थ्री स्टार हारबाट जोगियो
मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा एक गोलले पछि परेको अवस्थामा गोल गरेपछि थ्री स्टारले ललितपुर डर्वीमा फ्रेन्ड्ससँगको हारबाट आफुलाई जोगाएको हो । यस सँगै दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
दोस्रो चरणको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित भएको थ्री स्टारविरुद्ध फ्रेन्ड्सले पहिलो हाफ गोल रहित बराबरी खेलेको थियो । गोल गर्न असफल भइरहेको थ्री स्टार दबाबमा परेको बेला फ्रेन्ड्सले दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गर्दै झन् दबाब दिएको थियो । ५१औं मिनेटमा नाथानिल जुडे गार्सियाले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । कप्तान प्रकाश बुढाथोकीको क्रसलाई सदुपयोग गर्दै जाली चुमाउँदै बलियो टोलीविरुद्ध अग्रता निकालेका थिए ।
त्यसपछि दबाबमा परेको थ्री स्टारले काउन्टर अट्याकको रणनीति अपनाउँदै फ्रेन्ड्सलाई दबाबमा राख्न पुग्यो । कप्तान प्रकाश बुढाथोकी चोटग्रस्त हुँदै उपचारका लागि बाहिरिएको अवस्थामा कम खेलाडी भएको फाइदा उठाउँदै थ्री स्टारले बराबरी गोल फर्काउन सफल भयो । ८३औं मिनेटमा हेमन्त थापामगरको चलाखीपूर्ण पासमा ऋतिक खड्काले दिएको क्रसलाई मिक्चेन तामाङले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याए र उक्त नतिजा नै निर्णायक बन्यो । त्यसपछि पनि स्पष्ट अंकका लागि प्रयास गरे पनि थ्री स्टार सफल हुन सकेन ।
बराबरीपछि थ्री स्टारले ३ खेलबाट ४ अंक जोडेको छ । समान ३ खेल खेलेको फ्रेन्ड्सको २ अंक भएको छ । यसअघि पहिलो खेलमा थ्री स्टारले च्यासललाई ३–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा सातदोबाटोसँग १–० ले स्तब्ध भएको थियो । फ्रेन्ड्सले पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी र दोस्रो खेलमा संकटालाई २–१ को नतिजा सुम्पिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण