शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उम्मेदवारी दर्तापछि के भने कमल थापा र राजेन्द्र लिङ्देनले ?

शुक्रबार, १७ मङ्सिर २०७८, १५ : ४९
शुक्रबार, १७ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् । 

शुक्रबार पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङ्देनले आ–आफ्नो प्यानलसहित राष्ट्रियसभामा पुगेर मनोनयन दर्ता गराएका हुन् ।  मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले आफूले अत्याधिक बहुमतबाट विजय हासिल गर्ने दावी गरे । उनले आफू पुनः नेतृत्वमा चुनिएपछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङदेनलगायत सबैलाई समेटर पार्टीलाई अघि बढाउने बताए । 

अध्यक्ष थापाले शीर्ष नेताहरु सबैको सद्भाव र स्नेह आफूलाई रहेको भन्दै आफूले निर्वाचन जित्ने दाबी गरे । उनले पार्टीमा युवा नेतृत्व आउनु शुभ संकेत भएको बताउँदै आफूले राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतालाई कायम राख्न, राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सिद्धान्तमा आधारित राप्रपालाई देशको बलियो प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्न र आगामी निर्वाचनमा राप्रपालाई सम्मानजनक सफलता हासिल गराउन नेतृत्वका लागि पुनः उम्मेदवारी मनोनय दर्ता गराएको बताए । अध्यक्ष थापाले अब आफू नेतृत्वमा चुनिएपछि नेपालको राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, भ्रष्टाचारको अन्त्य, धर्म परिवर्तनको अन्त्य र बेरोजगारी समस्या समाधानको निमित्त सशक्त र प्रभावकारी भूमिका खेल्न सक्ने शक्ति निर्माण गर्ने बताए । 

मनोनयन दर्तापछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङदेनले कुनै व्यक्तिगत महत्वाकांक्षा, पद प्राप्त गर्ने आकांक्षाले उम्मेदवारी नदिएको दाबी गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्तरलाई उकास्न, पार्टीलाई उठाएर देशको अग्रणी पार्टीको रुपमा स्थापित गर्न आफू नेतृत्वमा आएपछि कदम चाल्ने बताए । अध्यक्षका उम्मेदवार लिङ्देनले अहिलेको नेतृत्व परिवर्तन पार्टीका कार्यकर्ताहरूको लागि बाध्यकारी र पार्टी उठाउने कामको सिलसिलाको एउटा प्रस्थानबिन्दु हुने बताए । उनले आफू विजयी भएमा राप्रपा बाहिर रहेका राजावादी र हिन्दुराष्ट्रवादीहरुलाई एकत्रित गरेर नेतृत्वमा आएको ६ महिनाभित्र राष्ट्रिय शक्तिको निर्माण गर्दै आगामी निर्वाचनमा पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप