मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको एकल सरकार आवश्यक : उपसभापति निधि

बिहीबार, १६ मङ्सिर २०७८, १९ : २१
बिहीबार, १६ मङ्सिर २०७८

सत्तारुढ नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेसको एकल सरकार आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुरधाममा आयोजित काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै निधिले मुलुकलाई सफल रुपमा सञ्चालन गर्न काँग्रेसको एकल सरकार अपरिहार्य रहेको बताएका हुन् ।

संविधानको सफल कार्यान्वयनका लागि काँग्रेस ड्राइभिङ सिटमा आउन आवश्यक रहेको उनले बताए । काँग्रेसले बहुमतको सरकार बनाउन एक्लै वडादेखि प्रदेश तथा संघसम्म चुनाव लड्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अहिलेदेखि नै तयारी गरे नेपाली काँग्रेस केन्द्रमा र प्रदेश २ मा समेत एक्लै सरकार बनाउन सक्छ ।’

सबै जात, धर्म, मधेसी, आदिवासी, जनजाति लगायतका वर्गको समान प्रतिनिधित्व गराउन नेपाली काँग्रेसले सरकारको नेतृत्व पाउनु पर्ने उनले बताए ।

नेपाली काँग्रेसको महाधिवेशनलाई आगामी निर्वाचनसँग जोडेर हेर्नका लागि समेत उनले कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने, ‘अहिलेदेखि नै तयारी सुरु गर्नुस्, कम्युनिष्टहरु वा तथाकथित मधेसवादी दलहरुले संविधानको सफल कार्यान्वयन गराउन सक्दैनन्, काँग्रेसले मात्रै गर्न सक्छ ।’

मधेसी जनताको अधिकार सुनिश्चित गराउन संविधान संशोधनका लागि काँग्रेस तयार रहेको पनि उनले बताए ।

प्रदेश सभापतिका लागि यी हुन् आकांक्षी

काँग्रेसमा पहिलो पटक प्रदेश समिति बन्न लागेको हो । मुलुक संघीयतामा गएको ६ वर्ष पुगिसक्दा पनि काँग्रेसले प्रदेश संरचना भने बनाएको थिएन ।

१४ औं महाधिवेशन अघि काँग्रेसले प्रदेश अधिवेशन गर्न लागेको छ । अधिवेशनले सातवटै प्रदेशमा प्रदेश समिति चयन गर्नेछ ।

प्रदेश २ मा पार्टी नेतृत्वका लागि काँग्रेसभित्र संस्थापन र इतर समूहले छुट्टाछुट्टै प्यानल बनाएका छन् । प्रदेश २ को सभापतिमा रामसरोज यादव, सप्तरी जिल्ला सभापति दिनेश यादव, महोत्तरी जिल्ला सभापति महेन्द्रकुमार यादव र रौतहटका सभापति कृष्ण यादवसहित ४ जना आकांक्षी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप