ad
x
सन्दर्भः ३० औं अन्तर्राष्ट्रिय दिवस

अपाङ्गता क्षेत्रमा पालिकाहरूले गर्नैपर्ने कार्यक्रम

person explore access_timeमंसिर १७, २०७८ chat_bubble_outline0

 नेपाल अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारसम्बन्धि महासन्धिको पक्षीय राष्ट्र हो । यसका साथै नेपालको संविधान २०७२ मा अपाङ्गता भएका ब्यक्तिहरुको शिक्षा,स्वास्थ्य,सामाजिक सुरक्षा,रोजगार,राजनैतिक अधिकार लगायतका आधारभूत कुराहरु मौलिक हककै रुपमा उल्लेख गरिएको छ ।


अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारसम्बन्धि ऐन २०७४ र नियमावली २०७७ ले अपाङ्गता भएका ब्यक्तिहरुप्रति स्थानीय सरकार अर्थात् पालिकाहरुको दायित्व र जिम्मेवारी थपि दिएको छ ।  थप दायित्व र जिम्मेवारी बहन गर्न कतिपय पालिकाहरुले अपाङ्गता भएका ब्यक्तिहरुप्रति चासो दिनुका साथै विभिन्न सानातिना सचेतनामुलक कार्यक्रमहरु गरिरहेका छन् । तर ठोस र दिगो कार्यक्रमहरु संचालन गर्न सम्बन्धित पालिकाहरुका जनप्रतिनिधिहरु,स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरुको इच्छाशक्तिले पनि प्रभाव पार्ने रहेछ । ऐन,कानुन,नियमावली,कार्यविधि आदिमा लेखिएर मात्र नहुँदो रहेछ ।



अपाङ्गता भएका ब्यक्तिहरुको ऐन र नियमावली अनुसार गर्नुपर्ने थुप्रै कार्यहरुमध्ये पालिकाहरुले कम्तिमा आफ्ना पालिकामा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको संख्या,प्रकार,अपाङ्गताको प्रकृति,गाम्भीर्यता,उमेर,स्वास्थ्य,सामाजिक,आर्थिकलगायतको स्थितिका  आधारमा निम्न अनुसारको बार्षिक नीति तथा कार्यक्रमहरु तयार गरी कार्यान्वय गर्नुपर्छ ।



पालिकाहरुले थालनी गर्नुपर्ने कार्यक्रमहरुः



-   अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरी प्रोफाईल तयार गर्ने ।



-   प्रत्येक पालिकामा अपाङ्गता परामर्श तथा सेवा केन्द्र स्थापना गर्ने ।



-   अति अशक्त तथा अशक्त अपाङ्गता भएका र ३ बर्ष मुनिका र विद्यालय जान नसकेका अन्य अपाङ्गता भएका बालबालिकाहरुको लागि घरमा आधारित शिक्षा कार्यक्रम सञ्चालन गर्ने ।



-   अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र,स्वास्थ्य लगायतका सेवाहरु सर्व सुलभ बनाउन घुम्ति शिविरहरु सञ्चालन गर्ने ।

-   पूर्व प्राथमिक विद्यालय तथा बालविकास कक्षाका शिक्षकहरुलाई समाहित शिक्षासम्बन्धी आधारभूत तालिमको व्यवस्था गर्ने ।

-   अपाङ्गतामैत्री समावेशी कक्षा सञ्चालन गर्ने ।

-   अति अशक्त,अटिजम,बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुलगायतका अभिभावकहरुलाई आफ्ना बालबालिकालाई सम्हाल्नमा सहयोग हुने लगायतका तालिमहरु सञ्चालन गर्ने ।

-   अपाङ्गतासम्बन्धि नीति,नियम र सेवा सुविधाको बारेमा जन प्रतिनिधि,सम्बन्धित कर्मचारीलगायत अन्य सरोकारवाला ब्यक्तिहरुको सहभागितामा कार्यशाला सञ्चालन गर्ने ।

-   नगर पालिका÷वडा भित्रका सबै विद्यालय उमेरका (बालविकास कक्षाका समेत) अपाङ्गता भएका बालबालिकाहरुको लागि कम्तिमा नेपाल सरकारले तोकिएअनुसार छात्रबृत्तिको व्यवस्था गर्ने ।

-   बिपन्न अपाङ्गता भएका व्यक्तिहरुलाई थप सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने ।

-   अपाङ्गता भएका व्यक्तिहरु तथा तिनका परिवारलाई जीविकोपार्जनसम्बन्धि तालिम दिने । र,उत्पादन भएका सामग्रीको बजारीकरणको लागि सहयोग गर्ने ।

-   पालिकाभित्र रहेका कलकारखाना,विद्यालय,कार्यालय लगायतमा अपाङ्गता भएका व्यक्तिहरुको योग्यता र क्षमताअनुसार पूर्ण वा समावेशी रोजगारीको कम्तिमा ब्यवस्था र पहल गर्ने ।

-   अपाङ्गता भएका व्यक्ति,परिवार तथा सम्बन्धित सरोकारवालाहरुको लागि सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने ।

-   बाहिरा व्यक्ति तथा तिनका अभिभावकहरुको लागि सांकेतिक भाषाको तालिमको व्यवस्था गर्ने ।

-   प्रत्येक पालिकामा कम्तिमा एकजना दोभाषेको व्यवस्था गर्ने ।

-   दृष्टिविहिनहरुको लागि ब्रेललिपि र मोविलिटिसम्बन्धि तालिम सञ्चालन गर्ने ।

-   आर्थिक अवस्था कमजोर भएका अपाङ्गता भएका व्यक्तिहरुलाई  निःशुल्क स्वास्थ्य उपचार र  औषधीको व्यवस्था गर्ने ।

-   अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक्ता अनुसारको सहयोगी सामग्री निःशुल्क उपलब्ध गराउने ।

-   निर्धारित नियम तथा कार्यविधिअनुसार अपाङ्गतामैत्री भौतिक संरचना (सार्वजनिक शौचालय,विद्यालय,सरकारी कार्यालय,सार्वजनिक स्थल आदिमा) बनाउने तथा ब्यवस्था गर्ने ।

-   स्थानीय पाठ्यक्रममा कम्तिमा अपाङ्गताको परिचय,कारण तथा रोकथामका उपायहरु,प्रकार,सेवा सुविधाहरु र सञ्चालित कार्यक्रमहरु लगायतका बिषयहरु समावेश गर्ने ।

        यी मध्ये केही कार्यक्रममात्रै सुरु गरे पनि कार्यपालिका जनप्रतिनिधिहरु धन्य हुनेछन् ।       

लेखक अपाङ्गता भएका बालबालिकाहरुको लागि कार्यरत संस्था पोर्टेज तथा पुनर्स्थापना नेपालका निर्देशक हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X