शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : गण्डकीमा पौडेल पक्षलाई सभापतिको उम्मेदवार तोक्न सकस

बिहीबार, १६ मङ्सिर २०७८, १४ : २४
बिहीबार, १६ मङ्सिर २०७८

 नेपाली काँग्रेसको प्रदेश अधिवेशन अन्तर्गत गण्डकीमा संस्थापन पक्षले उम्मेदवार छनौट गरिसक्दा समेत रामचन्द्र पौडेल लगायत संस्थापन इतर पक्षले आफ्नो उम्मेदवार तय गर्न सकेको छैन । प्रदेश सभापतिका लागि मनोनयन दर्ता गर्ने दिनसम्म पनि संस्थापन इतर पक्षबाट ५ जनाले सभापतिका लागि दाबी गरेका छन् ।

प्रदेश सभापति पदका लागि उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुको लगातार बैठक चले पनि उम्मेदवार छान्न सकेका छैनन् । धेरै आकांक्षी भएपछि साझा उम्मेदवार तय गर्न इतर समूहलाई सकस परेको छ ।

संस्थापन समूहबाट पर्वतका अर्जुनप्रसाद जोशीले सभापति पदमा उम्मेदवारी दिने भएका छन् । पौडेल पक्षबाट भने कास्कीका नेतात्रय शुक्रराज शर्मा, देवराज चालिसे र यज्ञबहादुर थापा, तनहुँका रघुनाथ पौडेल र नवलपुरका महेन्द्रध्वज जिसी सभापतिका आकांक्षी छन् ।

आकांक्षीलाई सहमति गराउन र व्यवस्थापन गराउन नेता पौडेल र महामन्त्री कोइराला बुधबार पोखरा आएर नियमित छलफलमा जुटे पनि अहिलेसम्म टुङ्गो लाग्न नसकेको हो । बिहीबार पनि उनीहरु उम्मेदवार चयन गर्ने सन्दर्भमा छलफलमै छन् ।

निर्वाचन तालिका अनुसार मंसिर १७ मा उम्मेदवारी दर्ता र १९ गते निर्वाचनको कार्यक्रम छ । प्रदेश सभापति लगायत कार्यसमितिका लागि गण्डकीमा ११ सय बढी प्रतिनिधिले मतदान गर्नेछन् ।

प्रदेश कार्यसमिति चुन्न पालिका तहका सभापतिदेखि प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउनेछन् । गण्डकीका अधिकांश जिल्ला सभापति देउवा पक्षले जिते पनि पालिका सभापति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिमा झिनो मतले पौडेल पक्ष अगाडि रहेको आंकलन छ ।

देउवा पक्षका सभापति उम्मेदवार जोशीले मंगलबार पोखरामा बृहत् कार्यकर्ता भेलामार्फत् उम्मेदवारी घोषणा गरिसकेका छन् । जोशीको प्यानलबाट प्रदेश उपसभापतिमा मेषलाल श्रेष्ठ र म्याग्दीका नेत्र महत, महामन्त्रीमा कुमार खड्काले दाबी गरिरहेका छन् । सहमहामन्त्रीमा गोरखाका राजन पन्त र तनहुँका झुलबहादुर रानाको नाम चर्चामा छ ।

पौडेल पक्षबाट उपसभापतिमा किरणबाबु श्रेष्ठ, हरिकुमार श्रेष्ठ आकांक्षी देखिएका छन् । महामन्त्रीमा कास्कीका कृष्ण केसी र नवलपुरका विष्णु लामिछानेले दाबी गरिरहेका छन् । सहमहामन्त्रीमा तनहुँकी सरिता गुरुङ र कल्पना तिवारी आकांक्षी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप