बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्टार्टअप इकोसिस्टम बनाउन राज्य–निजी क्षेत्रबीच सहकार्य आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल

बुधबार, १५ मङ्सिर २०७८, २१ : ०५
बुधबार, १५ मङ्सिर २०७८

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एशियामा स्टार्टअप इकोसिस्टमलाई बढावा दिन राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी भएको बताएका छन् । अन्तरराष्ट्रिय श्रम संगठनद्वारा राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कमजोर इकोसिस्टमका कारण दक्षिण एशियामा स्टार्टअप व्यवसायले धेरै समस्या झेल्नुपरेको बताउँदै सहजीकरणका गर्न राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी रहेको उल्लेख गरेका हुन् । 

ढकालले दक्षिण एशियामा ठूलो बजारका कारण स्टार्टअप व्यवसाय वृद्धिको अपार सम्भावना रहेको र यस क्षेत्रमा स्टार्टअपहरूलाई अनुकूल वातावरण समेत रहेको बताए । ‘विशेषगरी युवा व्यवसायी जोसँग अहिलेको प्रविधि र व्यवसाय गर्ने नयाँ नयाँ तरिकाको बारेमा राम्रो ज्ञान छ, त्यस्ता नवप्रवर्तन व्यवसायी र स्टार्टअप व्यवसायहरूको सम्भावना यस क्षेत्रमा निकै बढ्दो छ ,’ उनले भने ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले यस्ता नवप्रवर्तन व्यवसायीहरू र स्टार्टअपलाई सहजीकरण र सहयोग गरेका बताउँदै उनले विशेषगरी महिला र युवाहरूलाई महासंघले सहयोग गरेको बताए । ‘महासंघले आईहब र स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत महिला तथा युवा व्यवसायीहरूलाई विशेष सहयोग तथा सहजीकरण गर्ने गरेको छ,’ ढकालले भने, ‘आईहबमा हामीले व्यवसायमा लाग्न चाहने युवाहरूलाई सूचनामा पहुँच दिइ उनीहरूलाई व्यवसाय, बजार तथा सूचना प्रविधिबारे सिक्ने अवसर प्रदान गर्ने गरेका छौं ।’

स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत नेपाल सरकारसँगको सहकार्यमा स्टार्टअप नीति बनाउने काम भइरहेको पनि उनले बताए । महासंघले स्टार्टअप तथा नवप्रवर्तन व्यवसायीहरूलाई सहयोग तथा सहजीकरणका लागि सात वटै प्रदेशमा नेपाल सरकारसँगको सहकार्यमा इन्क्यूबेटर सेन्टरहरू स्थापना गर्न गइरहेको समेत ढकालले जानकारी गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप