शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ मा ३०१ एचआइभी-एड्स संक्रमितहरु सम्पर्कविहीन

बुधबार, १५ मङ्सिर २०७८, २१ : ५०
बुधबार, १५ मङ्सिर २०७८

प्रदेश २ मा ३०१ जना एचआईभी-एड्स संक्रमितहरु सरोकारवालाको सम्पर्कमा नरहेको जनाइएको छ । हाल ४ हजार ३८० संक्रमितमध्ये ३०१ जना सम्पर्कविहीन रहेका कारण उनीहरु उपचार सेवाबाट वञ्चित रहेको प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

सेभ द चिल्ड्रेनका सिनियर प्रोग्राम कोअर्डिनेटर चन्द्रनारायण साहले गत असार मसान्तसम्मको तथ्यांकअनुसार प्रदेशमा कुल संक्रमितमध्ये २ हजार ९९८ जना नियमित उपचारमा रहेको जानकारी दिए । एक हजार ३८२ जना भने उपचारबाट वञ्चित मिसिङ्ग लिस्टमा रहेको उनको भनाइ छ ।

उपचारबाट वञ्चित मिसिङ्ग लिस्टमा रहेका एक हजार ३८२ जना मध्ये ६ सय ७२ जनाले अन्य प्रदेशमा औषधि लिइरहेको र ३९७ जनाको मृत्यु भइसकेको उनको भनाइ छ । ३०१ जना भने सम्पर्कविहीन रहेको उनले बताए ।

उनका अनुसार सम्पर्कविहीनमध्ये २३ जनाको अवस्था पूर्ण रुपमा अज्ञात छ भने २७८ जना उपचारका लागि नाम दर्ता गराएपछि सम्पर्कमा आएका छैनन् । प्रदेशमा कुल संक्रमितमध्ये १७५ जना बालबालिका रहेको पनि उनले जनाए ।

साहले पछिल्लो समय चेकजाँचको दायरा बढदै गएपछि संक्रमितहरुको संख्या तीव्र रुपमा बढ्दै गएको बताए । उनका अनुसार विगत तीन वर्षमा संक्रमितको संख्या दोब्बरभन्दा बढी वृद्धि भएको छ ।

साहले प्रस्तुत गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा कुल ५ हजार ६९० चेकजाँचमा २२६ पोजेटिभ केश भेटिएका थिए भने ०७६/७७ मा १४ हजार ६०२ चेकजाँचमा ४०० र आर्थिक वर्ष ०७७/०७८ मा २५ हजार ९७८ चेकजाँचमा ४ सय ७५ जना संक्रमित फेला परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप