बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओलीको निर्वाचन क्षेत्रमा ‘भ्यू टावर’ : न उपयोगिता, नत समयमै बन्न सक्यो

सम्झौता सकिनै लाग्दा ५० प्रतिशतमात्रै काम पूरा
शुक्रबार, १७ मङ्सिर २०७८, १६ : १६
शुक्रबार, १७ मङ्सिर २०७८

दमक । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत झापाको दमकमा ‘भ्यू टावर’ निर्माणमा चासो देखाए । समथल उक्त क्षेत्रमा भ्यू टावरको उपयोगिता नरहने भन्दै सरोकारवालाले उक्त रकम विकास निर्माणमा प्रयोग गर्न सुझाएका थिए । तर भ्यू टावर नै निर्माण गर्ने हुटहुटी देखाइए पनि निर्माण सम्पन्न हुने समय सकिन लाग्दा समेत निर्माणको काम ५० प्रतिशत मात्र पूरा भएको छ ।

भ्यू टावर निर्माणको काम २०७६ साउन महिनाबाट सुरू भएको थियो भने यही पुस मसान्तसम्ममा सम्पन्न गर्ने सम्झौता छ । संघीय सरकारका ठूला योजना हेर्ने कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजना झापाका अनुसार हालसम्म भ्यू टावरमा ६० करोड खर्च भइसकेको छ ।

‘भ्यू टावर’ निर्माणको जिम्मा आशिष ओम साईराम कन्स्ट्रक्सन प्रालिले लिएको छ । कोभिडका कारण बिचमा काम गर्न नसकिएकाले निर्माणले गति लिन नसकेको निर्माण कम्पनीको भनाइ छ । इन्जिनियर सूर्यनारायण साहले ‘भ्यू टावर’ निर्माण सम्पन्न गर्ने सम्झौता अब एक महिना बाँकी रहँदासम्म ‘भ्यू टावर’ निर्माणको भौतिक प्रगति ५० प्रतिशतमात्र हुन सकेको स्वीकारे । बाँकी रहेको संरचना निर्माणका लागि निर्माणको समय अवधि १५ महिना थप गर्ने तयारी भइरहेको उनले बताए ।

सरकारले भ्यू टावरलाई राष्ट्रिय महत्व र बहुवर्षीय योजनामा राखेको छ । तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नै पहलमा दमक नगरपालिका–३ ढुकुरपानीमा ‘भ्यू टावर’लाई राष्ट्रिय महत्वको योजनामा पारी बजेट विनियोजन गराएका थिए । भ्यू टावरका लागि अघिल्लो आर्थिक वर्षमा संघीय सरकारले ४० करोड र चालु आर्थिक वर्षमा ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले भ्यू टावरको कुल लागत १ अर्ब ५६ करोड १८ लाख रुपैयाँ रहेको जनाएको छ ।

एक सय मिटर अग्लो टावर

भ्यू टावरको नाम ‘फाल्गुनन्द’ रहने छ । उनी किराँत धर्मगुरु थिए । टावर एक सय मिटर अग्लो हुनेछ । यसैमा ८ तलाको स्टिल टावर पनि रहने छ । तर, त्यो स्टिल टावरसम्म भने जान सकिँदैन । टावरको १८ तलासम्म मानिस जान सक्ने गरी डिजाइन गरिएको छ । २१ हजार १९७ स्क्वायर फुट जमिन चर्चिने भ्यू टावरका लागि पाँच बिघा जग्गा छुट्याइएको छ । जसमध्ये ८ कट्ठा क्षेत्रफल ‘भ्यू टावर’ले ओगट्नेछ ।

दमक नगरपालिकाले भ्यू टावरका लागि पाँच बिघा जमिन स्थानीयबाट जुटाइदिएपछि निर्माण अघि बढेको थियो । स्थानीयले निःशुल्क रुपमा भ्यू टावरलाई जग्गा प्रदान गरेका थिए ।

दमकबाट ६ किलोमिटर टाढा निर्माणाधीन उक्त भ्यू टावर व्यावसायिक भवन बन्नेछ । टावरको १७ औँ तलाबाट इलाम, पाँचथरका सुन्दर दृश्यसहित रमणीय हिमश्रृखला अवलोकन गर्न पाइनेछ ।

भ्यू टावर परिसरमा व्यापारिक सपिङ कम्प्लेक्स, रेस्टुरेन्ट, सिनेमा हल, सेमिनार हललगायत संरचना निर्माण गरिनेछ । साथै, स्वदेशी तथा विदेशी कम्पनीका कार्यालयलगायत बैंक वित्तीय संस्थाका कार्यालयसमेत राख्ने योजना छ ।

‘भ्यू टावर’मा आउने पाहुनाहरूको मनोरञ्जनका लागि पोखरी, चिल्ड्रेन पार्कसहित पर्याप्त पार्किङको व्यवस्था रहने शहरी तथा भवन निर्माण कार्यालयले जनाएको छ । दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालका अनुसार भ्यू टावर हुने सो वडामा खानेपानीको प्रबन्धका लागि यसपाली संघीय सरकारले ५५ करोड रुपैयाँ छुट्याएको छ ।

‘भ्यू टावर’ वरपर जग्गा दलालको नजर

‘भ्यू टावर’ निर्माण सम्पन्न नहुँदै जग्गा दलालहरुको नजर ‘भ्यू टावर’ आसपासको जग्गामा परेको छ । निर्माणाधीन अवस्थामा रहेको ‘भ्यू टावर’ अगाडिको जग्गा उनीहरुले खरिद गरी बेचबिखन कार्यमा क्रियाशील बनेका छन् ।

माँ पञ्चकन्या हाउजिङ प्रालिको नाममा ‘भ्यू टावर’ अगाडिको करिव ८ बिघा जमिन खरिद गरी सो कम्पनीले बेचविखनको काम सुरु गरेको छ । स्थानीयका अनुसार ‘भ्यू टावर’ निर्माण हुने हल्ला चलेसँगै दलालहरूले सस्तो मोलमा स्थानीयको जग्गा खरिद गरी अहिले प्रतिधुर तीनदेखि चार लाखका दरले घडेरी विक्री गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप