शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबी बैंकलाई ‘बैंक अफ दि इयर एसिया २०२१’ र ‘बैंक अफ दि इयर २०२१’ अवार्ड

बुधबार, १५ मङ्सिर २०७८, २१ : ३२
बुधबार, १५ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतप्राप्त एनएमबी बैंकले बेलायतको लण्डनबाट प्रकाशित हुने म्यागाजिन बैंकर को ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड जितेको छ । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता एसियाकै कडा प्रतिस्पर्धीहरूलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो ।

एनएमबी बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक हो । यो सँगै एनएमबीले ‘द बैंक अफ द इयर २०२१’ को अवार्ड पनि जितेको छ । एनएमबीको यो ५ वर्षमा चौथो अवार्ड हो । बैंकका अध्यक्ष सुनील केसीले प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट अवार्ड ग्रहण गरे । उपाधिका लागि बैंकलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबी बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताए ।

सन् २००० मा स्थापित ‘बैंक अफ द इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्यपूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेशभरकै सर्वोत्कृष्ट बैंकहरूलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ ।

बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरू, दिगो विकासका लागि गरिएका गतिविधिहरू र प्रतिकुल परिस्थितिको सामना गर्ने क्षमताजस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिन्छ । 

दिगो बैंकिङको लागि बैंकले गरेको पहल, डिजिटल रूपान्तरण र उच्च संस्थागत कार्यशैलीप्रति बैंकको प्रतिवद्धताजस्ता मानकहरूले एनएमबीले यो अवार्ड जितेको हो । दिगो संगठनात्मक संरचनामा आफ्नो पहिचान बनाएको बैंकलाई यसैकारण प्रतिष्ठित पुरस्कारको लागि योग्य विजेता बनाएको हो ।

बैँकको विकास प्रक्षेपणमा पनि उल्लेखनीय वृद्धि भएको छ, जुन बैँकको लगातार वृद्धि भइरहेको ब्यालेन्स सिटले पुष्टि गर्छ । परम्परागत बैँकिङभन्दा एक कदम अगाडि बढेर बैंकले डिजिटल रुपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै नेपाली बैंकिङ उद्योगमै पहिलोपल्ट स्थानीय ऋण–पत्रजारी गर्ने, विदेशी ऋण सम्झौता जारी गर्ने, बैंकिङ कारोबारको लागि ओम्नी च्यानलको प्रयोग गर्ने, भिडियो कलमार्फत केवाईसी अपडेट गर्ने सुविधा ल्याउने र ‘एनएमबी सापटी’ मार्फत २४ घण्टाभित्रै कागजी झन्झट बिना सापटी कर्जा प्रवाह गर्नेजस्ता नवीनतम सेवाहरू प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । 

एनएमबी बैंक पार्टनरशीप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्सको समिति सदस्य  र ग्लोबल अलायन्स फर बैंकिङ अन भ्याल्युज सदस्य पनि हो । बैंकको देशभरी २०१ शाखाहरू छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप