शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एड्स प्रभावित बालबालिका पढाउने राजकुमारको ‘पराक्रम’

पहिचानजनित विश्वकै पहिलो स्कूल
बुधबार, १५ मङ्सिर २०७८, १५ : ४२
बुधबार, १५ मङ्सिर २०७८

धेरैले बाल्यकालमा राजकुमार दिक्पाल लगायतको लोककथा सुन्नु भएको होला, जो अनौठा पराक्रम गर्छन् । र, पाठकको हृदयमा वास गर्छन् । तर हामीले सुनाउन लागेको यो कथा ती आधुनिक राजकुमारको हो, जसले दन्त्यकथाका स्वप्नलोकका राजकुमारहरुको पराक्रमलाई ‘फ्लप’ ख्वाइदिन्छ ।

कीर्तिपुर, भत्केपाटीमा छ, ‘सफलता एचआइभी शिक्षा सदन’ स्कूल । यसलाई ‘वल्र्ड बुक अफ रेकर्डस,’ लन्डनले  पहिचानसहित एचआइभी पोजिटिभ भएका बालबालिका पढाउने विश्वकै पहिलो स्कूलको प्रमाणपत्र दिएको छ । रुकमेली राजकुमार पुन यही स्कुलका संस्थापक हुन् ।  यहाँ अहिले दाङ, रोल्पा, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, बैतडी जिल्लाका २७ बालबालिका अध्ययनरत छन् । तिनीहरु युवा राजकुमार पुन र उनका अर्का सहकर्मी उमा गुरुङको व्यवस्थापनमा नयाँ जीवन बाँचिरहेका छन् ।

आफै शिक्षण पेशामा रहेका राजकुमार उपचारपछि बालबालिकाको पढाइ पहिलो प्राथमिकतामा राखे । तर समस्या उही डेरा खोज्दा भौतारिनु परेको जस्तो गरी अल्झियो । काठमाडौंका कुनाकाप्चाका बोर्डिङ, सरकारी स्कूल धाए । तर, प्रधानाध्यापक, स्कूल सञ्चालक समितिका पदाधिकारीहरुले ‘रिस्क’ लिन चाहेनन् । ‘भोलि एड्स लागेका बच्चाको परिचय खुल्यो भने तपाईंहरुका विद्यार्थीका कारण हाम्रा विद्यार्थी घट्छन् ।’ सबैले यस्तै भनेर टारे ।

दाङको त्यो समाचार

‘सफलता एचआइभी शिक्षा सदन’ स्कूल को कथाको जरा खोतल्न करिब १२ वर्ष पहिले फर्किनुपर्ने हुन्छ ।

एमए सकाएपछि ल्याबरोटरी स्कूल, कीर्तिपुरमा शिक्षक थिए राजकुमार पुन । चावहिलमा कस्मेटिक पसल खोलेर बसेकी थिइन्, उमा गुरुङ । यी दुबैको पारिवारिक चिनजान थियो । बाँच्नका लागि आआफ्नो पेशा, व्यवसाय त छँदैछ, समाजसेवामा पनि यी दुबैको रुचि थियो ।

विभिन्न पत्रपत्रिकामा ‘एचआईभी संक्रमित बालबालिकाको बिचल्ली’ भन्ने दाङको समाचार पढेपछि राजकुमार र उमालाई चैनले सुत्न दिएन । केही सहयोग सामग्री बोकेर उतै लागे । ती दुबैको साथमा थिए, रोहित गुरुङ र जेनी थापा पनि । बालबालिकालाई राहत सामग्री बाँड्ने क्रममा एक अधवैशेले भनिछन्,‘हजुरहरु काठमाडौंबाट आउनुभएको रहेछ । यो मेरो भदैलाई पनि उतै लगिदिए धन्य हुने थिएँ । यहाँ राख्दा मेरा छोराछोरीलाई पनि एड्स हुने डर भयो ।’

जाँचको लागि रगत झिक्दै राजकुमार पुन​​

काठमाडौं लान आग्रह गरिएकी किशोरीका आमा बाबु बितिसकेका थिए । उनी फूपूको आश्रयमा थिइन् । राजकुमार र उमालाई लाग्यो, आफ्नै परिवारको त यस्तो संकीर्ण सोच छ, झन छरछिमेकले हेर्ने दृष्टिकोण कस्तो पो होला ? बुझ्दै जाँदा थाहा भयो, छिमेकीहरुले भन्दा पनि रहेछन्, तिमीहरुको बाआमा बितिसके, अब तिमीहरु पनि छिट्टै मर्नेछौ । 

त्यो हृदयविदारक अवस्था हेर्न नसकेर राजकुमारको टोलीले अभिभावक नभएका एचआईभी संक्रमित एक–एकजना बालबालिकालाई ल्याउने मनशाय बनायो । जिल्ला प्रशासन कार्यालयमा जाँदा सिडियोले भनेछन्, ‘यसरी व्यक्तिगत ढंगले लान मिल्दैन । संस्था खोल्नोस् र लानोस् ।’

राजकुमार भन्छन्, ‘संस्था खोलेरै समाजसेवा गर्ने कुनै मुड रत्तिभर थिएन । तर ती निर्दोष बालबालिकाको अनुहार झल्झल्ती आइरह्यो, परिस्थितिले त्यतै डोर्यायो ।’

‘बेबी लाइफ होम’ देखि ‘सफलता एचआइभी शिक्षा सदन’ स्कूल सम्मको यात्रा कम्ति कष्टकर रहेन । खर्च जुटाउन उमाले कस्मेटिक पसल मात्रै बेच्नु परेन, राजकुमारले कीर्तिपुर, भत्केपाटीको आठ कोठे दुई तल्ले आफ्नो घर पनि बेच्नु पर्यो ।

बेबी लाइफ होमको स्थापना

एचआईभी संक्रमित बालबालिका स्याहार केन्द्र राख्ने सोचले ‘बेबी लाइफ होम’को स्थापना भयो । २४ माघ २०६७ मा यसले समाज कल्याण परिषद्बाट समेत मान्यता पायो । संस्था त जन्मियो, तर स्रोत कसरी जुटाउने ? राजकुमारले स्कूलको तलब र उमाले कस्मेटिक पसलको आम्दानी खर्च गर्ने मनसुवा बनाए । उनीहरुको टोली पुनः दाङ लाग्यो, सिडियो कार्यालयमा संस्थाको प्रमाणपत्र देखायो । लेखापढी गरेर एचआईभी संक्रमित चार बालबालिकालाई काठमाडौं लिएर आयो । अभिभावकविहीन बालबालिकाका लागि राजकुमार ‘ड्याडी’ अनि उमा ‘मम्मी’ भइन् ।

र, एउटा खोज सुरु भयो, ती बालबालिका राख्ने सेल्टरको । तर, एचआईभी संक्रमित भन्ने बित्तिकै सबै घरबेटी सात कोश परै भागे, उदारमना कोही भेटिएनन् । अन्ततः बसुन्धरास्थित आफ्नै घरमा उमाले बालबालिकालाई राखिन् । पछि राजकुमारले आफ्नो घर कीर्तिपुर, भत्केपाटीमा ल्याए ।

अनि खोलियो स्कूल

आफै शिक्षण पेशामा रहेका राजकुमार उपचारपछि बालबालिकाको पढाइ पहिलो प्राथमिकतामा राखे । तर समस्या उही डेरा खोज्दा भौतारिनु परेको जस्तो गरी अल्झियो । काठमाडौंका कुनाकाप्चाका बोर्डिङ, सरकारी स्कूल धाए । तर, प्रधानाध्यापक, स्कूल सञ्चालक समितिका पदाधिकारीहरुले ‘रिस्क’ लिन चाहेनन् । ‘भोलि एड्स लागेका बच्चाको परिचय खुल्यो भने तपाईंहरुका विद्यार्थीका कारण हाम्रा विद्यार्थी घट्छन् ।’ सबैले यस्तै भनेर टारे ।

राजकुमार विद्यार्थी भर्ना समस्यालाई लिएर जिल्ला शिक्षा कार्यालय पनि धाए । तर, कुनै उपाय निस्किएन । शिक्षामा बालबालिकाको पहिलो अधिकार नारा लगाउने राजकुमारलाई त्यसपछि आफैले विद्यालय खोल्ने जाँगर चल्यो । अनि जन्मियो, ‘सफलता एचआइभी शिक्षा सदन’ । रातोपाटीसँग राजकुमार भन्छन्, ‘जसरी संस्था खोल्नु मजबुरी थियो, त्यस्तै स्कूल खोल्नु पनि बाध्यता थियो । हामीसँग अरु उपाय थिएन ।’ पहिचानको कुरा स्वीकारेर सामान्य रुपमा पढ्दा नै सहज हुन्छ भन्ने लागेर उनले स्कूल खोलेका थिए । दुई वर्ष पहिले ‘वल्र्ड बुक अफ रेकर्डस,’ लन्डनले  विश्वमै पहिचानसहितको पहिलो स्कूल भएको प्रमाणपत्र दिंदा आफूले केही गरेको महसुस हुन्छ उनलाई ।

‘सफलता एचआइभी शिक्षा सदन’ स्कुलले सुरुमा बालविकास, त्यसपछि कक्षा ५ सम्म र पछि कक्षा ८ सम्म पढाउने अनुमति पायो । तर, कक्षा ८ पास भएका विद्यार्थीहरुलाई माविमा भर्ना गर्न जाँदा उही पहिचानको पुरानै समस्या भोग्नुपर्यो । दौडधुप गर्दा स्कूलले माध्यमिक तहको पनि अनुमति पायो । यसरी पहिलो पटक २०७६ सालमा ३ बालबालिका सफलता एचआईभी शिक्षा सदनबाटै एसइइमा सहभागी भए । तीनै जनाले ‘ए प्लस’ ग्रेड प्राप्त गरेर अहिले प्लस टु पढ्दै छन् । अहिले स्कूलमा अहिले १८ बालक र ९ बालिका गरी २७ जना छन् ।

चिकित्सकहरु शरीर कमजोर भएकालाई कोरोनाले अझ गाँज्छ भन्छन् । तर बेबी होम लाइफका एचआइभी पीडित कसैलाई कोरोना भएन । सबैले मन दह्रो बनाएका छन् । किनकी यी एचआइभी पीडित बालबालिकाले मन दह्रो बनाउन राजकुमारलाई बाबा अनि उमालाई आमाको रुपमा पाएका छन् ।

बिक्यो घर, पसल

‘बेबी लाइफ होम’ देखि ‘सफलता एचआइभी शिक्षा सदन’ स्कूल सम्मको यात्रा कम्ति कष्टकर रहेन । खर्च जुटाउन उमाले कस्मेटिक पसल मात्रै बेच्नु परेन, राजकुमारले कीर्तिपुर, भत्केपाटीको आठ कोठे दुई तल्ले आफ्नो घर पनि बेच्नु पर्यो ।

बिक्री गरेको घरको रकममा थपथाप गरेर भत्केपाटीमा १० आना जग्गा किने । घरबेटीहरुको संकीर्ण सोचले घर पाउने समस्या भएपछि राजकुमार र उमाले ऋण खोजखाज गरेर संस्थाकै नाममा घर बनाए । अहिले आफ्नै घरमा संस्था अनि स्कूल सञ्चालित छ ।

हाल उमाका श्रीमान् व्यापार गर्छन् । भएका दुबै छोरा जागिरे छन् । त्यसैले उनलाई पारिवारिक कुनै चिन्ता छैन । बरु चिन्ता छ, ‘बेबी लाइफ होम’ कै आफ्ना २७ बालबालिकाको । छोराछोरीले उमेरको खुड्किला पार गरेसँगै जसरी बा आमालाई बढी चिन्ता हुन्छ, त्यस्तै चिन्ता हुन्छ उनलाई । त्यसैले, अहिले उनी स्कूलमै बस्छिन् । उमेर पुगेका छोरीहरुलाई महिनावारी लगायतको कुरा बुझाउँछिन्, होमवर्कमा सघाउँछिन् ।

उता राजकुमारकी श्रीमती अमेरिका बस्छिन् । उनको ३ वर्षे छोरा हजुरबा हजुरआमासँग कलंकी बस्छ । उनी परिवारलाई समय दिन सक्तैनन् । अहिले उनको पूरै समय तिनै एचआइभी बालबालिकाका लागि समर्पित छ । सबै विद्यार्थीले ‘ड्याडी’ भनेर बोलाउँछन्, तिनै उनका सन्तान भएका छन् । उनी हाल प्लस टु मा साइन्स पढिरहेका एक छोरालाई डाक्टर बनाउन चाहन्छन् । भन्छन्, ‘ऋण लागोस्, तर डाक्टर बनाएरै छाड्ने सोच छ ।’ राजकुमारको सपना छ, यिनीहरु पनि घरजम गरुन्, स्कूल यिनीहरुले नै चलाऊन् । ब्यक्तिगत नभई संस्थाकै नाममा सम्पत्ति भएकाले अगुवाइ गर्न चाहने जो कोहीलाई भविष्यमा अप्ठ्यारो नपर्ने उनको बुझाइ छ ।

नियमित आयस्रोतको खोजी

स्कूलका शिक्षकलाई तलब, बालबालिकाको उपचार, खाना खर्चलगायतमा मासिक लाखौं खर्च हुने गरेको छ । नियमित आयस्रोत जुटाउन बेबी लाइफ होमले अहिले पार्टनरशिपमा ललितपुरको बुङ्मतिमा कृषि फार्म अनि सोह्रखुट्टेमा ज्याकेट उद्योग खोलेको छ । त्यसबाट हुुने आम्दानी स्कूल सञ्चालनमा लगाइएको छ ।

कहिलेकाहीँ जन्मदिन, एनिभर्सरीलगायत उपलक्ष्यमा कोही उदारमनाले दिने सहयोगले पनि भरथेग गरेको छ ।

राजकुमार निवर्तमान प्रम केपी ओलीप्रति आभारी छन् । किनकी ओली सरकारले स्कूलको नाममा १ करोडको अक्षयकोष राखीदिएको छ । यसको ब्याजले पनि धेरै सहयोग पुगेको छ । राजकुमारका अनुसार प्रम भएको बेला २०७३ सालको लक्ष्मीपूजाको दिन बालकोट निवासमा बेबी लाइफ होमका सबै बालबालिका पुगेका थिए । उनीहरूलाई ओली पत्नी राधिका शाक्यले निम्ता दिएकी थिइन् । बालबालिकाहरु रमाएर देउसी मात्रै हेरेनन्, मनीषा विक, स्वस्तिका भण्डारी, उर्मिला अर्याल, वीरबहादुर खड्का, कपिल लोहारलगायतले सामूहिक नृत्य पनि देखाए । सोनी विकले ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएर ओली दम्पत्तीलाई निःशब्द बनाइन् । सत्तामा आउने अरु शासकले पनि पीडित बालबालिकाको दुःख अवश्य बुझीदिने आशारत छन् राजकुमार ।

नो कोरोना

बालबालिकाको शिक्षा, स्वास्थ्य, उपचारमा पनि आफै खट्छन् राजकुमार । महिना महिनामा टेकु अस्पतालबाट औषधी ल्याउनुपर्ने हुन्छ । उनी आफै बालबालिकाको रगत सङ्कलन गर्छन् । स्याम्पल लिएर टेकु अस्पताल पुग्छन् । रिपोर्टअनुसारको औषधी लिएर फर्किन्छन् ।

चिकित्सकहरु शरीर कमजोर भएकालाई कोरोनाले अझ गाँज्छ भन्छन् । तर बेबी होम लाइफका एचआइभी पीडित कसैलाई कोरोना भएन । सबैले मन दह्रो बनाएका छन् । किनकी यी एचआइभी पीडित बालबालिकाले मन दह्रो बनाउन राजकुमारलाई बाबा अनि उमालाई आमाको रुपमा पाएका छन् । के यो कथा स्वप्नलोकको कुनै राजकुमार, राजकुमारीको पराक्रमभन्दा कम छ त ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णराज सर्वहारी
कृष्णराज सर्वहारी
लेखकबाट थप