शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अंग्रेजी नयाँ वर्षसँगै सराङकोटसम्म केबलकार सरर...

केबलकारको सफल परीक्षण
शुक्रबार, १७ मङ्सिर २०७८, ११ : ०२
शुक्रबार, १७ मङ्सिर २०७८

फेवाताल किनारमा रहेको सेदीबगरदेखि सराङकोटसम्म सञ्चालन हुने केबलकार छिट्टै व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । सोही क्रममा केबलकारले बुधबारदेखि परीक्षण सुरु गरेको छ । चार बर्ष पहिले निर्माण थालिएको अन्नपूर्ण केबलकार प्रालिले यात्रु बोक्ने डिब्बा जडानको काम सकिएसँगै परीक्षणका लागि सञ्चालन गरिएको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले बताए । २ वर्षमा निर्माण गरिसक्ने योजना भएपनि कोभिड महामारीका कारण ४ बर्ष लागेको थियो । त्रिपाठीले भने, ‘परीक्षणको क्रम निरन्तर १० दिनसम्म चल्ने छ, अब यात्रु चढाएर परीक्षणलाई निरन्तरता दिने छौं ।'

जापानबाट आएका ७ जना प्राविधिक टोलीले केबलकार परीक्षण गरी सञ्चालनमा ल्याएका हुन् । अन्तरराष्ट्रिय मापदण्ड अनुसारको मापदण्डका चरण पार गरेपछि अंग्रेजी नयाँ बर्षदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालन गर्ने योजना रहेको निर्देशक त्रिपाठीले बताए । पहिलो चरणमा केही सीमित डिब्बा मात्र सञ्चालनमा ल्याइने छन् ।

पोखराको नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजनासहित निर्माण गरिएको केबलकारबाट यात्रा गर्दा हिमाल, ताल, हरियाली र पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने निर्देशक त्रिपाठीले बताए । केवलकारमा फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिने छ । 

नेपालीको लागि केवलकारमा जाने र आउने शुल्क ६ सय रुपैया निर्धारण गरिएकोे छ । विदेशीहरुलाई १५ देखि २० प्रतिशतसम्म बढी शुल्क लिने र स्थानीय, विद्यार्थीलगायतका लागि छुटको व्यवस्था गरिने कम्पनीले जनाएको छ ।

२ अर्ब लगानी
सुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि निर्माणको समय र आवस्यक थप पूर्वाधार बढाउँदा २ अर्ब रुपैयाँ पुगेको त्रिपाठीले बताए । केबलकारको माथिल्लो स्टेसनमा निर्माण गरिएको भ्यू टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप र अतिरिक्त जग्गा खरिदका कारण लागत मूल्य बढेको उनको भनाई छ । २.४ किलोमिटर दुरी रहेको केवलकारमा हालसामान वोक्नेसहित १८ वटा डिब्बा छन् । प्रति डिब्बामा ८ जनाको सिट क्षमता छ । केवलकारमा करिब ३५ भन्दा बढी डिब्बा क्षमता रहेको छ ।

कम्पनीले हाल करिब २५ जनालाई रोजगार दिएको छ । व्यावसायीक रुपमा केबलकार सञ्चालनमा ल्याइए ८० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने निर्देशक त्रिपाठी बताउँछन् । केवलकारमा युवा व्यावसायी कालु गुरुङसहितका नेपाली व्यवसायी ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको छ । केबलकार निर्माणको प्राविधिक काम मनकामना केबलकार निर्माता कम्पनी चितवन कोई समूहले गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप