बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

आयातित खानेतेलले धानेको नेपालको निर्यात

बिहीबार, १६ मङ्सिर २०७८, ११ : २२
बिहीबार, १६ मङ्सिर २०७८

चालू आर्थिक वर्ष २०७८/७९ को चार महिनामा नेपालले ८२ अर्ब १२ करोड रुपैयाँको निर्यात व्यापार गरेको छ । यो अघिल्लो वर्षको सोही अवधि (साउन–कात्तिक) को तुलनामा १०४ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको यही अवधिमा नेपालले जम्मा ४० अर्ब रुपैयाँको निर्यात गरेको भन्सार विभागले जानकारी दिएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क सरसर्ती हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष उल्लेख्य रुपमा निर्यात व्यापार बढेको देखिन्छ । तर, नेपालको निर्यातको झण्डै ६० प्रतिशत हिस्सा आयातित तेलको छ । यस अवधिमा नेपालबाट कूल ८२ अर्ब रुपैयाँको निर्यात भएकामा ४५ अर्ब ४३ करोड रुपैयाँको खानेतेल मात्रै निकासी भएको छ ।

नेपालको मुख्य निर्यात

यो अवधिमा २६ अर्ब ४० करोडको भटमास तेल, १९ अर्बको प्रशोधित पाम तेल र २ अर्ब ३ करोड रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ । यसरी, निर्यात हुने अर्बौँको खानेतेलको उत्पादन भने नेपालमा हुँदैन । विभिन्न विदेशी मुलुकबाट कच्चा तेल आयात गरेर प्रशोधन गरेपछि भारततर्फ निर्यात हुँदै आएको छ ।

४ महिनामा खानेतेल निर्यात

कुन–कुन देशबाट आउँछ खानेतेल ?

नेपालबाट भएको कूल निर्यातको ६० प्रतिशत हिस्सा ओगट्दै आएको खानेतेलको उत्पादन नेपालमा हुँदैन । नेपाली उद्योगी/व्यवसायीले संसारका विभिन्न देशबाट खानेतेलको कच्चा पदार्थ ल्याएर त्यसलाई प्रशोधन गर्छन् र भारत पठाउँछन् ।

विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चार महिनामा नेपालले विदेशबाट २७ अर्ब २२ करोड रुपैयाँको भटमास तेलको कच्चा पदार्थ आयात गरेको छ । यस्तै, यो अवधिमा १९ अर्ब ५४ करोड रुपैयाँको पाम तेल (कच्चा/प्रशोधित) भित्रिएको छ भने ७ अर्ब ४८ करोडको सूर्यमुखी (कच्चा/प्रशोधित) तेल भित्रिएको छ ।

नेपालले अर्जेन्टिनाबाट सबैभन्दा धेरै कच्चा भटमासको तेल आयात गरेको छ । यो अवधिमा अर्जेन्टिनाबाट १८ अर्ब रुपैयाँको भटमास तेल भित्रिएको छ । यस्तै, ब्राजिलबाट ४ अर्ब १३ करोडको, पाराग्वेबाट ३ अर्ब ७६ करोडको, युक्रेनबाट ४९ करोडको र इजिप्टबाट ६ करोड ५० लाखको कच्चा भटमास तेल भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, इण्डोनेसियाबाट १५ अर्ब ७४ करोड, मलेसिया ३ अर्ब ३४ करोड र फिलिपिन्सबाट ७ करोडको कच्चा पाम तेल भित्रिएको छ । यसका साथै, युक्रेनबाट ५ अर्ब ५ करोडको, रसियाबाट १ अर्ब ९५ करोडको र अर्जेन्टिनाबाट २६ करोडको भटमास तेल भित्रिएको विभागले जानकारी दिएको छ ।

कुन तेल कतिको आयात ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप