आवश्यक छ । नयाँ उत्साह चाहिएको छ । हाम्रो पार्टीलाई देख्दै गर्दा सफा देखिनु पर्नेछ । पवित्र देखिनु पर्नेछ । जसका लागि नेतृत्व बदल्नु पर्नेछ । त्यसैका लागि म जस्तो एउटा पार्टी कार्यकर्ता आफ्नो राजनीतिक जीवनको ४/५ वर्ष पछाडिको बेन्चमा बस्न तयार भएर तपाईंहरु माझ आएको छ,’ नेता थापाले भने ।