बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

‘हनी ट्रयाप’का आरोपीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

बिहीबार, १६ मङ्सिर २०७८, १६ : ३८
बिहीबार, १६ मङ्सिर २०७८

‘हनी ट्रयाप’को आरोपमा पक्राउ परेकी महिलालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुङ्गा माइती भएकी देवी थापालाई तीन लाख पचास हजार धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । 

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले थापासँग तीन लाख पचास हजार धरौटी राखी तारेखमा छाड्ने आदेश दिएको हो । थापाविरुद्ध दुईजना पीडितले प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि थापा पक्राउ परेकी थिइन् । प्रहरीले गत कात्तिक ९ गते थापालाई नक्सालबाट पक्राउ गरेको थियो । 

हनी ट्रयापमा पारी विभिन्न पुरुषसँग आर्थिक लाभ लिएकोबारे रातोपाटीले यसअघि नै समाचार प्रकाशन गरेको थियो । थापाले सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवकसँग १३ लाख, ओखलढुङ्गाकै एक युवकसँग २ लाख २१ हजार रुपैयाँ लिएको र फिर्ता गर्न आग्रह गर्दा जवरजस्ती करणीको उजुरी दिने धम्की दिएको पीडितको भनाइ छ । सहकारीमा काम गर्ने युवकसँग १३ लाख रुपैयाँ लिएर पनि जवरजस्ती करणीको मुद्दा हालेकी थिइन् । उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा अझै विचाराधीन अवस्थामै रहेको छ ।  

पीडित दुई युवकले दिएको जाहेरीमा एक जनासँग २२ लाख र एक जनासँग १७ लाख रुपैयाँ लिएको उल्लेख छ । यद्यपि अदालतले भने तीन लाख पचास हजार धरौटी माग गरी धरौटी बुझाएमा थुनामुक्त गरिदिन आदेश गरेको हो । थापाविरुद्ध एक व्यक्तिले बैंकिङ कसुरमा समेत मुद्दा दायर गरेका थिए । थापाको उक्त मुद्दासमेत विचाराधीन अवस्थामै रहेको छ । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार थापासँग ३ लाख ५० हजार धरौटी मागिएपनि उनले धरौटी नबुझाएको कारण कारागारमै पठाइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप