नीतिकथा : कमिलाको बुद्धि
धेरै पहिलेको कुरा हो । गर्मीको मौसम थियो । घामको प्रचण्ड तापका कारण त्यस्तै नपरी कोही पनि बाहिर निस्कँदैनथे । निस्कनै परे पनि पूर्ण बन्दोबस्तीका साथ धूपबाट बच्ने उपाय गरेर निस्कन्थे तर एउटा कमिलो भने धूपको कुनै परवाह नगरी अन्नको दाना खोजेर गुँडमा जम्मा गरिरहेको थियो । ऊ न धूपको वास्ता गथ्र्यो न थकाइकै परवाह गथ्र्यो । कमिलाको जातै परिश्रमी । कुनै परिश्रमी जीवको उदाहरण दिनुप¥यो भने कमिलाको जस्तो भन्ने प्रचलन नै छ । ऊ यसको राम्रै उदाहरण थियो ।
कमिलाको गुण नजिकै एउटा हुटिट्याउँको गुण थियो । ऊ जति अल्छी थियो त्यति नै मुडी पनि । उसलाई न भविष्यको चिन्ता थियो न जीवनप्रतिको जिम्मेवार । ऊ आफू पनि श्रम गर्दैनथ्यो, अरूले गरेको पनि मन पराउँदैनथ्यो । त्यसमाथि आफ्नै छिमेकी सानो प्राणीले कठोर श्रम गरेको मन पर्ने कुरै भएन । त्यसैले एक दिन उसले काममा व्यस्थ कमिलालाई भड्काउने प्रयास गर्दै भन्यो–
‘छिमेकी भाइ ! किन यति बढी दुःख गर्छौ ? गर्मीका मारे कोही पनि बाहिर निस्कन सकेका छैनन् । तिमीलाई मात्र के बितेको छ र यति दुःख गरिरहेका छौ ? आऊ शीतलमा बसौँ । खेलौँ, गाऔँ, हाँसौँ, नाचौँ । जीवनको के भर छ र आज छ, भोलि छैन । मरेको भोलिपल्ट दुई दिन भन्छन् । आखिर जीवन भनेकै नाच्न, खेल्न, हँसीमजाककै लागि त हो ।’
‘कहाँ त्यसो भनेर हुन्छ दाइ ! समय आउँछ पर्खदैन भन्छन् । समय छँदै नगरे कहिले गर्ने ?’ कमिलाले हुट्टिट्याउँको कुरालाई वास्ता नगरेजस्तो गर्दै भन्यो–
‘बरु मेरो भनाइ लाग्छ भने समय छँदै तपाईँ पनि कुनै काममा लाग्नुस् । बुढापाकाहरू आजको काम भोलि भन्न हुँदैन भन्छन् । भोलिको काम आजै र आजको काम अहिले नै गर्नुपर्छ भन्ने थाहा छैन ? के थाहा भोलि कसले देखेको छ र, के हुन्छ, हुन्छ ।’
‘धत् लाटा ! भोलिको चिन्ता पनि कसैले गर्छन् ?’ थप भड्काउने प्रयास गर्दै हुटिट्याउँले भन्यो–
‘भोलि भनेको भोलि, जस्तो पर्छ त्यस्तै टर्छ । आजैदेखि चिन्ता गरेर पनि कोही बस्छन् ? को हौँ हामी कि भोलिको ठेक्का लिने ? बुढापाकाकै कुरा गर्ने हो भने पनि उनीहरूले नै आफ्नो भनेको वर्तमान मात्र हो भन्ने गरेका पनि त छन् । हिजो गइसक्यो, भोलि आएकै छैन, त्यस्ताको चिन्ता गर्नु भनेको मूर्खता बाहेक केही होइन । बुद्धिमानी यसैमा छ कि साथमा जे छ त्यसैमा रमाउनु । त्यसैले आऊ शितलमा बसेर हासौँ, नाचौँ, साथमा भएको समयको सदुपयोग गरौँ ।’
‘जे भन्नुस् म मान्दिनँ ।’
‘किन र ?’
‘किनकि समय सँधै यस्तै हुन्छ भन्ने छैन ।’
‘हुँदैन भन्ने पनि त छैन नि ?’
‘त्यो एउटा पाटो हो ।’
‘समग्र पाटो के हो त ?’
‘समग्र पाटो यही हो कि साथमा भएको वर्तमानलाई सदुपयोग गरी भविष्यको जग निर्माण गर्नु ।’ कमिलाले थप सम्झाउने प्रयास गर्दै भन्यो–
‘तपाईँ मभन्दा ठूलो हुनुहुन्छ, उमेरमा पनि, शरीरमा पनि, हुन सक्छ बुद्धिमा पनि । एकाध भोटो बढी फटाउनु भएकाले जीवन बुझ्नुभएको छैन भन्न सक्दिन तर बुझ्न नखोज्नुभएको जस्तो चाहिँ पक्कै लाग्यो । हो, आजलाई पुगेकै छ । जसरी पनि चल्छ, चल्ला नै तर समय सँधै यस्तै पक्कै रहने छैन । चाँडै नै वर्षातको मौसम आउँदै छ । त्यसपछि चिसो मौसम सुरू हुन्छ । अहिले जम्मा नगरे भोलि के खाने ? वर्षातको मौसममा पानी पर्छ, बाहिर निस्कन सकिन्न । निस्के पनि खाने चीज पाउन गाह्रो पर्छ । हिउँदको के कुरा गर्ने बाहिरफेर निस्कनु भनेकै काललाई निम्त्याउनुजस्तो हो । त्यसैले भोलिका लागि जम्मा पार्ने भनेको अहिले नै हो । आज रोपे पो भोलि पाइन्छ । रोप्ने बेला अल्छी गरे खाने बेला कहाँ पाइन्छ ? फेरि पनि भन्छु सक्नुहुन्छ भने तपाईँ पनि जोगाडतिर लाग्नुहोला । अन्यथा पश्चाताप गर्ने समय पनि बाँकी नरहन सक्छ ।’
कमिला सानो भए पनि बुद्धिमान थियो, बुद्धिमानी कुरा गरेको थियो तर हुट्टिट्याउँले सुन्नै चाहेन । कमिला आफ्नो काममा लागिरह्यो । हुट्टिट्याउँ आफ्नै मस्तीमा ।
समय बित्दै गयो । हुटिट्याउँले कमिलालाई भड्काउन खोजी रह्यो । जहिले पनि भेट हुनासाथ आऊ खेलौँ, मस्ती गरौँ भन्थ्यो तर कमिलाको ध्यान भने हमेशा काममै हुन्थ्यो । बिस्तारै वर्षात् सुरु भयो । हेर्दाहेर्दै हिउँद पनि लाग्यो । चिसो बढेर बाहिर निस्कनै नसक्ने अवस्था सिर्जना भयो ।
समयमा जोहो गरेकाले कमिलालाई समय बिताउन गाह्रो परेन । गुँणभित्रै बसेर खान्थ्यो, रमाउँथ्यो तर अल्छी हुट्टिट्याउँलाई भने साह्रै आपद प¥यो । भोकले छट्पटिन थाल्यो । साथमा एक दाना खाने चीज थिएन । खोज्नु जाउँ हिउँले ढाकेर बाहिरको अवस्था साह्रैै नजुग थियो । कमिलालाई हेथ्र्यो खाइपी गरी मस्तसँग सुतिरहेको, आफूलाई हेथ्र्यो औडाहा र छटपटी बाहेक केही पाउँदैनथ्योे । बल्ल उसलाई गल्तीबोध भयो, पश्चाताप पनि ग¥यो तर यतिबेलासम्म धेरै अबेर भइसकेको थियो । अन्ततः ऊ यसैका कारण बसेकै स्थानमा जीवन त्याग्न बाध्य भयो ।