शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम काँग्रेस प्रदेश सभापति : लेखकले राखे बलायरको नाममा सर्वसम्मतको प्रस्ताव

बिहीबार, १६ मङ्सिर २०७८, १४ : २७
बिहीबार, १६ मङ्सिर २०७८

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा सर्वसम्मतका लागि केन्द्रीय सदस्य वीरबहादुर बलायरको नाम अगाडि सारिएको छ । पार्टीको केन्द्रीय कार्यसमिति बाहिरमा नेताको नाममा सहमति हुृन नसकेपछि प्रदेश सभापतिमा बलायरको नाम अगाडि सारिएको हो ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा  सुदूरपश्चिममा सभापतिको उम्मेदवारका लागि कैलालीका सभापति नरनारायण शाह (मनु), पूर्वराज्यमन्त्री गोविन्द शाह, पूर्वराज्यमन्त्री अर्जुनजंग सिंह, पुष्प शाही र प्रदेशसभा सदस्य गोविन्द बोहोराको दाबी छ ।

उनीहरुबाट देउवा समूहलाई प्रदेश सभापतिको उम्मेदवारी छान्न सकस परेको छ । उनीहरुमध्ये एकले अर्कालाई छोड्ने परिस्थिति नबनेपछि नेता रमेश लेखकले बलायरको नाम अगाडि सारेका छन् । उनले भने, ‘ अहिलेसम्म साझा उम्मेदवार बनाउन सकिएको छैन । सर्वसम्मतिका लागि मैले वीरबहादुर बलायरजीको नाम विकल्पका रुपमा अगाडि सारेको छु ।’ 

बलायरलाई सर्वसम्मत बनाउने विषयमा पनि अहिलेसम्म सहमति भइनसकेको लेखकले रातोपाटीलाई जानकारी दिए । यता वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भरत खड्कालाई अघि सार्ने खोजेको छ । तर देउवा समूहमा दुई उम्मेदवार भए एउटा उम्मेदवारसँग मिलेर पदाधिकारीमा उम्मेदवारी दिने पौडेल पक्षको रणनीति छ । त्यसका लागि पौडेल पक्षले कैलालीका सभापति नरनारायण शाह (मनु)सँग छलफल गरिरहेको छ ।

आज कैलालीको धनगढीमा प्रदेश अधिवेशन उद्घाटनसत्र चलिरहेको छ । त्यसको संयोजन कानुनमन्त्री तथा ​काँग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले  गरिरहेका छन् ।

१६  प्रतिनिधि सभा र ३२ प्रदेश सभा क्षेत्रबाट निर्वाचित ९७५ महाधिवेशन प्रतिनिधि छन् । सुदूरपश्चिम प्रदेशमा पदाधिकारीसहित ५९  सदस्यीय कार्यसमिति चयन गर्नेछ । उनीहरुले प्रदेश अधिवेशन प्रतिनिधिले सुदूरपश्चिम  प्रदेश काँग्रेसको नयाँ नेतृत्व चयन गर्ने छन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप