पौडेल समूहबाट बागमती प्रदेश सभापतिको उम्मेदवार केसी, महामन्त्रीमा बादे र माइकल
नेपाली काँग्रेस बागमती प्रदेश सभापतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जगदीश्वरनरसिंह केसीको नाम अगाडि सारेको छ । नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले सभापति र महामन्त्रीका उम्मेदवारको छनोट गरेको हो । नेता अर्जुननरसिंह केसीका अनुसार पौडेल समूहले काभ्रेका कन्चनचन्द्र बादे र मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल (माइकल)लाई महामन्त्री क उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सोमबारबाट पौडेल समूहबाट प्रदेश सभापति छनोटका लागि छलफल गरेको थियो । पौडेल समूहबाट बागमती प्रदेश सभापतिको उम्मेदवारमा जगदीश्वरनरसिंह केसी, मधु आचार्य, रमेश धमाला, राजुराज जोशी र रामकृष्ण घिमिरेको दाबी थियो । तर केसीले बाजी मारेका छन् ।
यता सभापति शेरबहादुर देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । यस्तै कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौँ जिल्लाका पूर्वसभापति तथा पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । बागमती प्रदेश अधिवेशनमा मंसिर १७ गते मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका छ ।