शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनावी प्रचारका सामग्री प्रयोग गरिएकोप्रति केसी असन्तुष्ट

बिहीबार, १६ मङ्सिर २०७८, २२ : ५६
बिहीबार, १६ मङ्सिर २०७८

नेपाली काँग्रेस बागमती प्रदेशका सभापतिका उम्मेदवार जगदीश्वर नरसिंह केसीले प्रदेश अधिवेशनको एकतर्फी रुपमा उद्घाटन सत्रमा चुनावी प्रचार प्रसारको सामग्री प्रयोग गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले हेटौंडामा बिहीबार पत्रकार सम्मेलन गर्दै प्रदेश अधिवेशन स्थलमा आचारसहिता विपरित एकतर्फी रुपमा गीत, पानीका बोतल, स्वयंसेवको रुपमा खटिएका व्यक्तिले लगाएका पर्चा पम्प्लेट जस्ता सामग्री प्रयोग गरि चुनावी प्रचार प्रसारका सामग्री गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

अधिवेशनमा एकतर्फी रुपमा चुनावी प्रचार प्रसारका सामग्री प्रयोग गर्नु अधिनायकवाद, निरंकुशता र सर्वसत्तावादका चिन्तन बोकेकाहरुले गर्ने उनले बताए । ‘एकतफी रुपमा चुनावी प्रचारका गर्नु अधिवेशन होइन, जुन आज उद्घाटन सत्रमा देखियो । त्यो एकदलीय अधिनायकवादमा, निरकुंशता र सर्वसत्तावादले चिन्तन बोकेकाहरुमा हुन्छ,’ उनले भने । ‘हामीले केपी ओलीलाई सर्वसत्तावादी भन्यौ, निरंकुश भन्यौ, त्यस्तै आजको उदघाटन सत्रमा देख्यौ ।’

उनले प्रतिनिधिहरुको झोलामा कसैको चुनाव प्रचारको सामग्री राखिएको भन्दै लोकतान्त्रिक पार्टीमा सबैले मित्रवत रुपमा अधिवेशन र निर्वाचनलाई सफल बनाउने दायित्व रहेको भन्दै त्यस्ता कार्य नगर्न आग्रह गरे । नेपाली काँग्रेसले प्रदेश अधिवेशन पश्चात नयाँ सोच र विचारका साथ अघि बढ्नुपर्ने उनले बताए ।

देउवा पक्षसँग सिटौला समूह मिल्न सक्दैनन्

सभापतिका उम्मेदवार केसीले आसन्न प्रदेश अधिवेशनमा सहमति र सहकार्यका लागि काँग्रेसका नेता कृष्णप्रसाद सिटौला पक्षका अर्का उम्मेदवार भिमसेन दास प्रधानसँग संस्थापन पक्ष मिल्न नसक्ने दावी गरेका छन्  उनले सिटौला समूह मिले आफूसँग मिल्ने नभए निर्वाचनमा जाने निश्चित रहेको भन्दै देउवा पक्षका उम्मेदवारलाई सहयोग नगर्न आग्रह गरे ।

आफ्ना पक्षका नेताहरु सिटौला समूहसँग निरन्तर छलफलमा रहेको भन्दै आफूलाई समर्थन गर्ने सम्भावना पनि बढेको उनले बताए । ‘पछिल्लो चरणमा उहाँहरुले हामीलाई सहयोग गर्ने वातावरण बन्न सक्छ । उहाँहरु अर्को टिमसँग मिल्न सक्नुहुन्न त्यो ग्यारेन्टी हो । उहाँहरु की चुनावमा नै जानु हुन्छ कि हामीसँगै मिल्नुहुन्छ ।’ उनले भने ।

सिटौला समूहका उम्मेदवार प्रधान आफूसँग मिलेको खण्डमा घोषणा गरिएका उम्मेदवारीसमेत फिर्ता नहुने तर पार्टीका अन्य ठाउँहरुमा सहयोग गर्ने बताए ।

काठमाडौंमा ४ सय मत हाम्रो पक्षमा छ, मैले चुनाव जित्छु

सभापतिका उम्मेदवार केसीले प्रदेश अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि (मतदाता) रहेको काठमाडौं जिल्लामा रामचन्द्र पौडेल पक्षको बलियो उपस्थिति रहेको बताए । उनले काठमाडौंका १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० वटा प्रदेश निर्वाचन क्षेत्रका करिव ५ सय मतदातामध्ये ४ सय मतदाता आफ्नो पक्षमा रहेको दावी गरे ।

उनले काठमाडौंको जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट एकजना पनि सदस्य नजितेका कारण त्यहाँ आफूहरुको उपस्थिति राम्रो रहेको बताए । प्रदेश सभापतिमा जित्ने मुख्य केन्द्रमा नै आफ्नो पक्कड रहेकोले चुनाव जित्नेमा आफु विश्वस्त रहेको उनले बताए ।  प्रदेशका अन्य जिल्लाहरुमा पनि पौडेल समूहको उपस्थिति राम्रो रहेकोले आफूलाई चुनाव जित्न सहज हुने उनले बताए ।

यी नेताको आडमा केसी चुनावी मैदानमा
सभापतिका उम्मेदवार केसीले नेता रामचन्द्र पौडेलसहित दलका शक्तिशाली नेताहरु आफ्नो पक्षमा रहेकोले आफू चुनाव जित्ने बताए । उनका अनुसार नेता पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, अर्जुन नरसिंह केसी, रामशरण महत, गगन थापा जस्ता काँग्रेसका शक्तिशाली नेताहरुले आफूलाई समर्थन दिएका छन् ।

‘रामचन्द्र पौडेलको टिम शक्तिशाली छ । केहीले भ्रम छर्न खोजेका छन्, मलाई फलानो नेताको समर्थन छ भनेर । यसमा कसैले भ्रम नपाले हुन्छ सबै नेताको हामीलाई साथ छ । हामी भोलि ११ बजेभित्र पदाधिकारी र सबै सदस्यहरुको नोमिनेशन फाइल गछौं । हामीसँग सशक्त बल छ । सबै जिल्लाका मतदाता यो समूहमा आकर्षित छन्’ उनले भने ।

उनले आफूहरुसँग विचार, आदर्श र निष्ठासहित पार्टीलाई जोगाउने क्षमता रहेकाले अरुबाट पार्टी नबच्ने दावी गरे । ‘प्रदेश अधिवेशनको उद्घाटनले नै देखाइसकेको छ । अरुबाट पार्टीलाई जोगाउने क्षमता छैन । निष्ठा र आदर्शलाई तोड्दै जाने हो भने काँग्रेस समाप्त हुन्छ । हामीले काँग्रेसलाई बचाउनु छ काँग्रेसलाई सुदृढ गर्नुछ । सुसंगठित र शुद्धीकरण गर्नुछ । जसका लागि पौडेल समूह बाध्य भएर चुनावमा उपस्थित भएको छ’ केसीले भने । केसीले आफ्नो टिमका उपसभापति र सहमहामन्त्री घोषणा गरेका छन् ।

उनी नेतृत्वमा उपसभापतिमा मोहनबहादुर बस्नेत, राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा माइकल रामचन्द्र अर्याल, कंचन बादे रहेका छन । उक्त टिमको सह–महामन्त्री पदका उम्मेदवारको भने टुङ्गो लागेको छैन । तर अन्तिम चरणमा रहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप