शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं विश्वविद्यालयमा तयार हुँदैछ हाइड्रोजनबाट चल्ने कार

बुधबार, १५ मङ्सिर २०७८, २० : ५९
बुधबार, १५ मङ्सिर २०७८

काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयू) र नेपाल आयल निगमको सहकार्यमा नेपालमै हाइड्रोजनबाट चल्ने कार निर्माण हुन थालेको छ । पेट्रोलबाट चल्ने मारूती कारलाई विश्वविद्यालयका विद्यार्थीले हाललाई विद्युत र भविष्यमा हाइड्रोजनबाट चलाउन मिल्ने गरेर बनाउन लागेका छन् ।

मारुती कार रूपान्तरणको काममा काठमाडौं विश्वविद्यालयका मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत १६ जना विद्यार्थी सक्रिय भएर लागेका छन् । यो अभियानको संयोजन विश्वविद्यालयकै विद्यार्थी इन्जिनियर विश्वास न्यौपानेले गरेका छन् भने यस अभियानमा अभिषेक मिश्र, तेजराज थारू, नविन मिश्र, विराज खरेल लगायत छन् ।

‘विद्यार्थीहरुले चार समूह बनाएर पेट्रोल गाडीलाई ब्याट्रीबाट चल्ने बनाउँदै छन्,’ प्राध्यापक डा.विराजसिंह थापाले भने ।

यसरी परिमार्जन हुँदैछ मारुती–८०० कार

काठमाडौं विश्वविद्यालयले २५ वर्ष पुरानो पेट्रोल कारलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दैछ । उक्त गाडी संस्थापक उपकुलपति प्रा.डा.सुरेशराज शर्माले चढ्ने गरेको थिए । रुपान्तरित सो कार यसै साता परीक्षण गरिने विश्वविद्यालयले जानकारी दिएको छ ।

पेट्रोलबाट चल्ने मारूती ८०० कारलाई विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङमा अध्ययन गर्ने विद्यार्थीले बिजुलीबाट चल्ने कारका रूपमा रूपान्तरण गरेका हुन् । करिब ४ महिनापछि भने हाइड्रोजनबाट चलाउने उनीहरुको तयारी छ । यो योजना सफल भएमा सो गाडी नेपालमै पहिलो हाइड्रोजन इन्धनयुक्त गाडी हुनेछ ।

प्राध्यापक डा.थापाका अनुसार पेट्रोलबाट चल्ने सो कारलाई विद्युतीयमा रूपान्तरण गर्न करिब पाँच लाख रूपैयाँ खर्च भएको छ । विश्वविद्यालयले सोही कारलाई अबको चार महिनाभित्र हाइड्रोजनबाट चल्ने कारको रूपमा परिवर्तन गर्ने योजना बनाएको छ ।

यसका लागि अहिले कार्ययोजनासहित अन्य सबै काम सकेर आवश्यक सामान आयातको टेण्डर गरिएको थापाले बताए । सामान आएको दुई साताभित्रै सो कारलाई हाइड्रोजनबाट चल्ने बनाएर परीक्षण गरिने उनको भनाइ छ ।

नयाँ अविष्कारमा केयूका विद्यार्थी सक्रिय, आर्थिक अभाव

तेजराज थारू, अभिषेक मिश्र, नविन मिश्र, विराज खरेल लगायतका विद्यार्थी ‘जुनकिरी’ गाडी बनाउन सक्रिय छन् । संसारका विभिन्न विश्वविद्यालयका विद्यार्थीको अविष्कारसँग प्रतिपस्र्धा गर्न उनीहरुले कम इन्धनमा लामो दुरी चल्ने ‘जुनकिरी’ गाडी बनाउन लागेका हुन् ।

अघिल्लो पटक विश्वास न्यौपानेसहितको समूहले प्रति लिटर १२० किलोमिटर दुरी तय गर्ने गरी बनाएको सवारीलाई हालका विद्यार्थीले २०० किलोमिटर गुडाउन मिल्ने गरेर बनाउँदै छन् ।

नयाँ–नयाँ खोज र अविष्कार गर्न सक्रिय विद्यार्थीहरुलाई आर्थिक सहयोगको खाँचो छ । विश्वविद्यालयले सक्दो सहयोग गरे पनि अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन भने आफूहरुलाई आर्थिक अभाव भएको उनीहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप