आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश र स्थानीय तहलाई बलियो नबनाउँदा विकासले गति लिएन : मन्त्री शर्मा

शुक्रबार, १७ मङ्सिर २०७८, १९ : ४६
शुक्रबार, १७ मङ्सिर २०७८

अर्थमन्त्री जनार्दन शर्माले मुलुक संघीय संरचनामा गए पनि प्रदेश र स्थानीय तहलाई बलियो बनाउने कुरामा बेवास्ता भएका कारण देशको विकासले गति लिन नसकेको बताएका छन् । उनले जनतासँग जोडिएका प्रदेश र स्थानीय तहलाई बलियो नबनाएसम्म विकास असम्भव रहेको बताए ।

शुक्रबार मोरङ व्यापार संघको ६५ औं साधारणसभा उद्घाटन समारोहमा मन्त्री शर्माले संघले सबै अधिकार आफ्नै हातमा राख्न खोज्ने, प्रदेश र स्थानीय तहलाई अधिकार दिनबाट वञ्चित गर्ने काम भएकाले सरकारको कामले अपेक्षित रुपमा गति लिन नसकेको दाबी गरे ।

उनले भने, ‘अब प्रदेश र स्थानीय तहलाई बलियो बनाउनु पर्छ, जनतासँग जोडिएका स्थानीय तहलाई बलियो नबनाएसम्म विकास असम्भव छ ।’ उनले जनतालाई एकाकार गरेर काम गर्नुपर्ने खाँचोसमेत औंल्याए । ‘नेपालको विकास समुदायमा आधारित छ, त्यसलाई आजको आवश्यकताका आधारमा सदुपयोग गर्नुपर्छ,’ मन्त्री शर्माले भने ।

मन्त्री शर्माले सुनसरीको अमडुवामा रहेको सरकारको ६२५ बिघा जग्गामा उद्योग स्थापनाका लागि चाहिने आवश्यक पूर्वाधार, विद्युत, श्रमशक्ति र जग्गा लिज लिने भए प्रक्रिया मिलाएर दिन आफूू तयार रहेको पनि उद्योगीहरुलाई बताए ।

उनले प्रदेश १ मा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने, शैक्षिक टुरिजमको विकास गर्ने र स्वास्थ्य टुरिजमको विकास गर्नुपर्नेमा जोड दिए ।

मन्त्री शर्माले देशको विकासका लागि अब असमानतालाई अन्त्य गर्ने खालको सुधारिएको पूँजीवाद आवश्यक रहेको बताए । सगरमाथाको फेदमा लाखौं मानिस पुग्ने वातावरण बनाउनु सरकारको योजना रहेको उनको भनाइ छ ।

उदयपुरको लिम्चिङबुङमा पर्यटकीय क्षेत्र बनाउने विषयमा निजी क्षेत्रले सहयोग गर्नुपर्ने मन्त्री शर्माले बताए । उनले १० हजार मेगावाट विद्युत खपत गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । जलविद्युतको अत्याधिक खपत देशमै भएमात्रै आर्थिक समृद्धि हासिल गर्न सम्भव रहने उनले बताए ।

कार्यक्रममा उद्योगी व्यवसायीहरूले लगानीमैत्री वातावरण बन्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा आर्थिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने विभिन्न संघ संस्था र व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप