बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुस्त भयो बुटवल–नारायणगढ सडक विस्तारको काम, अहिलेसम्म ११ प्रतिशत मात्र सकियो

ठेकेदारबाट समय थप्न माग
शुक्रबार, १७ मङ्सिर २०७८, ११ : ४५
शुक्रबार, १७ मङ्सिर २०७८

काम सुुरु भएको ४४ महिनामा काम सक्ने सम्झौता गरेका थिए, बुटवल–नारायणगढ सडक आयोजनाका ठेकेदारले । सम्झौताअनुसार आगामी २०७९ साउन २२ भित्र निर्माण कार्य सक्नुपर्ने हुन्छ । तर तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते शिलान्यास गरेको सडक बिस्तारको काम अहिलेसम्म जम्मा ११ प्रतिशत मात्र भएको छ ।

लकडाउन र ठेकेदार–कर्मचारीको आन्दोलनसमेतले सडक बिस्तारमा ढिलाइ भएको हो । बीचमा विभिन्न बहानाले काम गर्न ढिलाई गरेको निर्माण कम्पनीले अहिले काम गर्न समय माग गर्दै पत्राचार गरेको छ । चिनियाँ कम्पनी ठेकेदार रहेको यो परियोजनाको म्याद थपबारे निर्णय अझै हुन बाँकी रहेको बुटवल–नारायणगढ सडक परियोजना गैंडाकोटका प्रमुख इन्जिनियर रमेश विष्टले रातोपाटीलाई बताए ।

बुटवल–नारायणगढ सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । कूल १ सय १३ किलोमिटर सडकमध्ये नवलपरासी बर्दघाट–सुस्ता पूर्वको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’  ४८.५८  किलोमिटर मानेर गरिएको सम्झौताअन्तर्गत दुवैतिर पछिल्ला दिनमा काम रफ्तारमा भए पनि  तोकिएको समयमा सकिने सम्भावना छैन ।

दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको छ । हाल ठेकेदार कम्पनीले म्याद थपको लागि पत्र पठाएको दाउन्ने पश्चिमका प्रमुख ईन्जिनियर प्रदीप शाक्यले पनि रातोपाटीलाई बताए ।

पुल र कल्भर्ट निर्माण कार्य जारी

अहिले सडकमा माटो र ढुङ्गा राख्ने काम भइरहेको छ । अर्कोतिर ठाउँ ठाउँमा पुल निर्माण र कल्भर्ट निर्माणको काम भइरहेको छ । पश्चिमतर्फ ९ वाट माईनर २ वाट मेजर गरी ११ वाट पुलको काम भइरहेको छ । अर्कोतिर ९० बटा कल्भर्ट निर्माणको काम पनि भइरहेको छ । यस्तै दाउन्ने क्षेत्रमा रुख काट्ने काम ९० प्रतिशत सकिएको छ । उता दाउन्ने पूर्व पनि माटोको काम, विद्युतका पोल र खानेपानीका पाइप राख्ने काम भइरहेको प्रमुख विष्टले बताए ।

सडक विस्तारका क्रममा मध्यवर्ती क्षेत्रमा पर्ने स्थानका वनमा ६ वटा वन्यजन्तुमैत्री पुल निर्माण हुनेछ । त्यसैगरी, सो सडकमा ८७ वटा कल्भर्ट निर्माण हुनेछन् । सडक विस्तारका क्रममा गैँडाकोटबाट पश्चिमको भेडाबारीमा नाला तथा माटो फिलिङको काम धेरै भएको छ  ।

दिक्क लाग्दो दाउन्नेको उकालो

बुटवल–नारायणगढ यात्रा सरदर तीन घण्टा हो । ४ लेनको सडक विस्तारसँगै कम्तीमा १ घण्टादेखि ५० मिनेटभित्रै पुग्न सकिने भनिएको थियो । तर सडक बिस्तारको कामले ६ घन्टासम्म लाग्ने गरेको छ । सडक विस्तारको काममा ढिलाइ हुँदा दिक्क लाग्ने गरी सबैभन्दा बढी जाम हुने ठाउँ बनेको छ दाउन्नेको उकालो । जामसँगै धुलोको  समस्या पनि उस्तै छ । खासगरी मोटरसाईकल यात्रुहरुको लागि झन सकसपूर्ण यात्रा भएको छ । बुटवल–नारायणगढ पूर्वी भेगको सडका प्रमुख विष्टले आफूहरुले दाउन्नेको उकालोमा देखिएका खाल्टा खुल्टीहरु पुर्ने काम बेलाबेलामा गरे पनि समस्या धेरै देखिएकोले पिच गर्ने योजना रहेको बताए ।

कूल लागतमध्ये एडिबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारकै हुनेछ । एडिबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप